PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

बालुवाटार प्रवेश गरेलगत्तै विदाइको कार्यक्रम : प्रम प्रचण्डले गरे क्रिकेट टोलीलाई बाईबाई



गोविन्दराज नेपाल

बालुवाटार प्रवेश गरेलगत्तै विदाइको कार्यक्रम : प्रम प्रचण्डले गरे क्रिकेट टोलीलाई बाईबाई

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका छन्। 

प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहबीच खेलाडी तथा प्रशिक्षकलाई बिदाई गरेका हुन्।  दोस्रो पटक प्रधानमन्त्री बनेपछि शुक्रबारै लाजिम्पाटबाट बालुवाटार सरेका प्रचण्डले पहिलो काम राष्ट्रिय क्रिकेट टोलीलाई बिदाईबाट गरेका छन्।
 
नेपाली क्रिकेट टोली विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँग हुने खेलका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ।
च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपालले यही साउन २९ र ३१ गते नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। 

प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई बिदाई गरिसकेपछि बालुवाटार प्रवेश गरे बित्तिकै क्रिकेट खेलाडीलाई बिदाई गर्नु संयोग भएको बताए। 

नेपाललाई राजनीतिले त्यति धेरै एकताबद्ध गर्न नसकेको अवस्थामा खेलकुदले देशलाई जोड्ने काम गरेको प्रचण्डले बताए। 'राजनीतिले देशको कमाण्ड सम्हाल्छ तर खेलकुद र संस्कृतिले देश विकासमा रणनीतिक भूमिका खेलेको हुन्छ', उनले भने।

प्रचण्डले शान्ति प्रक्रियापछि नै आफूले खेलकुदलाई छुट्टै रुपमा अगाडि बढाउन खोजेको स्मरण गर्दै अहिले क्रिकेटमा देखिएको समस्या र विदादलाई समाधान गरेर अगाडि बढ्न आफूले पूरै पहल गर्ने विश्वाससमेत व्यक्त गरेका थिए। 

उनले नेदरल्याण्ड्स खेल्न जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै उताबाट फर्केपछि आफूले फेरि भेट्ने वाचासमेत गरे।

यस्तै क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटलाई थप उचाईमा पुर्‍याउन आफूहरु सक्दो मेहनत गर्ने बताए।

'नेपाली क्रिकेटको विश्वसामु छुट्टै पहिचान छ, तर हाम्रोमा अझै धेरै सुधार गर्न बाँकी छ। यसका बाबजुद पनि हामी नेपालको नाम उच्च राख्न प्रयास गर्नेछौँ', पारसले भने

यस्तै नवनियुक्त युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले नेपाली क्रिकेटले राष्ट्रको पहिचान र गौरव बढाउने काम गरेको भन्दै आगामी दिनमा यसलाई विकास गर्न अगाडि बढाउन सक्दो प्रयास गर्ने बताए।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell