PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

रहर बन्दैछ तीज गीत, गायिका भन्छन्- 'कमाइ छैन, युट्युबको भ्यु हेरेरै चित्त बुझाउनुपर्छ'



स्वेच्छा राउत

रहर बन्दैछ तीज गीत, गायिका भन्छन्- 'कमाइ छैन, युट्युबको भ्यु हेरेरै चित्त बुझाउनुपर्छ'

काठमाडौं : 

तीजको रहर आयो बरी लै
तीजको रहर आयो बरी लै…
 
केही वर्षअघिसम्म तीज गीत भन्नासाथ यही गीत सम्झनेको जमात बाक्लो थियो। किनकि निकै कममात्र तीज गीत बजारमा सुनिन्थ्यो।
 
नेपाली हिन्दु नारीहरुको महान् पर्व मानिने तीजको गीतमा नारीहरुकै मर्मका साथै खुसी र रहरहरु व्यक्त गरिने मान्यता थियो। कन्यादान चलचित्रको ‘तीजको रहर आयो बरी लै’ बोलको गीतमा त्यही भाव झल्काउँछ त्यसैले पनि सार्वजनिक भएका केही गीतले त्यो गीतलाई हराउन दिएन। वर्षमा एक दिनका लागि आउने तीज विशेष गीत रेकर्डिङ, भिडियो सुटदेखि एल्बम सार्वजनिकसम्मको मेहनत र खर्च निकै कमले गर्थे।
 
केही वर्षयता भने युट्युबमार्फत गीत सार्वजनिक गर्दा बटुलिने चर्चा, स्टेज कार्यक्रमहरुबाट कमाइने फाइदाका कारण तीज गीतका गायकगायिका बढिरहेका छन्। साथै तीजका गीत बर्सेनि 'फेसन कार्यक्रम' जस्तै बनेका छन्।
 
गायिका अनिता चलाउनेको लागि भने तीज गीत आफ्नो सांगीतिक पहिचानको खोजी हो। गत वर्ष तीजअघि एउटा आधुनिक गीत सार्वजनिक गरेर सांगीतिक यात्रा सुरु गरेकी उनी तीजपछि मात्र चर्चामा आइन्।
 
‘नाचिदेऊ मैया भाँचिदेऊ कम्मर’ बोलको सो गीतपछि उनले अरु गीतमा पनि आवाज दिइन्। पहिलोपोस्टसँगको कुराकानीमा उनी भन्छिन्, 'आधुनिक गीतमै जम्छु जस्तो लागेको थियो तर तीजको गीत धेरैले रुचाए। अब लोक भाकालाई नै निरन्तरता दिन्छु।'
 
पश्चिम नेपालकी उनी लोकदोहोरी गीत आफ्नो ठाउँका मान्छेले धेरै मन पराउने भएर पनि तीजको लागि लोकभाका गाएको बताउँछिन्। उनको यो वर्ष पनि गायक पशुपति शर्मासँगको ‘झ्याप्पै बरी लै’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीतले युट्युबमार्फत चर्चा बटुलिरहेको छ।
 
अनिता भन्छिन्, 'त्यही युट्युब भ्यु गन्ने त हो। एउटा गीत निकालेर पैसा कमाउँछु भनेर त केही नहुने रहेछ।'
 
उनलाई लाग्छ, गायनलाई नै निरन्तरता दिन सकियो भने स्टेज कार्यक्रम पाइन्छ, आर्थिक रुपमा केही राहत हुन्छ तर एउटा तीज गीतको लागि खर्च गर्दा त्यो गीतले दिने दाम होइन नाममात्र हो।
 
उनी अब लोकदोहोरीलाई नै निरन्तरता दिने सोचमा छिन्। उनले यो वर्ष मात्र १६ वटा गीतमा आफ्नो स्वर दिइसकिन्। ’अहिलेसम्म गाएका गीतहरुमा श्रोताको माया पाएकी छु त्यसैले आत्मविश्वास बढेको छ,' उनी भन्छिन्।
 
लहलहैमा लागेर र नसिकी गायन क्षेत्रमा आउन खोज्नेको लागि तीज बम्पर अवसर बनेको उनी महसुस गर्छिन्। यति कुरामा चाहिँ ढुक्क छिन् उनी, नसिकी आउनेहरु बिके पनि धेरै समय टिक्दैनन्। चाहे त्यो गायन होस् या अन्य कुनै क्षेत्र।
 
‘नाच माया’ बोलको तीज गीत गाएर पहिलो पटक लोक प्रस्तुति दिएकी अनु ढकालको तीज गीत अनुभव भने बेग्लै छ। प्रेम गीत, लक्ष्य जस्ता नेपाली फिल्महरुमा प्रेमिलदेखि आइटम गीतसम्म गाएकी उनलाई तीज गीत फरक धारको अनुभव संगाल्ने बहाना बन्यो। 'नामकै लागि हो तीजको गीत गाउने त,' उनले सुनाइन्, 'यसले त सबै भाकाका गीत गाउँछे, भनुन् न मान्छेले।'
 
अनुलाई पनि अनितालाई जस्तै तीजको गीत व्यावसायिक रुपमा फाइदाको काम हो जस्तो लाग्दैन। विभिन्न स्टेज कार्यक्रमहरुका लागि देश-विदेश घुमिसकेकी अनु भन्छिन्, 'तीजकै कार्यक्रममा त स्टेज शो धेरै हुन्छन्। तर न भनेजति पारिश्रामिक दिन्छन् न त आयोजकले समयको नै ख्याल गर्छन्।'
 
'फेस भ्यालु' बढाउनका लागि पनि गीत निकाल्नु, भिडियोमा देखिनु आवश्यक भएको उनको अनुभव छ।
 
दुई वर्ष लगातार 'हे बरै नेपालको कानुन', 'नारी वेदना' नामक दुई तीज गीतको एल्बम सार्वजनिक गरेकी चाँदनी मल्ल यो वर्ष भने पुरानै गीतको नयाँ प्रोमो निकालेर प्रचार गर्ने तयारीमा छिन्। तीज गीत छाडा हुँदै गएको उनको धारणा छ। भन्छिन्, 'राम्रो र चेतनामूलक गीतको बजार छैन। मलाई गीतको नाममा कुण्ठा पोख्नु छैन।' चाँदनीका लागि गीत चेतना फैलाउने माध्यम पनि हो।
 
युट्युबमा पनि सरल अनि मौलिक शब्द भएका गीत हेरिन छोडेकोमा उनलाई दु:ख लाग्छ। यो वर्ष तीज कार्यक्रमको लागि कतार जाने तयारीमा रहेकी उनी भन्छिन्, 'बरु बाहिर हुनुभएका नेपालीले हाम्रो मौलिक गीत रुचाउनुहुन्छ।'
 
अनिता, अनु र चाँदनी जस्ता गायिकालाई लाग्छ, अहिले गीतको बजार छैन। तीज गीत सार्वजनिक गर्नु त जानीजानी घाटा बेहोर्नु हो। युट्युबमा हुने भ्यु, सामाजिक सञ्जालामा आउने प्रतिक्रिया र त्यसैको आधारमा हुने चर्चाले गायक-गायिकालाई केही राहत मिल्छ।
 
लोकप्रियताका लागि तीज गीत गाउनु फेसन बनेको यी गायिकाको निष्कर्ष छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell