काठमाडौं : केही वर्षअघि नेपाल टेलिभिजनमा 'पुष्पाञ्जली' नामक टेलीसिरियल प्रसारण हुन्थ्यो। त्यसमा राज नामका पात्र थिए। जसलाई खराब आचरण भएको व्यक्तिको रुपमा देखाइयो। उनी अरुलाई पीडा दिन्थे र सताउँथे। महिला पात्रलाई बढी दु:ख दिन्थे। दुर्व्यवहार गर्थे।
यो सब उनको रिल रोल थियो। कथाले मागेको। यथार्थमा उनको जीवनमा नमिठो कथा लेखियो। उनले बिर्सन नसक्ने कथा।
उनी कार्यक्रमको लागि गाउँगाउँमा जाँदा महिला दिदीबहिनीहरु उनीसँग डराए। बोल्न, कुरा गर्न त परको कुरा नजिक पर्न पनि।
यो त रमेश बुढाथोकीको रिल लाइफले रियल लाइफमा पारेको असरको एउटा उदाहरण मात्र हो। उनलाई कलाकार कम गुण्डाको रुपमा चिन्नेहरु बढी थिए।
बुढाथोकीको जीवनमा त्यस्तो घटना हुनु पनि स्वाभाविक थियो। किनकि उनी नेपाली रङ्गमञ्चको ठूलो/सानो पर्दाका 'भिलेन' (खलनायक) नै थिए। जसको काम हुन्थ्यो, गरिब, दु:खीको शोषण गर्नु। महिलामाथि यौन दुर्व्यवहार गर्नु। अरुलाई गुण्डा लगाएर पिट्नु।
बुढाथोकी मात्र होइन पहिले पर्दामा देखिने सबै भिलेनहरु डरलाग्दा हुन्थे। हातभरि सुन, चाँदी र तामाजस्ता धातुका गहना लगाएका। मोटा पाखुरा र अग्लो कद। उनीहरुलाई प्रस्तुत गर्ने दायरा पनि साघुँरो थियो। मान्छेले हेर्दा चिटिक्क परेको, दाह्रीजुँगा सफाचट पारेको, सिधा देखिने मान्छे हिरो हुन्थ्यो भने डरलाग्दो, दाह्रीजुँगा र कपाल कि झ्याप्प पालेको कि पूरै चिण्डे बनाएको र कानमा कुण्डल लगाएको चाहिँ गुण्डाको रुपमा देखाइन्थ्यो।
केही समययता दाह्री, कपाल पालेकाहरु हिरो र चिटिक्क परेकाहरु भिलेन हुन थालेका छन्। सबैभन्दा महत्वपूर्ण कुरा त फिल्म र टेलिफिल्महरुमा पहिले गुण्डाको बाहिरी व्यवहार, हर्कत प्रस्तुत गरिन्थ्यो। अहिले उनीहरुको मनोविज्ञानलाई फोकस गरिन्छ।
'खराब पात्र समाजमा पौराणिक कालदेखि नै थिए। अहिले हाम्रो युगमा पनि छन्,' कलाकार बुढाथोकीको अनुभव छ, 'पर्दामा पनि भएकै पात्रलाई देखाउने हो। फरक के भएको छ भने हिजो मान्छेले देखेको खालको, देखिने गरी अरुको हानि नोक्सानी गर्नेलाई भिलेनको रुपमा प्रस्तुत गरिन्थ्यो। अहिले नसोचेकाहरु पनि भित्र खराब हुन्छन् है भन्ने हिसाबले प्रस्तुत गरिन्छ।'
पहिले पर्दामा मान्छेको मनोविज्ञान नभएर समाज र सोचको सतही नतिजा उतारिन्थ्यो तर अहिले मान्छेले भित्र के सोच्छ र कसरी त्यसलाई व्यवहारमा उतार्छ भन्ने कुरा देखाइन्छ। उनी भन्छन्, 'त्यही बाठो भएका भिलेनहरुको मनोविज्ञानमा ध्यान दिएर हो उनीहरुलाई प्रस्तुत गर्ने शैली फेरिएको।'
फरक ढङ्गबाट प्रस्तुत हुन थालेका भिलेनबारे कुरा गर्दा, छड्के, पशुपतिप्रसाद जस्ता नयाँ धारको फिल्ममा नकारात्मक भूमिका निर्वाह गरेका कलाकार विपीन कार्की भन्छन्, 'पर्दामा देखिनेले सकारात्मक, नकारात्मक दुवै भूमिका निभाउनुपर्छ। त्यसैले म आफूलाई हिरो वा भिलेन भन्दिन। म कलाकार हुँ।'
उनलाई लाग्छ, जे घटना समाजमा हुन्छन् त्यही पर्दामा उतार्ने हो। त्यसैले कथाले माग्दा जस्तो रुपमा पनि प्रस्तुत हुनुपर्छ।
कलाकार कार्कीलाई उनको नेगेटिभ रोलले खुब चर्चामा ल्यायो। लामो कपाल, दाह्री, हट्टाकट्टा ज्यानबिना नै उनी भिलेनको रुपमा प्रस्तुत भए। तर पनि दर्शकले उनलाई विपीन कार्कीभन्दा बढी पशुपतिप्रसादको भिलेन भष्मेको रुपमा चिन्छन्। 'आफैंलाई प्रस्तुत गर्ने फरक शैली भयो भने कलाकारलाई उसले निर्वाह गर्ने भूमिकाले केही असर गर्दैन,' उनको बुझाइ छ। अहिलेसम्म देखिएका 'लुट', 'छड्के', 'आचार्य', 'सुन्तली', 'पशुपतिप्रसाद', 'कालो पोथी' जस्ता फिल्ममा उनी फरक रुपमा देखिए।
कार्की पहिलेदेखि नै फिल्म र नाटकको राम्रो दर्शक थिए। राम्रो दर्शक बन्न सकेकाले नै उनलाई हिरो वा भिलेनभन्दा बढी कलाकारिताले फिल्म क्षेत्रमा तान्यो।
'पहिलेदेखि जे हेरियो हामीले पनि त्यही देखायौं भने फरकपन केही हुँदैन। अघिल्लो पुस्ताले जे गरे। हामीले किन त्यही गर्नु?' उनी प्रश्न गर्छन्।
ठूलो पर्दाका दुई फिल्म 'माला' र 'के म तिम्रो होइन र?' मा भिलेनका रुपमा प्रस्तुत भएका अर्का कलाकार प्रज्ज्वल सुजल गिरी भन्छन्, 'पहिलो पटक मालाको स्क्रिप्ट पढ्दा त अचम्म लागेको थियो, क्युट अनुहार भएको मान्छे पनि गुण्डा बन्न सक्छ र? भनेर। तर देखिनेभन्दा पनि निभाउनुपर्ने चरित्रलाई आफूले कसरी बुझ्न सकिन्छ भन्ने रहेछ।'
उनलाई सानोमा भिलेन देख्दा त रिस उठ्थ्यो। तर अहिले कलाकारितालाई बुझेपछि उनी आफैं भिलेन बनेका छन्।
उनले सानोमा देखेका थिए, गुण्डाले हिरोलाई कुटेको। त्यसैले कति पटक रिस उठेकालाई कुट्न आफू भिलेन बने र साथीलाई हिरो बनाए। भन्छन्, 'अहिले बल्ल थाहा हुँदैछ, फिल्ममा भिलेनको काम मान्छे कुट्ने मात्र नहुँदो रहेछ।'
गिरीलाई लाग्छ, भिलेन प्रस्तुत गर्ने शैली भिन्न हुनु दर्शकको माग हो। उनीहरुले सधैं आवरण हेर्दा डरलाग्दो भिलेन हुन्छन् भन्ने पत्याउन छोडिसके।
नेपाली सिने जगतका 'राते काइँला' उर्फ सुनील थापाका लागि भने भिलेन बन्नु ‘लाल मोहर’ भयो। भिलेनको आवरण प्रस्तुतिबारे उनको फरक धारणा छ। उनको विचारमा आवरणले पनि कला क्षेत्रमा भिन्नै महत्व राख्छ। आवरणकै कारण आजसम्म पनि उनलाई 'भयानक गुण्डा' भनेर चिन्नेको जमात ठूलो छ।
'चिनो' फिल्मले राते काइँला बनाएको थापालाई एउटा कुरामा चाहिँ साह्रै चित्त बुझेन। केही आमाहरुले उनीहरुको बच्चालाई तर्साएर खुवाउन, सुताउन उनको नामको प्रयोग गरे। उनी भन्थे, 'किन मदेखि डराउने बनाउनुहुन्छ?'
तर उनलाई लाग्छ, अबचाहिँ दर्शक फिल्मी भिलेन देख्दा डराउँदैनन् बरु हाँस्छन्। पर्दाको पात्र पर्दामै सीमित हुन्छन्। भन्छन्, 'आवश्यक छैन रिलमा देखिने रुपले रियलमा असर गर्छ भन्ने।'
उनको हकमा फरक धारको नाममा हिरोलाई गुण्डा जस्तो र गुण्डालाई हिरो जस्तो देखाउनु भनेको फिल्मी मौलिकता हराउनु हो। एक-दुई वटा फिल्म चलिरहेको भन्दा फरक बन्नु भनेको परिवर्तन हुनु होइन। केही नयाँपन भित्रिए पनि सबै कुरा परिवर्तन हुन सम्भव छैन। थापाले भने, 'धेरै पढेर धेरै सिकेका छौं भन्नेहरुले फिल्मको हरेक कुरामा परिवर्तन गर्छु भन्नु हाँसोउठ्दो लाग्छ।'
पहिले आवरणले फिल्मको भिलेनको परिचय गराउँथ्यो। अहिले कथाले चिनाउँदै लान्छ। शैली केही फरक भएको छ तर पहिले र अहिलेको दुवै धारका भिलेन षड्यन्त्रकै वरिपरि घुमिरहेका छन्।
(यहाँ प्रयोग गरिएका फोटो artistnepal.com, rnepal.com र कलाकारका फेसबुकबाट लिइएको हो)