PahiloPost

May 15, 2024 | २ जेठ २०८१

शिरिष गुरुङ आफ्ना फेभरेट माइकल फेल्प्सलाई भेट्दैछन् रियो ओलम्पिकमा



गोविन्दराज नेपाल

काठमाडौं : खेलकुदको सबैभन्दा ठूलो उत्सव हो ओलम्पिक। ओलम्पिक हरेक चार वर्षमा आयोजना हुन्छ। खेलकुदमा लागेपछि हरेक खेलाडीको सपना ओलम्पिकमा सहभागिता जनाउनु हुन्छ। पदक नै जित्न नसके पनि ओलम्पिकमा सहभागिता जनाउनु नै जितसरह हुन्छ, कतिपय खेलाडीका लागि।
 
सन् १८९६ मा ग्रिसको एथेन्सबाट सुरु भएको गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करण यो पटक ब्राजिलमा आयोजना हुँदैछ। अगस्ट ५ देखि २१ सम्म रियो दि जेनेरियोमा हुने ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीमा सदस्य रहेको २०७ देशले भाग लिँदैछन्।
 
पहिलो पटक ल्याटिन अमेरिकी देशमा हुन लागेको ओलम्पिकमा ११ हजारभन्दा बढी खेलाडीले भाग लिने बताइएको छ।
 
त्यसैमध्येका दुई खेलाडी हुन्, माइकल फेल्प्स र शिरीष गुरुङ। ब्राजिल, फेल्प्स र शिरीषबीचको नाता जोडिदिने काम पनि यही ओलम्पिकले गरेको छ।
 
ब्राजिलको रियो दि जेनेरियोमा ३१ औं ओलम्पिक मेला हुँदैछ। त्यसमा भाग लिने अमेरिकी माइकल फेल्प्स र नेपाली शिरीष गुरुङ दुवै पौडीका स्टार हुन्। फेल्प्स ओलम्पिकका स्टार हुन् भने शिरीष नेपालका स्टार।
 
ब्राजिल, फेल्प्स र शिरीषको आ आफ्नै विशेषता छ। ब्राजिल फुटबलको पर्यायवाची जस्तै बनेको छ। यता फेल्प्स र शिरीष भने पौडीका पर्यायवाची हुन्। भलै फेल्प्सको चर्चा विश्वभरि छ, शिरीष नेपालमा मात्रै।
 
ब्राजिलले अहिलेसम्म सर्वाधिक पाँच पटक विश्वकप फुटबल उपाधि जितिसकेको छ। तर पनि उसको फुटबल इतिहास केही अधुरो छ। त्यो भनेको अहिलेसम्म ओलम्पिक फुटबलको उपाधि जित्न नसक्नु। तर यो पटक बार्सा स्टार नेमारको नेतृत्वमा रहेको ब्राजिलले फुटबलको उपाधि घरबाट बाहिर जान नदिने बताएको छ।
 
यता फेल्प्स र शिरीष दुई फरक देशबाट आआफ्नो देशको प्रतिनिधित्व गर्दै रियोको पौडी पोखरीमा डुबुल्की मार्न जाँदैछन्।
 

पौडीबाजका पदक  

फेल्प्स ओलम्पिक इतिहासमा अहिलेसम्मकै सर्वाधिक पदक जित्ने खेलाडी हुन्। चौथो पटक ओलम्पिकमा सहभागिता जनाउन लागेका फेल्प्सले २२ पदक जितिसकेका छन् भने उनको नाममा १८ ओलम्पिक स्वर्णको रेकर्ड छ। यस्तै फेल्प्सले ओलम्पिकमा २ रजत र २ कास्य समेत जितेका छन्। उनले आफ्नो पौडी करियरमा जितेको पदकको कुनै लेखाजोखा नै छैन। अहिलेसम्म २९ व्यक्तिगत र १० रिलेमा गरी ३९ पटक विश्व किर्तीमान कायम गरेका फेल्प्सको नाममा अहिले पनि ७ विश्व कीर्तिमान छ।
 
यता १७ वर्षीय नेपाली पौडीबाज शिरीष नेपाली पौडीका चम्किला तारा हुन्। सुन्दा अचम्म लाग्न सक्छ, उनले नेपालमा ४५ पटक पौडीमा कीर्तिमान कायम गरिसकेका छन्। कीर्तिमान राख्ने र भंग गर्ने उनको बानी नै बनिसकेको छ। राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय पौडी पोखरीमा समेत उनले अन्य खेलाडीसँगै आफ्नै रेकर्ड समेत तोड्दै आइरहेका छन्।
 
३१ वर्षे फेल्प्सको लागि यो पटकको ओलम्पिक नै अन्तिम हुने अनुमान भइरहँदा नेपालका शिरीष भने पहिलो पटक ओलम्पिकको पौडी पोखरीमा अनुभव लिन जाँदैछन्।
 
शिरीषको फेभरेट प्लेअर पनि फेल्प्स नै हुन्। उनको सपना पनि फेल्प्स जस्तै बन्ने हो। तर अहिलेसम्म आफ्नो मन पर्ने खेलाडीलाई भेट्न नपाएका शिरीषको चाहना छ ब्राजिलमा उनलाई भेट्ने।
 
अझै राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै ओलम्पिक रेकर्ड नजिक पुग्ने बताएका शिरीष जति रियो ओलम्पिक खेल्न जाँदा उत्साहित बनेका छन्, त्यति नै फेल्प्सलाई भेट्न पनि उनी उत्साही छन्।
 
सन् २००४ मा पहिलोपटक एथेन्स ओलम्पिककमा भाग लिएका फेल्प्सले ८ मध्ये ६ वटा स्पर्धामा स्वर्ण जितेका थिए भने २ कास्य जितेका थिए। त्यसको चार वर्षपछि बेइजिङमा भएको ओलम्पिकमा उनले ७ विश्व रेकर्ड सहित भाग लिएका ८ वटै स्पर्धामा स्वर्ण जिते।
 
सन् २०१२ को लण्डन ओलम्पिमा भने उनले ६ वटा स्पर्धामा मात्र भाग लिएका थिए। जसमध्ये ४ वटा स्पर्धामा स्वर्ण जित्दा २ रजत पदक जिते। फेल्प्सले लण्डन ओलम्पिकपछि नै पौडीबाट सन्यास लिएका थिए तर फ्लाइङ फिसको उपनाम पाएका उनले आफ्नो पौडी मोहलाई त्याग्न सकेनन् २०१४ मा पुन सन्यासबाट पौडी पोखरीमा फर्के। सन् २०१२ मा फिना स्विमर अफ दि इयरको अवार्ड जितेका फेल्प्स विश्व पौडी इतिहासका सर्वोत्कृष्ट खेलाडी हुन्।
 
यता शिरीषले नेपाली पौडीमा प्राय सबै कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन्। करिब दुई साताअघि भएको राष्ट्रिय पौडी प्रतियोगितामा शिरीषले दुई नयाँ कीर्तिमान बनाएका थिए। उनले सय मिटर ब्याकस्ट्रोकपमा १ मिनेट १२ सेकेण्डको समय निकाल्दै आफ्नै नाममा रहेको १ मिनेट १२.९ सेकेण्डको कीर्तिमान तोडेका थिए। यस्तै ५० मिटर ब्याकस्ट्रोकमा पुष्पराज शाहीको नाममा रहेको ३२.६२ सेकेण्डको र्कीतिमानलाई पछि पार्दै शिरीषले ३१.९४ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन्।
 
रियो २०१६ ओलम्पिकमा भने शिरीषले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दैछन् । थाइल्याण्डमा एक वर्षको अन्तर्राष्ट्रिय प्रशिक्षणको अनुभव लिएका शिरीषले ओलम्पिकमा खेल्न जाँदा एक वर्षको अनुभवले मात्र नपुग्ने बताउँछन्। तर यो पटक नेपालले आशा गरेभन्दा राम्रो प्रदर्शन गर्नेमा भने उनी विश्वस्त छन्।
 
फुटबलको पर्यायवाची बनेको ब्राजिलले घरमै आयोजना भएको ओलम्पिकमा पहिलो पटक फुटबलको उपाधि जित्ने योजना बनाइरहँदा फेल्प्स आफ्नो करिअरको आखिरी ओलम्पिकमा छन्।
 
नेपाली युवा स्टार शिरीष ब्राजिलमा राष्ट्रिय कीर्तिमान भंग गर्दै ओलम्पिक रेकर्डको नजिक पुग्ने अभियानमा त छन् नै फेल्प्ससँग भेट्ने र फोटो खिच्ने समेत उनको चाहना छ।
 
हेर्न बाँकी छ, शिरीष इच्छाको कति नजिक पुग्छन्; त्यो उनैमा भर पर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell