PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​चुरोट तान्दातान्दै राजा त्रिभुवनको मृत्यु : इतिहासमा उल्लेख नभएका प्रसंग पुस्तकमा



स्वेच्छा राउत

​चुरोट तान्दातान्दै राजा त्रिभुवनको मृत्यु : इतिहासमा उल्लेख नभएका प्रसंग पुस्तकमा

काठमाडौँ : तत्कालीन राजा श्री ५ त्रिभुवनको मृत्यु स्विट्जरल्यान्डको अस्पतालमा भएको सबैलाई थाहा छ। तर के तपाईँलाई थाहा छ- उनको निधन लन्च खाइसकेपछि चुरोट तान्दातान्दै भएको थियो ? मृत्यु हुँदा चुरोट बली नै रहेको थियो। 

पुरातत्व विभागका पूर्व अध्यक्ष  डा. साफल्य अमात्य विक्रम संवत् १९९५ देखि २०१७ सालसम्म नारायणहिटी राजदरबारमा मीर सुब्बा रहेका दयारामभक्त माथेमाले लेखेको 'अनुभव र अनुभूति : जीवनयात्राका ऐतिहासिक मोड' शीर्षकको पुस्तक लोकार्पण समारोहमा पुस्तकका रोचक प्रसंग उल्लेख गर्दै थिए।

इतिहासमा उल्लेख नभएका यस्ता थुप्रै प्रसंग आफ्ना मामाको पुस्तकमा रहेको उनले बताए। उनलाई समर्थन गरे त्रिभुवन विश्वविद्यालयका पूर्व कुलपति केदारभक्त माथेमा, प्रमुख अतिथि हिमालयशमशेर राणा र विशिष्ट अतिथि सत्यमोहन जोशीले। 

राजा त्रिभुवनको नरमपन्थी राणा शासकहरु श्री ३ जुद्धशमशेर र पद्मशमशेरसितको सम्बन्धबारे धेरै कुरा सार्वजनिक भएकै छैन, यसमा त्यो उल्लेख छ- डा. अमात्यले भने। 

सामाजिक इतिहास लेख्न सकेकै छैनौँ

केदारभक्त माथेमाले नेपालको सामाजिक इतिहास लेख्नै नसकेको तीतो सत्य उजागर गरे। पुस्तकका लेखक दयारामभक्त माथेमाको इतिहास खोतल्दै उनले सेतो बाघ उपन्यासमा रिफर गरिएका सरदार हरिभक्त माथेमा नाति दयाराम राजदरबारमा काम गर्ने अन्तिम माथेमा रहेको बताए। 

पारसमणि प्रधानले संस्मरण लेख्ने चलनै छैन भनेर लेखे पनि वास्तवमा घरानियाँ परिवारमा संस्मरण लेख्ने चलन धेरै पहिलेदेखि रहेको बताउँदै २०१८ सालमा बालकृष्ण समले लेखेको संस्मरणको उदाहरण उनले दिए। ‘तर धेरै संस्मरण प्रकाशन गर्नका लागि लेखिँदैन’, उनले भने। 
दयारामभक्त माथेमाको संस्मरण पनि उनको मृत्युको ८ वर्षपछि बल्ल उनकै परिवार संलग्न दया फाउन्डेसनले प्रकाशन गरेको हो। यसमा परिवारले धेरै कुरा सेन्सर गरेको पनि कार्यक्रममा खुलासा गरियो। 

इतिहासको ‘आँखोँ देखा हाल’

९७ वर्षीय सत्यमोहन जोशीले पुस्तकमा नपरेका कुरा बताउँछु भन्दै सरदार हरिभक्त माथेमाका केही भित्री कुरा खोतले। ‘नेपालभाषाको साहित्य विकास राणाकालमा सुस्त भएको बेला पनि हरिभक्तले मातृभाषामा कविता, गीत लेख्थे’, जोशीले भने, ‘राणाकालमा भएको थिचोमिचोमा पुनर्जागरणका कविता लेखी नेपालभाषाको साहित्य विकासमा उनले नयाँ मोड दिएका थिए।‘

‘उनको थिम आध्यात्मिक हुने गर्थ्यो, आफैलाई चिन्नुपर्ने मर्म त्यसमा हुन्थ्यो’, उनले भने। 

जोशीका अनुसार दयारामले पनि नेपाली र नेपालभाषामा कविता लेख्थे। उनको थिम भने परोपकारी भावना हुने गर्थ्यो। 

राणा शासनविरुद्ध विद्रोहको झिल्का उठेको विक्रम संवत् १९९७ देखि २००७ सालसम्मको परिवर्तनमा धेरै किताब लेखिए पनि राजदरबारमा बसेको राजासँगै निकट भएका व्यक्तिले इतिहासको ‘आँखोँ देखा हाल’ पुस्तकमा पाइने उनले बताए। 

नेपालको इतिहास अधुरो र अपुरो रहेको बताउँदै नेपालको इतिहासको संक्रमण कालको महत्वपूर्ण दस्तावेज यसमा रहेको जोशीले बताए। 

त्यसैगरी प्रमुख अतिथि हिमालयशमशेर राणाले २००७ सालमा मोहनशमशेरको प्रधानमन्त्रीत्वमा अन्तरिम सरकार बन्दा भारदारहरुबाट बनाउन नपाइने भनी १२० राणाहरुको हस्ताक्षर गरी बुझाएको विषय अहिलेसम्म कुनै पनि इतिहासका पुस्तकमा नआए पनि यसमा रहेको बताए। 

दया फाउन्डेसन प्रकाशक रहेको ३९० पेजको पुस्तकको मूल्य ६ सय रुपैयाँ राखिएको छ।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell