PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दसगजाका समस्या र देवनारायणको देवत्वकरण



दसगजाका समस्या र देवनारायणको देवत्वकरण

  • बालकृष्ण बस्नेत
सप्तरी तिलाठीका देवनारायण यादव रातारात नायकका रुपमा उदाए। तिलाठीस्थित दसगजा क्षेत्रमा भारतीय पक्षले बनाउदै गरेको बाँध भत्काउने क्रममा भएको झडपमा घाइते भएका देवनारायण सञ्चारमाध्यम र सामाजिक सञ्जालमा 'राष्ट्र नायक'का रुपमा प्रस्तुत भए। झडपमा घाइते भएको उनको रगताम्मे तस्बिर फेसबुक ट्वीटरमा ‘भाइरल’ भयो।
 
राष्ट्रिय स्वाभिमानका लागि युवा अभियान नामक तन्नेरीहरुको एक समूहले देवनारायण र उनीसँगै घाइते भएका दुर्गानन्द झालाई उपचारका लागि भन्दै काठमाडौं ल्यायो। र, सम्मानको कार्यक्रमसमेत आयोजना गर्‍यो।
 
अधिकांश मिडियामा उनी युद्ध जितेर आएका कमाण्डरका रुपमा प्रस्तुत भए। सम्मान कार्यक्रममा यादवले अति भावानात्मक शैलीमा 'एक मिनेट आँखा चिम्लिए तिलाठी भारत बनिसक्ने र आफू काठमाडौं रहँदाको समयमा छोराले तिलाठीको सुरक्षा गरिरहेको' चर्को राष्ट्रवादी अभिव्यक्ति दिए।
 
सिंहदरबारमा नयाँ सरकार निर्माणका लागि रस्साकस्सीसँगै राष्ट्रवादी र अराष्ट्रवादीको चर्को आरोप-प्रत्यारोप चलिरहँदा भएको तिलाठी घटना भारतविरोधी उत्ताउलो राष्ट्रवादको राग अलाप्नेहरुका लागि गतिलो खुराक बन्यो।
 
तिलाठीवासीप्रतिको सहानुभूतिभन्दा भारतसँगको आक्रोशले देवनारायणहरुको देवत्वकरण गरियो। काठमाडौंमा गरिएको देवनारायणको सम्मानमा मधेसको मायाभन्दा भारतको घृणाको गन्ध बढी फैलियो।
 
पक्कै पनि तिलाठीवासीले भारतीय ज्यादतीविरुद्ध गरेको सशक्त प्रतिकार सम्मानयोग्य छ।
 
दलहरु व्यक्तिगत स्वार्थका लागि दिल्लीमा लम्पसार परेको आरोप खेपिरहँदा दसगजामा देवनारायण र दुर्गानन्दहरु राष्ट्रिय स्वाभिमानको प्रतीकस्वरुप जंगी पिलर भएर उभिए। इतिहास सधैं बलभद्र र भक्ति थापाका खुकुरीको विरासतले मात्र धानी रहँदैन। इतिहास देवनारायण र दुर्गानन्दका काँचा बाँसका लाठी र भाटाहरुले पनि रच्नुपर्छ। नालापानी किल्लामा महिला केटाकेटीसहित अमरसिंहहरु लडेको मात्र होइन दसगजामा देवनाराणहरु महिला, केटाकेटीसहित भिडेको इतिहास पनि लेखिनुपर्छ। भारतको हेपाहा प्रवृतिविरुद्ध तिलाठीमा भएको ऐतिहासिक प्रतिकारको भौतिक र मनोवैज्ञानिक मूल्य सुनौला अक्षरले इतिहासमा दर्ज हुनुपर्छ।
 
यद्यपि, देवनारायणहरुको देवत्वकरणले मात्र समस्याको स्थायी समाधान गर्दैन। हाल राजधानीमा भइरहेको देवनारायणको सम्मान नक्कली राष्ट्रवादको अर्को नयाँ रुप नबनोस्। तिलाठी घटना पुनरावृति हुन नदिन देवनारायणहरुको रथ यात्रा र अबीर जात्रा होइन राजनीतिक नेतृत्व गम्भीर र जवाफदेही हुन जरुरी छ।
 
सीमा क्षेत्रका नेपालीले भारतीय पक्षको ज्यादती भोग्दै आएको घटना यो पहिलो होइन। र, अन्तिम हुने संकेत पनि देखिन्न। तर इतिहासमै नागरिक स्तरबाट संगठित रुपमा भारतीय ज्यादतीविरुद्ध भएको प्रतिकार सम्भवत: यो पहिलो थियो।
 
सद्भाव र संयमताको सीमा हुन्छ। त्यो सीमा नाघिएपछि प्रतिकार अवश्यम्भावी हुन्छ। भारतीय पक्षको ज्यादती चरम अवस्थामा पुग्दाको प्रतीकात्मक प्रतिकार थियो- तिलाठी झडप।
 
सवाल डुबान र ड्यामको मात्र होइन। सीमावारिका चेलीबेटी, धनसम्पत्ति, बालीनाली आदि-इत्यादि पनि सीमापारिबाट असुरक्षित छन्। सीमाक्षेत्रमा हुने अधिकांश लुटपाट, हत्या, अपहरण र डकैतीका घटना सीमापारिबाटै हुन्छ। र, त्यस्ता घटनामा संलग्नहरुको आश्रयस्थल भारतीय भूमि बन्ने गर्छ। यी र यस्तै खाले ज्यादतीको सशक्त जवाफ हो- तिलाठी भिडन्त।
 
यो एक प्रनिधिमूलक घटना मात्र हो। हरेक साल वर्षामा तराईका बस्तीहरु डुबानमा पर्नु नियमित आकस्मिकता हो। चुरे क्षेत्रमा भएको अनियन्त्रित वन फडानी, गिटी-ढुंगा र रोडा-बालुवाको अवैध उत्खनन लगायतका प्राकृतिक दोहन बाढी र डुबानका मूल कारण हुन। यद्यपि डुबानको कारण सधैं प्राकृतिक मात्रै हुने गर्दैन। भारतीय पक्षले अन्तर्राष्ट्रिय सन्धि-सम्झौता र मापदण्डविपरीत बनाएका र बनाउँदै गरेका बाँधहरु पनि मधेस डुबानका थप कारण हुन्।
 
तिलाठीको दसगजा क्षेत्रमा भएको बाँधको विवाद पनि नयाँ थिएन। बीसौं वर्षदेखिको विवाद भारतको हेपाहा प्रवृति र नेपालको निरीहपनाले गर्दा झडपमा परिणत भएको मात्र हो। राज्य जनताका समस्याप्रति जवाफदेही हुन्थ्यो यदि भने वर्षौंपहिले नै तिलाठी लगायतका दसगजाका समस्याहरु कूटनीतिक माध्यमबाट हल खोज्न सकिन्थ्यो।
 
नेपालले आफ्नो भूमि डुबानबाट बचाइदेऊ भनेर अनुनय-विनय गर्ने वा भारतसँग हच्किनुपर्ने विषय होइन यो। एउटा सार्वभौम राष्ट्रले छिमेकी राष्ट्रलाई अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड अनुसारका पूर्वाधार निर्माण गर भन्नलाई तर्सनुपर्ने केही छैन। सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका अन्तर्राष्ट्रिय मापदण्ड छन्, जुन भारतका हकमा पनि लागू हुन्छ र हुनुपर्छ।
 
यति बेला दुर्वतर्फका सरकारको गलत रवैयाको सिकार सर्वसाधारण जनता हुनुपरेको छ। दसगजामा भएको झडपले काठमाडौंमा बसेर राष्ट्रियताको अलाप राप्नेहरुलाई खुराक मिले पनि यस्ता घटनाले स्थानीयवासिन्दाको सुरक्षा खतरा बढाउँछ। घटाउँदैन।
 
सीमा क्षेत्रका तमाम समस्याको स्थायी समाधान सप्तरीले होइन सिंहदरबारले मात्र गर्न सक्छ। समाधानको सूत्र केन्द्रीय स्तरको कूटनीतिक पहलकदमी नै हो। जसको चाबी सिंहदरबार र दिल्लीसँग छ। कुनै दुई राष्ट्रबीच सीमा क्षेत्रमा हुने समस्याको समाधान स्थानीयबीचको झडपले होइन अन्तर्राष्ट्रिय मूल्य-मान्यता, सन्धि-महासन्धि र कूटनीतिक तवरले नै हुने गर्छ।
 
सरकारी अकर्मण्यताका बीच तिलाठीवासीले एक भाषाभाषी र भेषभूषाको राष्ट्रियताको साँघुरो परिभाषालाई च्यात्दै राष्ट्रियताको आयतन फराकिलो भएको पुष्टि गरेका छन्। घटनाको मुख्य सन्देश सीमामा बस्ने नेपालीको राष्ट्रियतामाथिको शंकालाई दूर गराउनु हो। घटनाले नेपालको सीमा क्षेत्रमा बस्ने फरक लबज र बोलीका बासिन्दा पनि नेपाली हुन् भन्ने गतिलो पाठ काठमाडौंलाई सिकाएको छ। त्यस्तै झडपले स्थानीय समस्यालाई पुनः एक पटक राष्ट्रियकरण गरेको छ।
 
दसगजा झडपमा तिलाठीवासीप्रति सिंगो नेपाली जनताले देखाएको ऐक्यबद्धता, सराहना र सहानुभूतिको एकमुष्ट आवाजले आन्तरिक मुद्दाहरुमा हामी पहाडी, मधेसी, जनजाति र खसक्षेत्री जे भए पनि दोस्रो राष्ट्रबाट हुने हस्तक्षेपका सवालमा भने केवल नेपाली हौं भन्ने देखाएको छ।
 
अर्कोतर्फ सप्तरी घटनाले सिंहदरबारभित्रका थुप्रै बुख्याचाहरुको मुखुण्डो उतारेर दसगजापारि पुर्‍याइदिएको छ। कथित राष्ट्रवाद र मधेसवादका आवरणहरु खुइलिएका छन्।
 
त्यसो त मधेसमा बाढीले मधेसी होइन गरिब डुब्छन्। शीतलहरले मधेसी होइन गरिब मर्छन्। सर्लाही, सप्तरी सिरहा र सुनसरीकै बासिन्दा हुन् राजेन्द्र महतो, उपेन्द्र यादव, विजय गच्छदार लगायतका नेता। तर तिनका घरमा न बाढी पस्छ न शीतलहर छिर्छ। डुब्छन् त केवल तिनै गरिबका झुपडीहरु।
 
काठमाडौं सामन्ती पहाडी र मधेसी विरोधीहरुको अखडा हो भनेर मधेसका गरिब र अशिक्षितहरुलाई घोकाउनेहरु आफू भने बर्सेनि काठमाडौंमा घरका तला थप्छन्। र, तराईको डुबान राजधानीको महलका भित्तामा झुन्ड्याइएको एलसिडी टेलिभिजनमा हेर्छन्। ‘आइ एम विथ भारत’ र वेलकम टु इन्डिया’का प्ले कार्ड छातीमा टाँसेर तराईका सहरमा उफ्रनेहरुले सीमा क्षेत्रका नेपाली बासिन्दालाई भारतीयले गरेको ज्यादती कहिल्यै देख्दैनन्।
 
मातृभाषामा शिक्षाका नारा लगाउने र सेमिनार गोष्ठी गर्ने अधिकांशका छोराछोरी महँगा अंग्रेजी स्कुलमा पढ्छन्। कतिपय भारतीय सरकारको छात्रवृतिमा दसगजापारिकै भूमिमा पढ्छन्। भारतीय शिक्षाले दीक्षित भएकाहरु 'भारत एक असल छिमेकी राष्ट्र हो' भन्नेबाहेक अरु सिक्दैनन्।
 
कोसी–गण्डकीहरु सप्तरीले होइन सिंहदरबारले बेच्छ। तर त्यसबाट हुने क्षति दसगजा वरपरका सोझा नेपालीले बेहोर्छन्। तिलाठी घटना यी तमाम ज्यादतीहरुको क्रमभंगताका लागि नागरिकस्तरबाट भएको प्रतिकात्मक सन्देशका रुपमा बुझिनुपर्छ।
 
मधेस डुब्दा मधेसका नेताहरु काठमाडौंको ककटेलमा मस्त थिए। सहमतीय सरकारका नाममा मन्त्रालयको दलाली गर्नमै बेफुर्सदिला थिए। कोही ओली सरकार ढलेको खुसीयालीमा दिल्लीले गरेको दीप प्रज्ज्वलन निभ्न नदिन घिउ थप्नमा व्यस्त रहे।
 
मधेसवादी मसिहा ठानिएका एकथरी मठाधीशहरु रोटीबेटीको सम्बन्धको भजन अलाप्नमै अभ्यस्त रहन्छन्। भारतले पञ्चेश्वर, गण्डक, कोसी, खुर्दलोटन, मर्चवार, लक्ष्मणपुर जस्ता बाँध र मापदण्डविपरीत दसगजा क्षेत्रमा बनाउँदै गरेको हाइवे ड्याम तिनका चासोको मुद्दा कहिले बनेनन्। सुस्ता, महेशपुर, कालापानी र टनकपुरमा राष्ट्र लुटिँदा तिनलाई कहिल्यै दुखेन। तर, हेक्का रहोस्, रोटीबेटीको सम्बन्धलाई स्थायी, समधुर र जीवन्त राख्ने हो भने दुई देशबीच समानान्तर र सम्मानजनक सम्बन्ध आवश्यक छ। मालिक र दास प्रवृत्तिले एक्काइसौं शताब्दीमा रोटीबेटीको लिगेसी धानिरहन सक्दैन।
 
'जोगी बन्न राजनीति गरेका होइनौं' भन्दै यति बेला मधसी मोर्चाले तीन बुँदे सहमतीसहित पुष्मकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। मधेसमा आन्दोलनको उभार ल्याउन नागरिकको टाउकाको मूल्य ५० लाख तोक्ने मधेसी नेताहरुलाई यति बेला मधेसमा बाढीका कारण ज्यान गुमाएका र घरबारविहीन भएकाहरुको मूल्य कौडीजत्ति पनि लाग्दैन।
 
सात महिने बन्द, चार महिने नाकाबन्दी, ५० भन्दा बढीको मृत्यु र अर्बौंको क्षतिसहितको मधेस आन्दोलन यति बेला तीन बुँदे सहमतिसँगै सत्ता साझेदारीमा गएर टुंगिएको छ। लाग्छ, मधेसका जनता मधेसी दलका लागि आन्दोलनमा प्रयोग हुने यन्त्रमानव हुन्।
 
आन्दोलनका नाममा महिनौंसम्म नाकाबन्दीको नेतृत्व गर्नेहरु सोही ठाउँमा मधेसका जनता डुब्दा र पिटिँदा अधिकांश नेता गुमनाम रहे। तिनले पीडितका बस्तीमा स्थलगत अनुगमनत दूरको बात सहानुभूतिका दुई शब्दसमेत खर्चन आवश्यक ठानेनन्।
 
चर्को आलोचनापछि घटनास्थल पुगेका नेता राजेन्द्र महतोले घटनालाई अतिरञ्जित र उत्तेजित पार्ने दुष्प्रयास गरे। महतो घटनालाई सरकारको षड्यन्त्र भन्न पनि पछि परेनन्।
 
मधेसमा सबैभन्दा बढी मत पाएका नेपाली कांग्रेस र एमालेलाई पनि दसगजाका समस्याले कहिल्यै छुँदैन। सिंहदरबारमा बसेर छिमेकीले छौंडा खेलाएको देख्नेहरु दसगजामा भारतीयले नेपालीको टाउकामा लौरा खेलाएको देख्दैनन्।
 
'मधेससँग लभ परेको छ' भन्दै रोल्पाबाट मधेस झरेका ‘प्रचण्ड’ भर्खरै नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्। उनलाई प्रधानमन्त्री बन्ने हैसियत मधेस (सिरहावासी) को मतले दिएको हो। तर, उनी आफू निर्वाचित जिल्ला (सिरहा) नजिक यति ठूलो राष्ट्रिय महत्वको घटना हुँदा पनि प्रतिक्रियाविहीन रहे।
 
मधेसकै राजनीतिबाट प्रधानमन्त्री बनेका माधव नेपाल र स्व. गिरिजाप्रसाद कोइराला लगायतले दसगजा सीमाका समस्या समाधानका लागि कुनै उपलब्धिमूलक काम गरेनन् न त मधेसबाटै पटक-पटक मन्त्री हुने अन्य कुनै नेताले नै सीमामा भएका समस्या समाधानमा सिन्को भाँच्न सके।
 
मधेसबाटै निर्वाचित भएर आधा दर्जनभन्दा बढी पटक भौतिक योजना तथा निर्माण मन्त्री बनेका विजयकुमार गच्छदारले मधेसका हितमा के कति पूर्वाधार निर्माण गर्न सके? त्यस्तै, मधेसबाटै राजनीति गर्ने उपेन्द्र यादव परराष्ट्रमन्त्री हुँदा दसगजाका समस्या समाधानका लागि के कस्ता कूटनीतिक पहल भए? यी यावत् प्रश्नहरुको जवाफ अब मधेसले खोज्नुपर्छ।
 
मधेस मुद्दाका जानकार भनिएका बुद्धिजीवी भनिनेहरुको बौद्धिक मापदण्डभित्र दसगजामा लुटिएको नेपाली भूमि र कुटिएका नेपालीका पीडाहरु किन अटाउँदैनन्? तिनका बौद्धिकताको उच्चतम बिन्दु काठमाडौंलाई धारेहात लगाउनु मात्र हुँदैनथ्यो यदि भने किन मौन रहे सप्तरी घटनामा? मधेसका मसिना मुद्दाहरुमा समेत खरो रुपमा उत्रने मधेसी बुद्धिजीवीहरुको सप्तरी घटनामा तटस्थता केका लागि?
 
कसैलाई लाग्न सक्छ, तिलाठी घटना गाउँले–गाँउलेबीचको झडप हो। यो राष्ट्रका लागि होइन आफ्नो बालीनाली र बस्ती डुबेको आक्रोश मात्र हो। कसैलाई लाग्ला, देवनारायणहरु कुनै दलका कार्यकर्ता हुन्। र, पनि तिलाठीवासीले बगाएको रगतको मनोवैज्ञानिक मूल्य खोजिनुपर्छ।
 
अन्त्यमा, देवनारायणहरुको सम्मान आवश्यक छ। तर, व्यक्तिको देवत्वकरणले दसगजाका समस्या हल गर्दैन। न त कुनै दलका भातृ संगठनले केही क्षण गएर दसगजामा लालझन्डा बोकेर गरिने मार्चपासले समस्याको निदान गर्छ। तिलाठी घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कूटनीतिक पहलकदमी नै एकमात्र उपाय हो। जसका निम्ति राजनीतिक इच्छाशक्ति र साहस आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell