PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

दुई विदेशी युवक जो नेपाली गीत गाएर 'हिट' छन्, जसका भिडियोको 'हिट्स' लाखौँ हुन्छ



स्वेच्छा राउत

दुई विदेशी युवक जो नेपाली गीत गाएर 'हिट' छन्, जसका भिडियोको 'हिट्स' लाखौँ हुन्छ

एउटा अमेरिकी ठिटो, जसको मातृभाषा अङ्ग्रेजी हो तर जसलाई युट्युबमा खोज्दा उनको थुप्रै अन्तरवार्ता र गीतहरु नेपाली भाषा प्रष्ट सुनिन्छ। 
३० भन्दा बढी नेपाली गीत गाएर युट्युबमा गायकको पहिचान बनाएका ती अमेरिकी युवक हुन् पिटर म्याकडोन। उनको ‘माया मेरी माया’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘गाजलु ती ठूला ठूला आँखा’, ‘गोरेटो अनि उस्तै छ गल्ली’ जस्ता गीतहरु हजारौं पटक हेरिएको छ।


​पाश्चात्य जीवन शैलीसँगै विदेशी कला, संगीत, संस्कृतिले निकै प्रभाव पारेको नेपाली समाजमा ती युवकचाहीँ नेपाली संगीततर्फ आकर्षित हुनुको पनि कारण छ।

पिटरका बुवा १९९३ मा आइएनजिओको कामले नेपाल आएका थिए। बुवासँगै पिटर पनि ५ वर्ष नेपालै बसे। नेपाल रहँदा उनी रेडियोमा खुब धेरै नेपाली गीत सुन्थे। बसमा पनि नेपाली, हिन्दी गीत बज्दा खुब ध्यान दिएर सुन्ने उनी बताउँछन्।

यहाँ रहुन्जेल उनले नेपाली भाषा मात्र होइन, गीत-संगीत पनि सिके। घरमा आमा पनि गितार बजाउने। यसले पनि उनलाई प्रोत्साहन दियो। उनले पहिलो पटक नेपाली इसाई भजन गाएका थिए।

भजनबाट सुरु भएको उनको नेपाली गीत गाउने यात्रा अहिले युट्युबमामार्फत् लाखौंसम्म पुगेको छ। उनको प्रष्ट नेपाली भाषा, लय र गीत गाउने सुर शैलीको प्रशंसक थुप्रै देखिन्छन्।  


पिटरको नेपाली भाषा, संस्कृति, गीत संगीतमा मन बसेको त उनको गीत सुनेर र भिडियो हेरेर प्रष्ट हुन्छ। अन्तर्वार्ताहरुमा उनी भन्ने गर्छन्,'बच्चैदेखि नेपालसँग माया बसेको छ। अब छुटदैन।' 


त्यतिमात्र हैन उनको माया पनि नेपाली केटीसँग बसेको छ। उनले एक वर्ष अघि अमेरिका बस्दै आएकी अनिता महर्जनसँग विवाह गरे।

पिटर जस्तै नेपाली गीत संगीत प्रेमी छन्- एलेक्जेन्डर स्लोकोम्ब। उनी आफूलाई ‘अलेक्स नेपाली’ भनेर चिनाउन रुचाउँछन्। पहिलो पटक सन् २०१२ मा नेपाल भ्रमणका लागि आउँदा उनले नेपाली गीत गाउन सिकेका थिए। 

पहिलो पटक गायक संजय श्रेष्ठको ‘माया मेरी माया’ गाउन सिकेका उनी अहिले काठमाडौंको गल्लीगल्ली विभिन्न नेपाली गीतहरु गाउँदै हिँड्छन्। त्यसैले पनि उनी फिरन्ते गायकको रुपमा परिचित छन्।


​ उनी पिटर जस्तो नेपाली भाषानै त बोल्दैनन्, तर उनले आफ्नो वेबसाइटमा लेखेका छन्, 'मैले धेरै कुरा सिक्नु थियो जुन नेपालले मलाई सिकाउँदैछ। र अहिले यति धेरै माया पाउनुमा नेपाली संस्कृतिप्रतिको लगाव निकै मह्त्वपूर्ण बन्यो।' 

उनले नेपालमा रहेर सिन्डिकेट,  रेशम फिरिरी जस्ता ९ वटा नेपाली गीत गितारको धुनमा गाउन सक्ने भइसके।


तर नेपाली गीत उनको रहर मात्र भने बनेन। उनले शहर, पेटीमा नेपाली साथै केही हिन्दी गीत पनि गाउदै आर्थिक सहयोग जम्मा गर्छन्। र त्यो पैसा उनी सामाजिक कार्यमा खर्च गर्छन्। एलेक्स २०७२ को भूकम्पको समय नेपालमै थिए। त्यस यता उनले सक्दो सहयोग गर्दै आएका छन्। 
उनले गाउनु बाहेक अन्य कामहरु गरेर पनि अनाथ एवम् सडक बालबालिकाका लागि सहयोग जुटाए। उनले अहिले गाएर जम्मा भएको पैसा लक्ष्मी बालगृहका लागि स्टेशनरी सामान, खाद्यान्न र स्कुल फिका लागि योगदान गरेको आफ्नो साइटमा उल्लेख गरेका छन्।

एलेक्जेण्डर ग्रीन सोल्जर्स काठमाडौं नामको संस्थासँग मिलेर काठमाडौं सफाई गर्ने र प्लास्टिक रिसाइकल गर्ने अभियानमा लागि परेका छन्। अगस्ट्को अन्तिमसम्म उनको भिसा सकिन्छ। उनी नेपालमा अझै केही समय बस्न चाहन्छन्। ग्रीन सोल्जर्सले उनलाई भोलुन्टियरको रुपमा काम गरे नेपालमै रहन बिजनेस भिसा थपिदिने भनेपछि उनि अहिले भिसाकै लागि जुटिरहेका छन्। बिजनेस भिसाका लागि उनले १५०० डलर रकम आफ्नो भएको देखाउन पर्नेछ। त्यसैको निम्ति अहिले उनी गाउँदै, पैसा जम्मा गर्दै हिँडेका हुन्। 

उनले लेखेका छन्,'म नेपाललाई माया गर्छु। यो सुन्दर देशमा अझै केही समय बसेर यहाँको भाषा सिक्न र यहाँका साना नानीहरुलाई आफ्नो भाषा सिकाउन चाहन्छु।'  

नेपालमा रहेर सामाजिक कार्यमा सक्रिय हुन खोजेका एलेक्सले नेपाली संगीतलाई फण्ड रेज गर्ने राम्रो माध्यम बनाए।

कला र संगीतको कुनै भाषा हुँदैन भनिन्छ। त्यसैले होला नेपाली भाषाको गीत संगीत सिक्न र गाउँदै हिड्न पिटर र एलेक्स जस्ता कलाकारलाई धेरै असहज भएन। पिटर र एलेक्सले जस्तो नेपाली भाषाका गीतहरु सिक्न समय दिएर गाउने विदेशी कम भए पनि युट्युबमा नेपाली भाषाको गीत गाउने भारतीय, कोरियन देखी अफ्रिकी मूलकाहरु पनि भेट्न सकिन्छ।  संगीत, कला जस्ता विषयको भाषा होइन भाव महत्वपूर्ण हुन्छ भन्ने कुरालाई केही हदसम्म सही साबित गर्दै छन् नेपाली भाषाको गीत गाउने यी विदेशी कलाकार।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell