PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

'नेदरल्याण्ड्सलाई हराउन नेपाल सक्षम'



गोविन्दराज नेपाल

'नेदरल्याण्ड्सलाई हराउन नेपाल सक्षम'

काठमाडौं : सन् २०१५ को जनवरीमा नामिवियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो। ५० ओभरको उक्त खेलमा नेपाल २ विकेटले विजयी भएको थियो। ६ टोली सम्मिलित प्रतियोगितामा अन्तत: त्यही नेदरल्याण्ड्स च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो।
 
त्यसको ठिक एक वर्षअघि न्युजिल्याण्डमा वान डे विश्वकपको छनोट भएको थियो। जसमा नेपाल नेदरल्याण्ड्सँग ७ विकेटले हार्‍यो।
 
फेरि एक पटक नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन्, आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा। चौथो चरण अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको दुवै खेल डच टोलीको घरेलु मैदानमा हुनेछ। यसैका तयारीका लागि नेपाली क्रिकेट टोली करिब १० दिनको युके टुर समेत गरेको थियो।
 
त्यसबाट उत्साही बनेका नेपाली टोलीका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटा आफूहरु नेदरल्याण्ड्सलाई हराउन सक्षम रहेको बताउँछन्।
 
'युके टुरमा एज ए टीम सबैले राम्रो प्रदर्शन गरे, तर हाम्रो मुख्य खेल भनेको नेदरल्याड्ससँग हो र मेन टेस्ट नेदरल्याण्ड्ससँगै हुनेछ,' कप्तान पारस भन्छन्।
 
कोच जगत टमाटा युके टुरलाई नेदरल्याण्ड्सविरुद्ध हुने खेलको प्रिपेरेसन मान्छन्। 'ओभरअलमा केटाहरुले राम्रो प्रदर्शन गरे। उताबाट फर्केर पनि हामीले क्लोज क्याम्पमा अभ्यास गर्‍यौं,' उनले भने।
 
खेलाडीले हरेक दिन कडा परिश्रम गरिरहेकाले निकै राम्रो प्रगति भएकोमा उनी ढुक्क छन्।
 
'हाम्रो खेलाडीहरुमा ट्यालेन्ट छ, अहिले टोली लयमा पनि त्यसैलाई कायम राख्दै नेदरल्याण्ड्सलाई हराउने हाम्रो लक्ष्य हो,' टमाटाले भने।
 
पारसको अनुभवमा वर्ल्ड क्रिकेट लिगमा हरेक म्याच महत्वपूर्ण हुन्छ। 'हाम्रो लागि एभ्री म्याच उत्तिकै इम्पोर्टेन्ट छ, मुख्य कुरा हामीले कन्सिसटेन्ट भएर खेल्नुपर्छ,' उनी भन्छन्, 'हामीले कन्सिसटेन्मा जति फोकस गर्‍यौं उति नै राम्रो हुन्छ।'
 
नेदरल्याण्डस्सँग चौथो चरणको खेल खेल्न लाग्दा शीर्ष ४ मा पर्न अझै ५ खेल जित्नुपर्ने पारस बताउँछन्, 'नेदरल्याड्स सहित अझै हामीले चार राउण्ड खेल्न बाँकी छ, त्यो भनेको ८ खेल हो र अगाडि बढ्नका लागि हामीले ५ खेल जित्नुपर्छ ।'
 
युके टुरमा ब्याटिङमा केही सुधार भएको उनले महसुस गरेका छन्। त्यहाँ ब्याटिङ, फिल्डिङ र बलिङ तीनै डिपार्टमेन्टमा राम्रो प्रदर्शन गरेको भन्दै उनले सुनाए, 'विशेष गरी ब्याटिङमा अलिकति इम्प्रुभमेन्ट भएको छ तर अझै सुधार गर्नुपर्ने पक्ष धेरै छन्।'
 
एउटा म्याच राम्रो खेल्यो भन्दैमा चुप लागेर बस्न नहुने उनको तर्क छ। हरेक खेलका लागि मेहनतमा निरन्तर सुधार त चाहिन्छ नै। त्यसो त नेदरल्याण्ड्लाई हराउनकै लागि नेपाली टीम निरन्तर अभ्यासमा छ।
 
'डचलाई जित्नकै लागि भनेर हामी प्रिपेरेसन गरिरहेका छौं र जित्नका लागि सक्षम पनि छौं,' नेदरल्याण्ड्स विरुद्धको रणनीतिबारे पारसको भनाइ छ, 'लास्ट टाइम हामीले नामिवियामा उनीहरुलाई २ विकेटले हराएका थियौं। यो पटक पनि मेहनत गर्‍यौं भने अवश्य हराउन सक्छौं।'
 
'पहिलो कुरा हामीले तीनै डिपार्टमेन्टमा कति गर्न सक्छौं भन्ने नै हो, यो सबै टीममै भर पर्छ। गतवर्ष उता गएर नेदरल्याण्ड्ससँग टी ट्वान्टी पनि खेलेका थियौं, अहिले पनि अभ्यास खेल खेल्छौं,' पारस भन्छन्, 'त्यसले पनि त्यहाँको कन्सिन बुझ्न सहयोग गर्नेछ। त्यसपछि नै टी स्ट्राटेजी बनाउनेछौं।'
 
प्रशिक्षक टमाटा भने नेदरल्याड्सविरुद्ध पहिले नेपालले ब्याटिङ गरे २५० भन्दा बढी स्कोर गर्नुपर्ने बताउँछन्। भन्छन्, 'ब्याटिङ गर्दा हामीले २ सय क्रस गर्न दिनु हुँदैन।'
 
आइसीसी इन्टरकन्टिनेन्टल कपमा नेदरल्याण्ड्स भर्खरै घरेलु मैदनमै अफगानिस्तानसँग पराजित भएको छ।
 
'एसोसिएट टोलीमध्ये अफगानिस्तान अहिले उत्कृष्ट फर्ममा छ। राम्रोसँग खेलिरहेकाले पनि जित्नु स्वभाविक हो,' पारस भन्छन्, 'तर यसो भन्दैमा नेदरल्याण्ड्स कमजोर टोली भने होइन, उनीहरुको पनि सुधार गर्नुपर्ने पक्ष धेरै छन्।'
नेपाली टोलीका खेलाडी पनि फर्ममा रहेकाले जितको लागि योग्य रहेको उनी बताउँछन्। 'हामी बेस्ट इन फर्म प्लेयरहरु नै नेदरल्याण्ड्स लिएर जाँदैछौं, त्यो दिन जसले राम्रो क्रिकेट खेल्छ उसै रिजल्ट पाउँछ,' उनी भन्छन्।
 
प्रशिक्षक टमाटाको भनाइ पनि पारसँगै मिल्छ। नेदरल्याण्ड्को कन्डिसन हेरेरै त्यहीअनुसार आफूहरुले रणनीति बनाउने उनले बताए।
 
'केटाहरु मेन्टली, फिजिकल्ली सबै रुपमा फिट छन्,' सो वि आर क्यापेबल टु बीट डच,' उनी उत्साही पनि छन्।
 
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत नेपालले चौथो चरणमा नेदरल्याण्ड्ससँग खेल्दैछ। अगस्ट १३ र १५ मा नेपाल र नेदरल्याण्ड्सबीच दुई खेल हुनेछ र दुवै खेल नेदरल्याण्ड्सको मैदानमा हुनेछ।
 
सुरुवाती दुई चरणको खेलमा हार बेहोरेको नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको खेलमा नामिवियालाई पराजित गर्दै डब्लुसिएलमा अंकको खाता खोलेको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले नामिवियालाई दुवै खेलमा हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell