PahiloPost

May 15, 2024 | २ जेठ २०८१

​ओलम्पिकमा नेपाल : आज हिट वानको लेन नम्बर ४ मा प्रतिस्पर्धा गर्दै गौरिका सि‌ंह



गोविन्दराज नेपाल

​ओलम्पिकमा नेपाल : आज हिट वानको लेन नम्बर ४ मा प्रतिस्पर्धा गर्दै गौरिका सि‌ंह

काठमाडौँ : रियो ओलम्पिक अन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्। त्यसो त खेल सुरु नै नभई उनी विश्वका मिडियामा छाइसकेकी छिन्।  शुक्रबारबाट सुरु भएको रियो २०१६ ओलम्पिक कै सबैभन्दा कान्छी खेलाडी हुन् उनी।  

उनै गौरिकाको आज पहिलो खेल छ। ओलम्पिकको पौडी अन्तर्गत आज उनले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछिन्।
 
गौरिका हिट चरणमा हिट वानको लेन नम्बर ४ मा प्रतिस्पर्धा गदैछिन्। उनीसँगै हिट वानमा कोसोभोकी रीता जेकिरीले लेन नम्बर ३ र समाओका एभेलिना अफोएले  लेन नम्बर ५ मा प्रतिस्पर्धा गर्नेछिन्।

रियो ओलम्पिकको सय मिटर ब्याटस्ट्रोकको प्रतिस्पर्धा पाँच वटा हिटमा हुँदैछ। तर गौरिकाले प्रतिस्पर्धा गर्ने हिटमा ३ खेलाडी मात्र छन् भने हिट २ मा ७ तथा हिट ३, ४ र ५ मा ८-८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
 
हिट चरणमा प्रतिस्पर्धा गर्ने कूल ३४ खेलाडी मध्ये उत्कृष्ट प्रदर्शन गर्ने १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन्।

गौरिकाको प्रतिस्पर्धा नेपाली समयअनुसार आइतबार बेलुकी ९ः४७ बजे ओलम्पिक अक्वेटिक्स स्टेडियमको स्विमिङ पुलमा सुरु हुनेछ।
 
प्रतिस्पर्धाको दिन १३ वर्ष २५५ दिन उमेर हुने गौरिका रियोमा खेल्न जम्मा भएका करिब ११ हजार खेलाडी मध्ये सबैभन्दा कान्छी खेलाडी हुन्।

२ वर्षको उमेर देखि लण्डनमा बस्दै आएकी गौरिकाले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा रजतसहित चार पदक जितेकी थिइन्। 

त्यसपछि लण्डनमै प्रशिक्षणरत गौरिका आफ्ना बुबा पारस सिंहसँगै ब्राजिलको रियो दि जेनेरियो पुगेकी हुन्।  

केही दिनअघि रियोको पौडी पोखरीमा प्रवेश गर्न खोज्दा गौरिकालाई सेक्युरिटीले रोक्दै भनेका थिए, 'माफ गर्नुहोला खेलाडीलाई मात्र।' तर गौरिकाले आफ्नो एक्रेडिसन कार्ड देखाएपछि मात्र उनलाई पौडी पोखरीमा जाने अनुमति  प्राप्त भएको थियो। (फोटो साभार  Joe Armao)

 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell