PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नर्भिक हस्पिटल पुगेर प्रधानमन्त्री निवास बालुवाटार छिर्दा



गोविन्दराज नेपाल

नर्भिक हस्पिटल पुगेर प्रधानमन्त्री निवास बालुवाटार छिर्दा

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँग खेल्न जाने तयारीमा थियो नेपाली टोली। टोलीको बिदाई नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको थियो।
 
क्रिकेट टोलीको बिदाईबारे रिपोर्टिङका लागि शुक्रबार अपराह्न म बालुवाटार लागेँ। त्यस बेला म दोस्रो पटक प्रधानमन्त्री निवास छिर्दै थिएँ भने निवासकै बैठककक्षमा भने पहिलो पटक।
 
त्यहाँबाट फर्कंदा न्युज एंगलबारे सोचिरहेको थिएँ। एउटा सामान्य समाचार बनाएर अफिसबाट कोठातर्फ लागे।
 
क्यानको निलम्बन, प्रधानमन्त्रीबाट क्रिकेट टोलीको बिदाई अनि बालुवाटारको दृश्यबारे ब्लग लेख्ने विचार पनि फुर्न थाल्यो।

***
अघिल्लो दिन फेसबुकमा मामाले लेखेको स्टाटस देखेपछि मलाई छटपटी भएको थियो। किनकि उहाँको शल्यक्रिया हुँदै थियो भोलिपल्ट शुक्रबार। कोठाबाटै मामाको छोरो भाइलाई फोन गरेँ। ऊ नर्भिक हस्पिटलमै रहेछ। मामाको स्वास्थ्य अवस्थाबारे बुझ्दै शल्यक्रियाको समयबारे जानकारी लिएँ। बिहान ७ बजेका लागि डाक्टरहरुले समय तय गरिसकेका रहेछन्। भेट्नका लागि म ६ बजे बिहानै पुग्नुपर्थ्यो।
 
बिहान ५ बजेको अलार्म लगाएर सुतेँ। सुतेँ के भन्नु, आँखा चिम्लिएको थियो तर निँद भने गायब।
 
बिहान भाइसँगै म पनि उठेँ, ऊ कलेज जाने तयारीमा थियो म हतारमा हिँडिहालेँ।
 
पौने ६ बजेतिर म हस्पिटल पुगेँ।
 
हावासरि म नर्भिक हस्पिटलको सातौं तलामा पुगेँ। जतिसक्दो चाँडो मामालाई भेट्नु थियो। तर मलाई रोकियो। ६ बजेअघि भेट्न नदिइने जानकारी पाएपछि प्रतीक्षा गर्दै बसिरहेँ। दुई-चार मिनेट कुर्नु पनि मेरो लागि त्यस बेला घन्टौंको कुराइ जस्तो भइरहेको थियो।
 
६ बज्नासाथ म पुगेँ बेड नम्बर ७०६ मा। त्यहीँ हुनुहुन्थ्यो मामा।
 
उहाँसँग भेट भयो। केही बेर कुराकानी गरेँ। पौने ७ बजे उहाँलाई अप्रेसन थिएटर छिराइयो। भाइ मात्र भएकाले उहाँलाई निकालेपछि मात्रै जाने विचार गरेर बसिरहेँ।

झन्डै ८ बजेमात्र उहाँको शल्यक्रिया सम्पन्न भयो।
 
उपचार सकिएपछि म निस्किएँ। अफिसतिर लागेँ र रियो ओलम्पिकको समाचार तयार गर्न थालेँ।
 
पुरुष फुटबलतर्फको पहिलो चरणका खेल सकिएका थिए। मेल चेक गरेँ। क्रिकेट टोली शनिबार नेदरल्याण्ड्स जाने कुरा थियो। त्यसैले बिदाई त पक्कै होला भन्ने अनुमान थियो। नभन्दै मेरो अनुमान ठिक साबित भयो। मेलमा क्रिकेट टोलीको बिदाईको जानकारी थियो।
 
यसअघि क्यान निलम्बनमा परेपछि टोलीले बिदाई कसले कहाँ गर्ने निश्चित थिएन। मेलमा भने प्रधानमन्त्रीले बिदाई गर्ने उल्लेख थियो, बेलुका ५ बजे बालुवाटारमा।
 
५ बजेको कार्यक्रम भ्याउने गरी मेरो सहकर्मी फोटो पत्रकार इलिट जोशीसँगै चाँडै नै  बालुवाटार हुइँकिएँ।

***
४ बज्नुअघि नै हामी प्रधानमन्त्री निवासको २ नम्बर गेटबाट भित्र छिरिसकेका थियौं। तर भित्र चहलपहल थिएन। क्यान्टिनमा केही बेर बसेर हामी ३ नम्बर गेट पुग्दा प्रधानमन्त्री आउने तयारीबारे जानकारी पाइयो।
 
करिब १०/१२ जना सञ्चारकर्मी र प्रधानमन्त्रीलाई स्वागत गर्न हातमा फूलमाला लिएर बसेका करिब २५/३० जना अरु उपस्थित थिए। ४ बजेर ५ मिनेट जाँदा प्रधानमन्त्रीको बालुवाटार प्रवेश भयो। सँगै उनका परिवारको पनि सहभागिता थियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले निवासको साँचो प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई हस्तानतरण गरे।
 
त्यसपछि उपस्थित सबैसँग हात मिलाउँदै उनी निवासभित्र छिरे।
 
यसक्रममा प्रचण्डले उपस्थित केही महिलालाई 'तपाईंहरु त पहिला पनि हुनुहुन्थ्यो' भनेर सोधेका थिए। किनकि बालुवाटार प्रवेश यो उनको दोस्रो पटक थियो।
 
८ वर्ष अगाडि उनी पहिलो पटक प्रधानमन्त्री बन्दा निवासमा रहेका अधिकांश कर्मचारी अहिले पनि रहेछन्।
 
यसअघि पूजाआजा गरेर प्रम निवास भित्रिने चलन रहे पनि दोस्रो पटक छिर्दा विशेष तामझाम देखिएन।
 
हामी निवासकै बाहिरपट्टि रहेको सानो कक्षमा गएर बस्यौं। त्यहाँ चिया-बिस्कुट उपलब्ध भयो सबैका लागि।
 
५ बजे नेदरल्याण्ड्स जाने नेपाली क्रिकेट टोली आउँदै थियो। मलाई प्रम आएको भन्दा पनि क्रिकेट टोलीको बिदाई कार्यक्रम महत्वपूर्ण थियो। त्यसैले त्यसप्रति सजग थिए। कसरी समाचार तयार पार्ने? प्रचण्डले बिदाईमा खेलाडीलाई के भन्लान्? क्रिकेटमाथि उनको बुझाइ कस्तो छ? आदिइत्यादि।
 
टोली आएपछि खेलाडी, प्रशिक्षक सबै निवासभित्रको बैठककोठामा प्रवेश गरे। यसै क्रममा ढोका नजिकै पुग्दा मलाई केही व्यक्तिले (मर्यादापालक) ले 'तपाईं किन?' भनेर प्रश्न गरे। मैले आफू सञ्चारकर्मी भएको जानकारी गराएपछि मात्रै उनले केही बेरमा भित्र जान अनुमति दिए।
 
यसअघि फोटोमा मात्र देख्दै आएको उक्त हलमा म पहिलो पटक छिर्दै थिएँ। यसअघि त्यहाँ राजनीतिक दलका उच्च नेताहरुको बैठक हुन्थ्यो। तर यस पटक क्रिकेट खेलाडी, प्रधानमन्त्री, अन्य केही व्यक्ति र सञ्चारकर्मीको उपस्थित थियो।
 
फोटो खिचेपछि केही बेरमै सबैलाई बाहिर आउन भनियो तर कोही सञ्चारकर्मीहरुले अरु दृश्य र जानकारीका लागि आग्रह गरे। प्रमले खेलाडीलाई बिदाई गरेको, उनको बिदाई सन्देश र क्रिकेट कप्तान पारस खड्काको भनाइको प्रतीक्षा थियो हामीमा।
 
बाध्य भएर हामीलाई केही समय छुट्याइयो। सायद यसअघि राजनीतिक बैठकहरु हुँदा सञ्चारकर्मीलाई भित्र छिर्नेबित्तिकै निकाल्ने गरेकाले होला, हामीलाई पनि त्यसै गर्न खोजियो। तर हामीले केही बेर पर्खाएर पनि सबै सूचना, फोटो लिन सफल भयौं।
 
पारसले दोस्रो पटक प्रम बनेका प्रचण्डलाई खादा लगाइदिएर स्वागत गरे। नेपाली क्रिकेटको अवस्था र नेदरल्याण्ड्स टुरबारे संक्षिप्तमा बोले। प्रचण्डले पनि सबै खेलाडीहरुलाई खादा लगाएर बिदाई गरे। 'देशको कमाण्ड राजनीतिले गर्ने भए पनि खेलकुद र संस्कृतिले रणनीतिक रुपमा देशको नेतृत्व गर्ने' उनले बताए।
 
बाहिर निस्केपछि टोलीसँगै प्रचण्ड, उनकी पत्नी लगायतको सामूहिक फोटो खिच्ने कार्यक्रम सम्पन्न भयो। हामीले पनि आफ्नो स्थलगत जिम्मेवारी सकिइसकेका थियौं।
 
जानुअघि उत्साही म फर्कने बेला अलि खिन्न भएँ। त्यहाँ सञ्चारकर्मीप्रति गरिएको व्यवहार व्यवस्थित थिएन।
 
सोच्दै फर्किएँ- कहिले सुध्रिएला प्रम निवासका कर्मचारीका व्यवहार?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell