PahiloPost

May 15, 2024 | २ जेठ २०८१

नेदरल्याण्ड्सलाई घरेलु मैदानको साथ, नेपाल आत्मविश्वासी तर मौसमको चिन्ता



गोविन्दराज नेपाल

नेदरल्याण्ड्सलाई घरेलु मैदानको साथ, नेपाल आत्मविश्वासी तर मौसमको चिन्ता

काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेल नेपालको लागि जित्नैपर्ने खेलको रुपमा रहेको छ। यस खेलले नै नेपाल शीर्ष चारमा पर्ने वा नपर्ने लगभग तय गर्नेछ।
 
डब्लुसिएलको चौथो चरणको खेलमा नेपाल शीर्ष स्थानको नेदरल्याण्ड्ससँग २ खेल खेल्दै छ। दुवै खेल नेदरल्याण्ड्को घरेलु मैदानमा हुनेछ। लिगमा अपराजित रहेको नेदरल्याण्ड्सको ६ खेलबाट १० अंक छ। ६ खेल नै खेलेको नेपाल ४ अंकसहित छैटौ स्थानमा रहेको छ।
 
जसरी नमिबियाविरुद्ध घरेलु मैदान त्रिवि ग्राउण्डमा खेल्दा नेपाललाई फाइदा थियो, त्यसैगरी नेदरल्याण्डसका लागि पनि घरेलु मैदान एउटा फाइदाको रुपमा रहेको छ।
 
घरेलु समर्थक र मैदानको कारण नेपालले नमिबियालाई दुवै खेलमा पराजित गरेको थियो।
 
नेपालको लागि नेदरल्याण्ड्स नौलो मैदान होइन तर नेदरल्याण्ड्समा खेल्दाको रेकर्ड पनि नेपालको लागि उत्साहजनक छैन। गत वर्ष नेपालले नेदरल्याण्ड्सको टुर गर्दा खराब नतिजा आत्मसात गरेको थियो।
 
त्यसैले यो पटक नेपालले केही सिकेको हुनुपर्छ। खेल हुनु एक साताअघि नै नेदरल्याण्ड्स पुगेको नेपालले एउटा मात्र अभ्यास खेल खेल्ने मौका पायो। त्यो पनि बारम्बरको वर्षको कारणले पूरा हुन पाएन। नेदरल्याण्ड्को कन्डिसनले गर्दा होला नेपाली खेलाडीले सोचेजस्तो ब्याटिङ पनि गर्न सकेनन्। त्यहाँको मौसम पनि आजकल चेन्ज भइरहन्छ। अहिले नेपाल भन्दा जाडो छ नेदरल्याण्ड्समा।
 
नेदरल्याण्ड्ले भने घरमै अफगानिस्तानसँग आई कप खेलेको थियो। तर खेल गुमायो। यसले गर्दा पनि नेदरल्याण्ड्सको मनोबल केही घटेको छ। यता नेदरल्याण्ड्ससँगको तयारीकै लागि भनेर नेपालले १० दिनको युके टुर गरेको थियो। जसमा ४ अभ्यास खेल र लर्ड्समा एमसिसीसँगको खेलमा नेपाल विजयी भएको थियो। युके टुर समग्रमा राम्रो भएको कप्तान पारस खड्का र कोच जगत टमाटाले प्रतिक्रिया दिएका थिए। त्यसपछि पनि नेपाली खेलाडीले हप्ता दिनभन्दा बढी नेपालमै ट्रेनिङ गरेको थियो।
 
त्यसैले पनि नेपाली टिम आत्मविश्वासी देखिएको छ यो पटक। कप्तान पारस खड्का के मान्छन् भने नेदरल्याण्ड्स विरुद्धको खेल आफूहरुको लागि निकै महत्वपूर्ण रहेको र जित्नैपर्ने अवस्थामा रहेको छ।
 
उनले अब ८ खेल बाँकी रहेकोले शीर्ष ४ मा रहन कम्तीमा पनि ५ खेल जित्नुपर्ने बताएका थिए।
 
नेदरल्याण्ड्सँग २ खेल खेलेपछि नेपालले केन्या, हङकङ र युएईसँग खेल्ने तालिका छ।
 
यसअघि सुरुवाती २ चरणमा स्कटल्याण्ड र पपुवा न्युगिनीसँग हारेको नेपालले नमिबियालाई भने दुवै खेलमा हराउँदै अंकको खाता खोलेको थियो।
 
नमिबियालाई हराएपछि र युके टुरबाट आत्मविश्वासी बनेको नेपाल नेदरल्याण्ड्स विरुद्ध पनि उक्त लय कायम राख्न चाहन्छ। कप्तान पारस नेदरल्याण्ड्सलाई हराउन आफूहरु सक्षम रहेको बताउँछन्। 'गत वर्ष पनि हामीले नमिबियामा नेदरल्याण्ड्लाई हराएका थियौं, यो पटक पनि बलिङ बयाटिङ र फिल्डिङ तीनै डिपार्टमेन्ट चल्यो भने हामी नेदरल्याण्ड्सलाई अवश्य हराउनेछौं,' उनले भने।
 
उता अफगानिस्तानसँगको हार, केही मुख्य खेलाडीको चोटले नेदरल्याण्ड्लाई सताएको छ। नेपालको जस्तै डच टोलीको पनि ओपनिङमा समस्या देखिन थालेको छ। ओपनिङ उनीहरुको मुख्य हतियार थियो कुनै बेला। अहिले स्टेफन माइवर्ग जस्ता खेलाडी चल्न सकेका छैनन्। तर लिगमा अपराजित रहनु र घरेलु मैदान उनीहरुको लागि फाइदाजनक छ।
 
अहिलेसम्म भएको ५० ओभरको दुई खेलमा नेपाल र नेदरल्याण्ड्स एक-एक खेलमा विजयी भएका छन्। सन् २०१३ मा न्युजिल्याण्डमा भएको एकदिवसीय विश्वकपको छनोट खेलमा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको थियो। तर गत वर्ष नामिबियामा भएको डब्लुसिएल डिभिजन टु मा नेपालले नेदरल्याण्डसलाई २ विकेटले पराजित गर्दै त्यसको बदला लिएको थियो।
 

कस्तो छ नेपालको टीम?


यस पटक नेपालको टीम सन्तुलित रहेको कप्तान पारसले बताएका छन्। टीममा पुराना अनुभवी खेलाडीसँगै नयाँ युवा खेलाडीको समिश्रण रहेको छ। कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अनिल मण्डल, विनोद भण्डारी ब्याटिङको जिम्मेवारी सम्हाल्नेछन्।
 
उनीहरुसँगै यु १९ का कप्तान राजु रिजाल पनि ब्याटिङमा जम्दै आएका छन्। अलराउण्डर सागर पुन ब्याटिङमा भन्दा बलिङमा प्रभावशाली देखिएका छन् पछिल्ला खेलहरुमा। भेट्रान स्पिनरद्वय शक्ति गौचन र बसन्त रेग्मीलाई युवा स्पिनर नेपाली शेन वार्न सन्दिप लामिछानेले साथ दिइरहेका छन्। फास्ट बलिङमा सोमपाल कामीसँगै करण केसी र नयाँ खेलाडकिा रुपमा विक्रम सोब रहेबका छन्।
 
नेदरल्याण्ड्स टुरमा यु १९ कै सुनिल धमला नयाँ खेलाडीका रुपमा टीममा परेका छन्। खकुरेल विकेटकिपिङ र ओपनिङ दुवै गर्थे तर युके टुरमा खराब प्रदर्शनपछि उनको राष्ट्रिय टीममा अन्य खेलाडीले चुनौती दिन थालिसकेका छन्। खकुरलेको स्थानमा यु१९ का रिजालले विकेट किपिङ सम्हाल्नेछन्। यस पटक ओपनर तथा विकेट किपर सुवास खकुरेलको स्थानमा धमलालाई टीममा राखिएको छ । यु १९ विश्वकप र पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन गरेका उनी प्रशिक्षक र कप्तानको नजरमा परेका खेलाडी हुन्। ओपनरको भूमिकामा खेल्ने भएका कारण उनले नेदरल्याण्ड्मा खेल्ने सम्भावना पनि रहेको छ।
 
नमिबियाविरुद्ध ओपनिङ गरेका ज्ञानेन्द्र मल्लले सम्भवत यो पटक पनि ओपनिङ गर्नेछन्। उनलाई सुनिल धमला वा अनिल मण्डलमध्ये एकले साथ दिनेछन्। यस्तै तेस्रो नम्वरमा ब्याटिङ गरेका शरदले उक्त पोजिसनमा निरन्तरता दिने सम्भावना रहेको छ। यदि कोचले ज्ञानेन्द्रलाई तेस्रो नम्बरमा झारे भने धमला र अनिलले पनि ओपनिङ गर्न सक्छन्। यस्तोमा विनोद भण्डारी र रिजालमध्ये एकले मात्र खेल्ने अवसर पाउने सम्भावना छ।
 
नेदरल्याण्ड् पिच फास्ट बलर फ्रेण्डली भएका कारण नेपाली तीन फास्ट बलर खेलाउने सम्भावना रहेको छ।
 
सम्भावित ११
ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, शरद भेषावकर, पारस खड्का, राजु रिजाल, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, बसन्त रेग्मी, सन्दिप लामिछाने, विक्रम सोब
 
विश्व क्रिकेट लिग च्याम्पियनसिप चौथो चरण
मिति : १३ अगस्ट, १५ अगस्ट
स्थान : भिआरए मैदान, आम्सटरडम
हेड टु हेड : नेदरल्याण्ड्स १, नेपाल १
(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell