PahiloPost

May 15, 2024 | २ जेठ २०८१

​नेपाली ओलम्पिक टोली आज रियो जाँदै, फुपुल्हामुले नेपालको झन्डा बोक्ने



गोविन्दराज नेपाल

​नेपाली ओलम्पिक टोली आज रियो जाँदै, फुपुल्हामुले नेपालको झन्डा बोक्ने

काठमाडौं : ३१ औं गृष्मकालीन ओलम्पिकमा भाग लिन नेपाली टोली आज ब्राजिलको रियो प्रस्थान गर्दैछ। नेपालबाट यस संस्करणको ओलम्पिकमा ५ खेलका ७ खेलाडीले सहभागिता जनाउँदैछन्। नेपाली खेलाडीहरु दुई चरणमा रियो प्रस्थान गर्नेछन्।

जसअन्तर्गत आज जुडो, पौडी र आर्चरी टोली रियो जानेछ। जुडोकी फुपुल्हामु खत्रीले ९ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन्। उनले महिला ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन्। त्यसैगरि आर्चरीका जितबहादुर मोक्तानले व्यक्तिगत रिकर्भतर्फ ७० मिटरमा प्रतिस्पर्धा गर्नेछन्।

पौडीतर्फ ७ अगष्टमा महिलाको एक सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्। लण्डनमा रहेकी गौरिका उतैबाट ब्राजिलको रियो जाने कार्यक्रम रहेको छ। पुरुष पौडी खेलाडी शिरिष गुरुङले १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पधा गर्ने छन्। उनको प्रतिस्पर्धा ९ अगष्टमा हुने छ।

एथ्लेटिक्स र तेक्वान्दोका टोली भने अगस्ट ७ मा त्यसतर्फ प्रस्थान गर्नेछ। तेक्वान्दोकी निशा रावलले २० अगस्टमा ६७ केजी भन्दा बढी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। एथलेटिक्ककी सरस्वती भट्टराईले १५ सय मिटरमा १२ अगष्टमा प्रतिस्पर्धा गर्नेछिन्। पुरुष एथलेटिक्स खेलाडी हरिकुमार रिमालले ५ हजार मिटर दौडतर्फ भाग लिनेछन्। उनको प्रतिस्पर्धा १७ अगष्टमा हुनेछ।

नेपाली टिमका सेफ दी मिसनका रुपमा रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र सुजनलाल श्रेष्ठ भने शनिबार राति नै रियोतर्फ प्रस्थान गरेका छन्।

 
नेपालको झण्डा फुपुल्हामुले बोक्ने

ब्राजिलको रियोमा ५ अगस्टबाट सुरु हुने खेलकुदको कुम्भमेलाको उद्घाटन समारोहमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी फुपुल्हामु खत्रीले नेपालको झन्डा बोक्ने भएकी छन्।

शनिबार नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको झण्डा फुपुले बोक्न घोषणा गरेको हुन्। ‘भर्खरै भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उहाँले स्वर्ण जित्नु भएको थियो।

'त्यसैगरी अन्य खेलहरुमा पनि उहाँको उत्कृष्ट पदर्शन रहेको छ त्यही पदर्शनको आधारमा उहाँलाई चयन गरिएको हो,’ एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘एनओसीको कार्यकारीणी समितिको बैठकले सो निर्णय गरेको हो ।’
 

नेपाली टोलीमा अरु को को ?

५ खेलका ७ खेलाडी बाहेक नेपालबाट ५ खेलका पाँचैजना प्रशिक्षक पनि ब्राजिल जाँदैछन्। जसअन्तर्गत पौडीको प्रशिक्षकमा इश्वर कार्की, जुडोकी प्रशिक्षकमा देवु थापा, आर्चरीको प्रशिक्षकमा दिपकराज गुरुङ, एथ्लेटिक्सको प्रशिक्षकमा पुष्पराज ओझा र तेक्वान्दोमा संगिना बैद्य रहेका छन्।

खेलाडी र प्रशिक्षक गरी १२ जना मात्र रहेपनि अन्य १५ जना पदाधिकारी र अफिसियल पनि ब्राजिल जानेछन्। जसमध्ये राखेप सदस्सचिव केशवकुमार बिष्ट र अफिसियल सुजनलाल श्रेष्ठ रियो गइसकेका छन्। टोलीका अन्य सदस्यमा एनओसीका अध्यक्ष श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पा, उपाध्यक्ष ज्योति राणा, कोषाध्यक्ष रतन टन्डन, सदस्य निलेन्द्रराज श्रेष्ठ, टिम डाक्टरमा सरोज कृष्ण श्रेष्ठ रहेका छन्।

टीम अफिसियलमा पौडीका अध्यक्ष अशोक बज्राचार्य, जुडोका अध्यक्ष दीपकहर्ष बज्राचार्य, आर्चरीका रमेशकुमार श्रेष्ठ र समिम मिया अन्सारी, तेक्वान्दोका राजन श्रेष्ठ छन्।

यस्तै एनआरएनएका अध्यक्ष शेष घले र सिवानी एयरका मनिन्द्रलाल रन्जितलाई पनि एनओसीले रियो जाने टोलीमा छनोट गरेको छ। रन्जित उद्घाटन र घले समापन समारोहमा रियो जानेछन्।
 

नेपाली टोलीलाई ग्लोबल आइएमइको प्रायोजन

नेपाली ओलम्पिक टोलीलाई यस पटक ग्लोबल आइएमइ बैंकले प्रायोजन गर्दैछ। एनओसी अध्यक्ष श्रेष्ठले ग्लोबन आइएमइ बैंकले ओलम्पिकमा सहभागी हुने टिमलाई ड्रेस प्रायोजन गरेको र तयारीका लागि १० लाख रुपैयाँ प्रदान गरेको समेत जानकारी गराएका छन्।

श्रेष्ठले केही दिनमा नै सिवानी एयरसँग वार्षिक रुपमा प्रायोजनको विषयमा सम्झौता हुन लागेको समेत घोषणा गरे। ‘सिवानी एयरका प्रोपाइटर मणिन्द्रलाल रंजित बाहिर हुनुहुन्छ उहाँ आउने वित्तिकै सम्झौता हुन्छ।  सिवानी एयरले एनओसीलाई बार्षिक २० लाख प्रदान गर्ने सहमति भएकोछ, सम्झौता हुन बाँकी रहेको छ,' उनले भने। रंजित रियो ओलम्पिकमा एनओसी अतिथिका रुपमा सहभागी हुँदै छन्। त्यसैगरि एनआरएनएका अध्यक्ष शेष घले पनि एनओसीका अतिथिका रुपमा रियो ओलम्पिकमा सहभागी हुँदैछन्।

यसअघि एनओसीले खेलकुद विकासका लागि २०२० सम्म एनआरएनसँग गरिसकेको एनओसी अध्यक्ष श्रेष्ठले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell