PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

लम्पसारवाद, कथित राष्ट्रवाद र लोकतन्त्र



लम्पसारवाद, कथित राष्ट्रवाद र लोकतन्त्र

  • अभय पाण्डे
म एमाले होइन। यस्तो सुरुमै लेख्न जरुरी छ आज कल। नत्र मित्रहरुले बिल्ला भिराइ हाल्छन्। आजसम्म कुनै पनि पार्टीको नेताको घर गएको छैन। काम नै पर्दैन। केपी भट्टराईको १३ औँ पुण्यतिथिमा  उनको आश्रम  चाहीँ गएको हो। तर म काङ्ग्रेस पनि होइन। साँच्चै भन्ने हो भने राजनीतिक हिसाबले म एउटा बे-वफादार मत (विचार र भोट) दाता हुँ। कहिले कुन नेताको तारिफ गर्छु, कहिले कुनको। तर जतिसुकै बे-वफादार भए पनि म बे-इमान चाहीँ छैन। यति इमान त बाँकी नै छ कि, आफु बे-वफादार भएको सत्य पहिले नै भनी दिन्छु। 

केही त पक्कै जागेको थियो

​केही त पक्कै जागेको थियो जब संविधान बन्नु दुई दिनअघि छिमेकी मित्रराष्ट्रको दुत आएर जे जस्ता भए पनि 'हाम्रा'  नेताहरुलाई थर्काएका थिए। केही त पक्कै जागेको थियो, जब नाकाबन्दी लाग्यो। केही त पक्कै जागेको थियो, जब मित्रराष्ट्रको सदनमा हाम्रो संविधानको गुण र दोषमाथि चर्चा चल्दै थियो। केही त पक्कै जागेको थियो, जब हाम्रा शीर्ष नेताहरुले संविधानमा ‘यस्तो राख्ने र उस्तो राख्ने वाचा दिएका थिए’ भनी भारतीय मन्त्री आफ्नो सदनलाई जानकारी गराउँदै थिइन्। हरेक पटक केही त पक्कै जाग्थ्यो जब हाम्रा नेताहरु दक्षिणी दरबारहरुमा लम्पसार पर्थे। तर जे जागेको थियो वा जाग्थ्यो, त्यो के थियो ? राष्ट्रवाद ? वा अरु केही? के जागेको थियो भन्ने कुराको उत्तर दिनुअघि, के जागेको थिएन? त्यस्को उत्तर दिन चाहन्छु।     

भारतविरोधी भावना पक्कै जागेको थिएन,  जागेको छैन। मलाई भारतको भूगोलप्रति कुनै विरोध छैन, इतिहासप्रति छैन, भाषा संस्कृतिप्रति छैन। त्यहाँका न्यायप्रेमी जनताप्रति विरोध छैन। कलाप्रति विरोध छैन। म विरोधी यदि हुँ भने, भारतको शासकीय  प्रवृत्तिको हुँ  जो नेपालमा केवल आफ्नो शासकीय अहमको सन्तुष्टिका लागि एउटा वा अर्को बहानामा निरन्तर राजनीतिक हस्तक्षेप गर्छ। आफ्नो इच्छा बलजफ्ती लाद्न खोज्छ। म एउटा विशाल भारतको त्यो सानो अंशियारको मात्र विरोधी हुँ। मलाई लाग्छ अभिव्यक्तिबाट जे जस्तो प्रतीत भएता पनि व्यवहारमा अधिकांश नेपाली भारत विरोधी होइनन्। उनीहरुको विरोध पनि त्यही  शासकीय प्रवृत्तिप्रति हो। ठूलो देश हाँक्ने मानिसको दृष्टिजकोण पनि ठूलै हुनुपर्छ। ज्ञानीहरुले बोलीमा होइन, व्यवहारमा विश्वास राख्नु पर्दछ। नाकाबन्दीताका मणिशंकर ऐयर नेपाली जनतालाई सम्झाउँदै थिए कि नाकाबन्दी भारतले लगाएको होइन, मोदी सरकारले लगाएको हो। म भन्छु, नेपालको विरोध भारतप्रति होइन,  भारतका शासक, अझै भनौँ शासकीय प्रवृत्तिप्रति मात्र हो।  

ममा भारतविरोधी भावना जागेको थिएन भने के जागेको थियो त? राष्ट्रवाद? तर राष्ट्रवाद यति जटिल विषय छ कि,  म अहिले त्यही जागेको थियो भनेर भन्न सक्ने स्थितिमा छैन। पहिले हाम्रा बुद्धिजीवी र बुद्दिजीवी नेताहरु, यसका यावत पक्षहरुका बारेमा एकमत भएर हामीलाई बताउन्, अनि मात्र म भन्न सक्ने छु कि जे जागेको थियो त्यो राष्ट्रवाद थियो वा थिएन ? तर यति चाहीँ थाहा छ, जे जागेको थियो त्यो हाम्रो नेताहरुको निर्लज्जपन र भारतीय संस्थापनको हस्तक्षेपकारी प्रवृत्तिको प्रतिक्रिया स्वरूप जागेको थियो। नेपालको गौरवशाली इतिहासको अभिमानस्वरुप चाहीँ पक्कै जागेको थिएन।  

लम्पसारवाद

कतिपय बुद्धिजीवी र बुद्धिजीवी नेताहरुको कुरा सुन्दा यस्तो लाग्छ कि लम्पसार पर्नु हाम्रो राष्ट्रिय आवश्यकता नै हो। किनकि हामी भारतमा 'परनिर्भर' छौँ। यस्तो विचार मनमा कसरी आयो? के हाम्रा नेता देश चलाउन यति असक्षम छन् कि उनीहरुलाई विदेशी ‘गाइडेन्स’ चहिन्छ?  छ्न् भने पहिला स्वीकारुन्,  उनीहरुकै मुखबाट सुनौँ। यदि परनिर्भरता भन्ने शब्द भारतबाट हुने आयातलाई लिएर भनिएको हो भने, यो ९० को दशकपछि या त पढ्न छोडेका या त मनोवैज्ञानिक रुपमा बढ्न छोडेकाको तर्क हो। आजको संसारमा आत्मनिर्भर देश कुनै छैन। पूर्ण रुपले आत्मनिर्भर मानव समाज अब संसारका केही विकट जंगल र भूमिमा मात्र फेला पर्छ। या त जंगलका जनावरहरु आत्मनिर्भर हुन्छन्।  तर पनि परनिर्भरता भन्ने शब्द, भूमन्डलीकरणको शब्दकोशबाट गायब भइसकेको छ। किनकि, आजको विश्व अन्तरनिर्भर छ । अन्तरनिर्भर संसार दुई वटा आधार स्तम्भमा अडेको छ : विशिष्टिकरण र विनिमय। यो अन्तरनिर्भर संसारका केही मान्यताहरु छन्। ती मान्यतामध्ये सबैभन्दा महत्वपूर्ण मान्यता हो : अन्तर्राष्ट्रिय ब्यापारलाई राजनीति निरपेक्ष राख्ने। यही मान्यतामा अमेरिका र चीन जस्ता नितान्त भिन्न राजनीतिक दर्शन बोकेका र ‘सम्भावित वैरी’ मुलुकबीच पनि ब्यापार निर्वाध चल्छ। त्यही कुरा चीन र भारतको बीचमा पनि लागू हुन्छ। भारत र चीन यस कारण ब्यापार गर्दैनन् कि उनीहरुमा एक अर्काप्रति दया जाग्दो छ। दुबै देशबीच सिमाना र भूभागको विवाद् यथावत छ। दुबैको आपसमा टकराउने सामरिक स्वार्थ छ। तर पनि ब्यापार यस कारण गर्छन् कि ब्यापार गर्नु दुबै देशको आवश्यकता हो। 

अन्तर निर्भरतालाई  दुबै देशले स्वीकारेका छन्। भारत र नेपाल बीच पनि त्यही हो। ब्यापार गर्नु हामी दुबै देशको आवश्यकता हो। हामीलाई सामान चाहिएको छ, उनीहरुलाई आफ्नो बजारको विस्तार। तर यदि व्यापार, राजनीतिक  अस्त्रको रुपमा प्रयोग हुन्छ भने , त्यो विश्वव्यापी मान्यता विपरीत हो, गलत हो। गलतलाई गलत भन्न  राष्ट्रवादी हुनु पर्दैन। गलतलाई गलत भन्न नसक्नु चाहीँ बौद्धिक र राजनीतिक लाचारी हो। त्यसै पनि यो वैश्य युग हो। वैश्य युगमा कुनै साहुजीले आफ्नो ग्राहकलाई ‘पहिला घरको झगडा मिलाऊ, यो बुहारी  ल्याऊ, त्यो ज्वाँई ल्याऊ, त्यसलाई काम गर्ने बनाऊ, डिवोर्स गर, अनि मात्र सामान बेच्छु’ भन्न मिल्दैन। यो वैश्य परम्परा विपरित आचरण हो। 

नाकाबन्दी त ब्रह्मास्त्रको रुपमा प्रयोग गर्ने कुरा हो। विरलै प्रयोग गरे पनि त्रास त देखाइरहन जरुरी हुन्छ ब्रह्मास्त्रधारीलाई। त्यो ब्रह्मशक्तिको प्रयोग कुनै खास मौकामा मात्र हुन्छ। अचेल त ब्रह्मास्त्रको शक्ति पनि क्षीण भएको जस्तो छ। वैश्य युग न पर्यो। अरु बेलामा चाहीँ भारतसँग यस्तो के छ? जसले गर्दा उनीहरुले हाम्रा नेताहरुलाई नचाइराख्छन्? यसलाई बुझ्न कठपुतलीको नाच सम्झनु पर्दछ। कठपुतलीहरुको धागा एक अर्कासँग जोडिएका हुँदैनन्। त्यो सिधा-सिधा अदृश्य हाथमा जोडिएका हुन्छन्। एक अर्कासँग जोडिएका भए अदृश्य हातलाई आफ्नो इच्छा अनुरुप नचाउन १२ बज्ने थियो। नेपाली राजनीतिक पात्रहरुको तार पनि एक अर्कासँग जोडिएका छैनन्। एकलाई लाग्छ कि अर्काको तार सिधै ‘माथि’ जोडिएको छ। दल दल बीचमा मात्र होइन कि, एउटै दलभित्रका नेताहरुलाई पनि त्यस्तो लाग्छ। सत्य भए पनि नभए पनि त्यस्तो विश्वास जगाउन सफल भएका छन् भारतीय ‘संयन्त्रहरु’। त्यसैले सबै ‘माथि’ जोडिन चाहन्छन्। किनकि सबैलाई पदमा पुग्नुछ, आफ्नो इमान, नैतिकता, विवेक, स्वाभिमान र अरु जेसुकै त्यागेर भए पनि। हाम्रा नेताहरुको 'कमजोरी' नै उत्तोलन (लेवेरज) हो  भारतीय शासकहरुको, नेपाली शासकहरु माथि। नेपाली राजनीतिक पात्रहरुको गलत 'वायरिङ' र तुच्छ महत्वाकांक्षाको परिणाम हो लम्पसारवाद। त्यसमाथि छिमेकीको आफ्नो 'प्रवृत्ति ' त छँदैछ,  बाँकी कसर पूरा गर्न।   

तर, भारतीय संस्थापनले सोच्नु पर्ने बेला आएको छ कि दशकौँ आशीर्वाद दिँदादिँदा नेपालबाट के पायो? कथित 'भारतविरोधी' भावना बाहेक? नेपालसँग राम्रो मित्रता त त्यहाँ देश हाँक्नेहरु पनि चाहन्छन् होला। तर मित्रता बल, हस्तक्षेप र नाकाबन्दीबाट प्राप्त गर्न सकिँदैन। त्यो अथाह आर्थिक सहयोगबाट पनि हुँदैन रहेछ। मिठा मिठा कुराले पनि हुँदैन रहेछ। त्यो 'परिपक्व' कुट्नीतिले मात्र पनि हुँदैन रहेछ। त्यो अनेकौँ थरिका समानताले मात्रले पनि हुँदो रहेनछ। त्यो प्राप्त हुन्छ आपसी सम्मानले। आखिर भारतीय संस्थापनलाई पनि लाग्दो हो कि नेपाललाई 'यति ' गरेर पनि चुक कहाँ भयो? जसले गर्दा पाउनु पर्ने ‘सराहना’ पनि हाथ लागेन। चुक एउटै ठाउँमा मात्र भएको छ -राजनीतिक हस्तक्षेप गरेर। जुन दिन आम मानिसलाई लाग्ने  छ कि अब हस्तक्षेप बन्द भयो भनेर,  मलाई पूरा विश्वास छ नेपाल-भारतको सम्बन्ध अपूर्व उचाइमा पुग्नेछ। यति भन्न हेनरी किसिन्जर हुनु पर्दैन। 

कथित राष्ट्रवाद र लोकतन्त्र

अघि नै भने ममा जागेको भावना के थियो भनेर मैले नाम दिन सकेको छैन। म त्यो भावनालाई कुनै परिभाषाभित्र बाँध्न पनि चाहन्न। केही भावना त जनसंख्याको उल्लेख्य मानिसमा पनि जागेको थियो, जसलाई बुद्धिजीवी र बुद्धिजीवी नेताले ‘राष्ट्रवाद’ को संज्ञा दिए। कसैले उग्र राष्ट्रवाद पनि भने। राष्ट्रवाद भन्ने शब्द ब्यङ्ग्यको रुपमा प्रयोग गर्छन् कतिपय नेता र बुद्धिजीवीहरु, जसले आम मानिसको भावना बुझ्ने कोशिश कहिले पनि गरेनन्। राष्ट्रवादले खान दिन्छ ? भन्ने प्रश्न पनि सुनिन्छ बेला-बेलामा। पहिलो कुरा त, राष्ट्रवाद र 'खाना'  एक अर्कालाई निषेध गर्ने कुरा होइनन्। राष्ट्रवादीले भोकै मर्नु पर्ने र पेट भर खानेले राष्ट्रवादको कुरा गर्नु नहुने ? यस्तो स्थिति त कहीँ पनि हुँदैन।

दोस्रो,  खान त लोकतन्त्रले पनि दिँदैन र यो कुरा ती महान शहिदहरुलाई राम्ररी थाहा हुनु पर्ने हो, जसले लोकतन्त्रका लागि प्राण दिए। ती वीरहरुलाई पनि थाहा हुनु पर्ने हो जो 'ज्यान गए जाला' भनेर सडकमा उत्रेका थिए। हामीलाई त खानाको पिर पर्यो । उनीहरुको त ज्यानको सवाल थियो। लोक मै नरहे केको लोकतन्त्र? भनेर कोठामा बाँसुरी बजाएर बसेको भए ती शहिद भएकाहरु आज जीवित नै हुन्थे होला। तर  आज न नेताको हात कुर्सीमा हुन्थ्यो,  न बुद्धिजीवीको हातकलममा। कुर्सी र कलम, यी दुबै, ती मरेर गएका ‘उग्र’ लोकतन्त्रवादीहरुले आज जीवित 'सौम्य' लोकतन्त्रवादी नेता , बुद्धिजीवीलाई छोडेर गएको ‘उपहार’ हो। भोलिका दिनमा जब नेपाल भारतको सम्बन्ध एक अर्काप्रतिको सम्मानमा आधारित भएर अघि बढ्ने छ , त्यो सम्बन्ध अहिलेका कथित 'उग्र'  राष्ट्रवादी नेता र जनताले छोडेर गएको उपहार हुनेछ,  भोलिका 'सौम्य' राष्ट्रवादीहरुका लागि।   

जो मानिस लोकतन्त्र, विचारको स्वतन्त्रता , मानव अधिकार, विधिको शासन आदिको कुरा गर्दा महान् आदर्शवादी बन्छन्, तिनै मानिस राष्ट्रवादको कुरा आए भने खाटी ब्यवहारिक बनिदिन्छन्। क्या गज्जब ! जबकि,  लोकतन्त्र परम् सत्य र राष्ट्रवाद भ्रम होइन। यी दुवै मानिसको कल्पनाको उपज  (फिग्मेन्ट अफ ह्युमन इम्याजिनेसन ) हुन्। संक्षेपमा भन्नुपर्दा 'कथा' हुन्। मानव जातिको उदय भएको करिब ३० लाख वर्ष भयो। लोकतन्त्रको इतिहास केही शताब्दी भन्दा पुरानो छैन। लोकतन्त्र अब चीरकालसम्म निरन्तर चल्छ भनेर कसैले भन्छ भने त्यो बौद्धिक शीघ्र पतन हो। यो कहिलेसम्म चल्छ, कसैले भन्न सक्दैन। यसको ठाउँमा के आउँछ, त्यो पनि भन्न सकिन्न। पुराना कथा फेरि दोहरिँदैन भनेर पनि भन्न सकिन्न।  २१ औँ शताब्दीमा आएर पनि सबै मुलुक लोकतान्त्रिक छैनन्। लोकतन्त्रको बारेमा एउटै बुझाई पनि छैन। 

हिन्दी सिनेमाको एउटा गीत छ :

मानो तो मे गंगा मा हुँ 
नामानो तो बहता पानी।

त्यसकारण जति बेलासम्म मानिसहरुको सामूहिक विश्वास छ, लोकतन्त्र र राष्ट्रवाद (कसैले आफूमा जागेको भावनालाई राष्ट्रिय स्वाभिमान मान्लान्) दुवै समान सत्य हुन्। दुवैप्रति मानिसको भावना गाँसिएको छ। 

जनताले नेता बदल्न सक्छन्

म भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको ठूलो प्रशंसक  थिएँ। लोकसभाको चुनाव अघि उनले एउटा टिभी च्यानलमा दिएको अन्तर्वार्ता सँधै सम्झन्छु । पररास्ट्र नीतिको बारेमा उनले भनेको कुराले मन छोएको थियो :
 
न आँख दिखाके बात करेंगे
न आँख झुकाके बात करेंगे
हम दुनियाँ से आँख मे आँख मिलाके बात करेंगे

जुन दिन नेपाल र भारतका नेताहरु एउटा असल मित्रझै एक अर्काको आँखामा आँखा मिलाएर कुरा गर्नेछन्, त्यो दिन नेपाल भारत सम्बन्धको अलौकिक युगको सुरुवात हुनेछ। मलाई लाग्छ त्यस युगको प्रारम्भको उद्घोष भैसकेको छ। तराजुको एकातिर ५  धार्नीको ढक र अर्कोतिर १ धार्नीको ढक राखेर 'सन्तुलित'  बनाउन खोजिएको हाम्रो पररास्ट्र नीतिलाई समय अनुरुप सन्तुलित बनाउनेतर्फ पनि देश अगाडि बढिसकेको छ। कम से कम एक शीर्ष नेता र उनको पार्टीले त्यस युगतर्फ आफ्नो पाइला चाली  सकेको छ। लम्पसारवादविरुद्ध आफ्नो हात उठाइसकेको छ। बाँकी नेताले पनि त्यस तर्फ आफ्नो पाइला बढाउने छन् भन्ने विश्वाश छ। नबढाई शायद सुख पनि छैन। लम्पसारबाद बिरुद्द एउटा ठुलो जनमत त पहिलेदेखि नै थियो। तर पहिले सबै दल लम्पसार पर्थे। त्यसकारण त्यो जनमत 'भोट बैंक' मा परिणत हुन सकेको थिएन।  तर अहिले स्थिति त्यस्तो छैन। यो परिवर्तित स्थितिलाई बाँकी दलले बेवास्ता गरे , मलाई लाग्छ, जनताले लम्पसार पर्न लायक स्थितिमा छोड्ने छैनन। नेताहरुलाई थाहा नै होला, आशीर्वाद थाप्नुभन्दा पहिले भोट थाप्नु पर्छ। हरुवालाई कसैले आशीर्वाद दिँदैन। नेता र जनताबीचको समीकरण एकदम सरल र स्पष्ट छ। नेताले जनता बदल्न सक्दैनन्, जनताले नेता बदल्न सक्छन्। आशा गरौँ भारतीय शासकहरुको अब हात उठ्नेछ त, आशीर्वाद दिन वा हस्तक्षेप गर्न होइन, हातमा हात मिलाउन उठ्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell