PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

महादान अभियानको घोषणा गर्दै महावीर पुनले भने- 'जनता साथमा छन्, सरकारको आशा छैन'



स्वेच्छा राउत

महादान अभियानको घोषणा गर्दै महावीर पुनले भने- 'जनता साथमा छन्, सरकारको आशा छैन'

काठमाडौं : सामाजिक अभियन्ता तथा 'राष्ट्रिय अनुसन्धान केन्द्र' स्थापनाका लागि सक्रिय महावीर पुनले आफूलाई जनताको पूर्ण साथ रहेकाले अब सरकारको आशा नरहेको स्पष्ट पारेका छन्।
 
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले चार वर्षदेखि सरकारसँग अनुसन्धान केन्द्रका लागि सहयोग माग्दै आए पनि आश्वासनबाहेक केही नमिलेको बताए। 'मलाई विज्ञान मन्त्रालयले पाँच करोडजति सहयोग गर्छौं निवेदन दिनुस् भनेको थियो,' पुनले भने, 'तर त्यति पैसा त म आफैं पनि जम्मा गर्ने हिम्मत राख्छु। त्यसले पुग्दैन।'
 
राष्ट्रिय आविष्कार केन्द्र र केन्द्रको १० मेगावाट हाइड्रो पावरको योजनाबारे जनमानसमा केही भ्रम रहेकाले पनि पत्रकार सम्मेलन गर्नुपरेको उनको भनाइ छ।

'मैले केही स्पष्ट पार्नकै लागि तपाईंहरुलाई बोलाएको हुँ,' उनले भने, 'यसअघि राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट कुनै पनि यस्तो कार्यक्रम भएको थिएन।'
 
उनले अनुसन्धान केन्द्र स्थापनाको उद्देश्य, योजना र केन्द्रको दर्ता प्रक्रियाका विषयमा जानकारी गराए। 'अनुसन्धानका लागि हामीले नै पैसा सिर्जना गर्ने हो। त्यसैका लागि हाइड्रो पावरको अवधारणा चार वर्षअघि पेश गरेको हुँ,' उनले प्रस्ट्याए, 'सरकारले बेवास्ता गरेकाले नै जनताको साथ खोजेको हुँ।'
 
उनले आफूसँगै बोकेर ल्याएको लालपुर्जा देखाउँदै 'जग्गा बेचेर पनि केन्द्रमा लगानी गर्ने आँट भएको' बताए।
 
उनले साउन १६ गते फेसबुकमार्फत लालपुर्जा सार्वजनिक गर्दै आफ्नो नाममा रहेको २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई दान दिएको उल्लेख गरेका थिए।
     
उनले असार २८ गतेबाट सरकारसँग सहयोग नमाग्ने र आफू जनताका साथमा अघि बढ्ने यसअघि नै घोषणा गरिसकेका छन्।
 
आजैबाट केन्द्र स्थापनाका लागि 'महादान अभियान' सुरु भएको समेत उनले घोषणा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell