PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'हरियो साउन'मा के गर्दैछन् यी कलाकार?



स्वेच्छा राउत

'हरियो साउन'मा के गर्दैछन् यी कलाकार?

काठमाडौं : साउन महिनालाई हिन्दु नारीहरु 'हरियो महिना'का रुपमा लिन्छन्। विशेष गरी साउनभर हरियो रङको पहिरन, चुरा, पोते, टीका, मेहन्दीले सजिने उनीहरु प्रत्येक सोमबार व्रत बस्छन्। भगवान शिवको पूजा-आराधनामा व्यस्त रहन्छन्।
 
बढ्दो आधुनिकतासँगै फेसन र त्यहीअनुसार शृंगार सामग्रीका डिजाइन फरक-फरक आइरहेका छन्। सँगसँगै साउनसँग जोडिने संस्कार र मान्यता पनि फेरिँदा छन्।
 
यो वर्ष पनि चेलिबेटीदेखि सेलिब्रिटीसम्मका नेपाली नारीहरु साउनमा खुसी साटिरहेका छन्। कतिपय साउनभर 'हरियो' भए पनि व्रत बस्दैनन् भने कतिचाहिँ सामान्य पहिरनमा रहे पनि व्रत लिने गर्छन्।

आखिर कस्तो भइरहेको छ त सेलिब्रिटीहरुको साउन? साउन महिना र व्रत, यसको धार्मिक पक्ष अनि हरियो फेसनबारे उनीहरुको बुझाइ कस्तो छ?

हामीले केही सेलिब्रिटी कलाकारसँग कुरा गरेका छौं।
 

लक्ष्मी गिरी


नेपाली सिनेमाकी कलाकार लक्ष्मी गिरी हरेक बिहान पूजा गर्छिन् र सँगसँगै धार्मिक श्लोकहरु समेत वाचन गर्छिन्। उनलाई लाग्छ, हिन्दु धर्मका श्लोकहरु वाचन गर्दा मन चंगा हुन्छ। खुसी मिल्छ। तर उनलाई यो लाग्दैन कि साउनको सोमबार पूजा गरेकैले पार्वतीले शिव पाएकी हुन्।
 
'बुढेसकाल लाग्यो साउनको व्रत यसै पनि बस्दिन तर यसको महत्व विशेष छ,' उनी भन्छिन्, 'हरियो लगाउने फेसन त पछि आएको हो। पूजा गर्ने र व्रत बस्ने त चलिआएको चलन नै हो।'

प्रकृतिको प्रतीक मानेर हरियोले सजिएकी नारीहरु देख्दा भने उनलाई रमाइलो लाग्छ।
 

दिया मास्के


साउनमा हरियो लगाउनु, व्रत बस्नु, पूजा गर्नुलाई खासै महत्व दिन्नन्, दिया। यो महिना उनी हरियो चुरा, पोते, लुगाहरुको गिफ्ट आदान-प्रदान गरे पनि व्रत भने बस्दिनन्।

'आ-आफ्नो आस्थाको कुरा हो,' उनले स्पष्ट पारिन्, 'म त्यसरी धर्मप्रति पूरा लीन भएर मान्दिनँ तर अरुको आस्थाको सम्मान गर्छु।'
 
पौराणिक मान्यतालाई पछ्याउँदै विवाहित नारीले आफ्नो पतिको दीर्घायु, सफलता र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन बस्यो।आधुनिकतासँगै हरियो रङको फेसन पनि चल्यो। दियालाई भने साउनमा मात्रै हरियो लगाउनुपर्छ भन्ने लाग्दैन।

'आफूलाई मन पर्ने र सुहाउने रङ जहिले पनि लगाए हुन्छ,' भन्छिन्, 'अरुले साउनमा हरियो लगाएर हिँडेको अनि पूजा गरेको देख्दा भने खुसी नै लाग्छ।'
 

केकी अधिकारी


अविवाहित केकीलाई साउनमा हरियो रङ विशेष लाग्छ। घरमा आमाले गर्ने पूजा- आराधनामा सानैदेखि चाख मान्दै आएकी उनलाई धार्मिक संस्कारप्रति एकखाले रुचि छ।
 
'म सधैं व्रत बस्दिनँ तर कहिलेकाहीँ बस्दा पनि त्यो आफ्नै लागि बसेकी हुन्छु,' उनले सुनाइन्, 'कहिलेकाहीँ लिइने व्रतले स्वास्थ्यलाई राम्रो गर्छ।'
 
साउनको झरी अनि चारैतिरको हरियालीले पुलकित हुने केकीलाई प्रकृतिजस्तै देखिनका लागि हरियो पहिरन लगाउन मन लाग्छ। 'नेचर फ्रेन्ड्ली देखिने भएकाले पनि साउनमा हरियो लगाउन रुचाउँछु,' उनी भन्छिन्।
 

वर्षा राउत


सानो छँदा आफूभन्दा ठूलाको लहलहैमा लागेर व्रत बसे पनि वर्षा अहिले भने व्रत बस्दिनन्। तर, मेहन्दी, चुरा र हरियो पहिरन खुब मन पर्छ उनलाई।
 
फिल्मको सुटिङमा व्यस्त रहनुपरेकाले उनले यसपालिको साउनलाई 'हरियाली' बनाउन पाएकी छैनन्।

'सुटिङको प्रेसरले गर्दा मेहेन्दी, चुरा केही लगाउनै पाएकी छैन,' खल्लो मान्दै उनले भनिन्।

(फोटो : फेसबुक पेजबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell