PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​टाउकोमा ब्यान्डेज बाँधेका यादवले भने- सीमा मिचेर बाँध बनाउन दिन्न



स्वेच्छा राउत

​टाउकोमा ब्यान्डेज बाँधेका यादवले भने- सीमा मिचेर बाँध बनाउन दिन्न

काठमाडौँ :  'मेरो माटोमा कसैले अधिकार जमाउन पाउँदैन। मेरो शरिरले, मेरो बलबुद्धिले भ्याए सम्म म सीमा मिचेर बाँध बनाउन दिन्न', टाउकोमा ब्यान्डेज बाँधेका देवनारायण यादव भन्दै थिए, ' म एक्लो छैन। मेरो साथमा पुरै तिलाठी बासी छ। अब प्रशासनले पनि साथ देओस्।‘

सप्तरीको तिलाठीमा भारतीय पक्षले बनाएको बाँध भत्काउने क्रममा भारतीयसँग भएको झडपमा घाइते भएका यादव अहिले काठमाडौँमा छन्।
डाक्टरका अनुसार उनको टाउकोको स्काल बोनमा असर परेको छ, जसका कारण ८ वटा टाँका लगाउन पर्‍यो। उनको उपचार अझै चलिरहेको छ। ठूलो स्वरले बोल्न हुँदैन र निकै संयमतापूर्ण यताउता गर्नु पर्छ। तर उनी जोशका साथ यी शब्द बोल्दै थिए बागबजारको हार्दिक होटलमा जहाँ उनलाई अभिनन्दनको कार्यक्रम राखिएको थियो।  

‘एउटा बुवाको १० बिगा जग्गा छ भने दुइ दाजु भाइलाई ५-५ बिघा बाढ्नु पर्छ। तर कहिले काही भाइ सोझो छ भने दाइले ७ बिघा राख्छ र भाइलाई ३ बिघा मात्र दिन खोज्छ। नेपाल भारत बिच पनि त्यस्तै भइरहेको छ। भारत दाइ बनेर आफ्नो सिमा बिस्तार गर्दैछ', यादवले मन्तव्य राख्ने क्रममा भने। 

उनले भने,'म मेरो घर मेरो जग्गा जलायमान हुने डरले लड्न गएको होईन। मलाई त मेरो स्वाभिमानको रक्षा गर्नु थियो।' 

सप्तरीको तिलाठीमा भारतीय नागरिकसँग दजगजा मिचेर बनाउन लागिएको बाँधको प्रतिरोध गर्दा भएको झडपमा घाइते भएका हुन् तिलाठी- ४ का देवनारायण यादव। नेपाली भूमि मिच्न लागेको थाहा पाउँदा उनी लगायतका टोलीले पटक पटक त्यसो नगर्न भारतिय इन्जिनियर लगायतको टोलीलाई भनेको थियो। उनले पत्रकार, प्रहरीदेखि सिडिओसम्मलाई गुहारेका थिए। मिडियामा बाँधको प्रचार हुन थाले पनि भारतीय टोलीले बाँधको काम रोक्ने आश्वासन दिए पनि काम रोक्ने पक्षमा थिएनन्।

असह्य भएपछी यादवको नेतृत्वमा बाँधविरुद्ध उर्लिएको तीन जनाको टोलीबीच झडप सुरु भयो।  दोहोरो बाँसको भाटा हानाहान, ढुङ्गा प्रहार भयो। झगडा चर्किएपछि यादव घाइते भए। उनलाई छुट्टाउन गएका दुर्गानन्द झामाथि पनि प्रहार भयो। झाको टाउकोको म्याग्जिलरी बोनमा असर परेको छ। अहिले उनी बोल्न र चाहे अनुसार टाउको घुमाउन सक्दैनन्। 

यादव र झा घाइते भए लगत्तै तिलाठीबासी पुरै झडपमा उर्लियो। बाँध बाँध्न आएका भारतीय नागरिकलाई सिमा कटाएपछि मात्र तिलाठीबासी गाउँ फर्किए। र, घाइते हुनेहरुलाई उपचारको लागि अस्पताल लागियो। 

झडपको क्रममा गम्भीर घाइते भएका यादव र झालाई सप्तरी पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडाले काठमाडौं ल्याउने व्यवस्था मिलाएका हुन्।

दुई घाइते लगायतलाई वीर योद्धा घोषणा गर्दै “राष्ट्रिय स्वाभिमानका लागि युवा अभियान”ले उनीहरुको सम्मानमा अभिनन्दन कार्यक्रम आयोजना गरेको थियो। 

पूर्व प्रधानमन्त्री एंवम एमाले नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा भएको अभिनन्दन कार्यक्रममा देवनारायण यादव र दुर्गानन्द झालाई फूलमाला, दोसल्ला र सम्मान पत्र सहित अभिनन्दन गरियो।

एमाले नेता झलनाथ खनालले भारतले नेपाली स्वाभिमानको सम्मान गर्नुपर्ने बताए। उनले माटोको विषयलाई निकै गम्भिरतापूर्वक लिनुपर्ने धारणा राखे।

घाइते यादव र झालाई अहिले काठमाडौं स्वयम्भूको मनमोहन मेमोरियल अस्पतालमा उपचार गराइएको छ। उपप्रधान तथा गृहमन्त्री भीम रावलले सोमबार संसदलाई घटनाबारे जानकारी दिने क्रममा उनीहरुको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell