PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

२५० महिलाबीच एक्लो पुरुष, भन्छन्: डरभन्दा बढी गर्व लाग्यो, दौरा, सुरुवाल र टोपीमा देखिन पाउँदा



स्वेच्छा राउत

२५० महिलाबीच एक्लो पुरुष, भन्छन्: डरभन्दा बढी गर्व लाग्यो, दौरा, सुरुवाल र टोपीमा देखिन पाउँदा

कसैलाई आफ्नो अग्लो कद केका लागि प्रयोग गर्दा ठिक होला भन्ने पिर परेको सुन्दा धेरैलाई हाँसो उठ्न सक्छ। तर त्यस्तै भयो मोडल दिपक घिमिरेलाई।

हेटौंडाका उनी काठमाडौंमा बिबिएस अध्ययनरत थिए। पढ्ने बाहेक अरु के गर्ने भन्ने विषयमा निर्णय गर्न सक्ने भएका थिएनन्। त्यस समय दिपक केही निर्णय लिन पर्दा आमाको मुख ताक्थे। त्यसरी आमाको ज्ञानी छोरा बन्ने होडले आज उनलाई इन्टरनेशनल मोडल बनाएको छ।

एकदिन आमाकी साथिले 'छोराको हाइट त गज्जब रैछ, फोटो सुटलाई पठाउ' भने पछि आमाले उनलाई मोडलिङका लागि घच्घचाउन सुरु गरिन्।
६ फुट १ इन्चका उनि पहिले त छक्क परे।

केटी पो मोडल हुन्छन् त भने जस्तो लाग्यो उनलाई। तर जब सुटको लागि गए र तालिम लिए उनले मोडलिङ बारे बुझ्न थाले। २००७/२००८ तिर नेपालमा मोडलिङको खासै चर्चा थिएन। मोडलिङ भन्ना साथ म्युजिक भिडियोमा देखिनेहरु भन्ने सोच धेरैको थियो। त्यस्तो अवस्थामा मोडल बन्न निस्किएका उनि ‘ब्लु बर्ड फेसन’मा फोटो सुट र मोडलिङ तालिम गर्न थाले। तर अवसर कम, केहि गर्ने चाह बढी भएपछी उनले मोडलिङ सिक्न दिल्लीको बाटो तताए।


उनले भने,'ज्यान हुनु, र्‍याम्पमा देखिनु मात्र मोडलिङ हैन रैछ भन्ने कुरा इन्डियामा लिएको ट्रेनिङले सिकायो।' सन् २०१० मा उनको ट्रेनिङ सकियो। र दिल्लीमै भएको फेसन शोमा देखिने अवसर पाए। दिपक घिमिरेले पहिलो पटक धेरै दर्शक भएको शोमा देखिनुको अनुभव सुनाए,'थोरै डर र धेरै आशा पलायो। र्‍याम्पमा हिड्दै गर्दा लाग्यो अब बल्ल मोडलिङ करीयर सुरु भयो।'  

हुन पनि उनले सोचेको जस्तै भयो। भारतबाट ट्रेनिङ सक्काएर फर्किए पछी उनको प्रफेशनल मोडलिङ सुरु भयो। स्टेज शोसँगै म्युजिक भिडियो पनि खेले। तर अभिनयलाई धेरै समय भने दिएनन्। भन्छन्,'र्याम्प मोडलको रुपमा स्थापित हुनु छ। दुईटा डुङ्गामा खुट्टा राखे डुबिन्छ नि, त्यसैले अभिनयलाई फुल टाइम केही समय सोच्दिन।' 
 
नामी मोडलको रुपमा स्थापित हुने रहर तिब्र। तर न मोडलिङको बजार र अवसर न प्रतिष्पर्धा। त्यसैले उनि दुबई हान्निए। त्यहाँ पनि उनले थुप्रै फेशन शोहरुमा भाग लिए। 
 
दुबईबाट फर्किएर उनले ई फर इन्टरटेनमेन्ट नामक संस्था खोले। २०१२ यता १७वटा ब्युटी प्याजेन्ट र केही फेशन सो आयोजना गरी सके। नेपालमा मोडलिङलाई व्यवसायिक बनाउन लागि परेका छन् उनि। भन्छन्,'मोडलिङ व्यवसायिक र मोडलहरु स्थापित हुने वातावरण बनोस्।' 
 
सन् २०१५ भने उनको करियरमा लक्की वर्ष बन्यो। अमेरिकामा भएको फेशन सेमिनारका लागि नेपालबाट उनि छानिए। एक हप्ताको सेमिनारले उनलाई धेरै फाइदा दियो नै। अन्द्रेज अक्विनोलाई चिनायो। एन्ड्रिज 'कुटर फेशन विक' का संस्थापक हुन्। 

 
एकिन्युसँग चिनजान र सम्बन्ध राम्रो बनाएका घिमिरेले एउटा साहसीक काम गरे।
महिला मात्र र्याम्पमा उत्रिने कुटर फेशन विकमा आफूलाई स्टेज दिन आग्रह गरे। नेपाली राष्ट्रिय पोशाकलाई अमेरिकामा देखाउने उदेश्य सुनेर एन्ड्रिजले पनि पहिलो पटक पुरुषलाई स्टेजमा उतार्ने निर्णय गरे। र घिमिरे २५० महिला मोडलको बिचमा कुटर फेशन विकमा वाक गर्ने पहिलो पुरुष बने। 
 
दौरा सुरुवाल र ढाका टोपीमा सजिएर उनि न्युयोर्कमा भएको शोमा देखिए। कुटर फेशन विकले घिमिरेलाई इन्टरनेशनल मोडल बनायो। 
 
२०१५ फेब्रवरीमा भएको शो पछि घिमिरे नेपाल आए। त्यसपछि उनको चर्चा चुलियो। उनि मोडल सँगै इभेन्ट अयोजकका रुपमा पनि परिचित छन्।
 

फेसनको पनि भाषा हुन्छ जसले धेरै कुरा बुझाउँछ। ग्लामर मात्र फेसन हुनै सक्दैन भन्ने दिपकको मान्यता छ। त्यस्तै नेपाली भाषा नबुझ्नेहरुको देशमा पनि उनि नेपाली कला र संस्कृतीलाई प्रोमोट गर्न चाहन्छन्।


घिमिरेले चित्त नबुझेको भावमा भने,'तर नेपालमा अझै फेसन ग्रुम हुन सकेन। म नेपालमा फेसन प्रमोट गर्न चाहन्छु। ताकी फेसनमा रुची हुनेले सुरुवात देखिनै पैसाको लागि परिवारको मुख ताक्न नपरोस्।'
 
नेपाललाई फेसनमा सक्दो व्यवसायिक बनाउन लागि परेका छन्। केही मुलुकहरुमा नेपाली कला, संस्कृती झल्कने फेसन शो गरे पछि उनि एउटा फेसन एकेडेमी खोल्ने होडमा छन्। 
 
दिपकको नेपाली फेसन प्रोमोसन प्रयास स्वदेशी कामहरुमा मात्र सिमित छैन। अमेरिकामा हुँदै आएको कुटर फेसन विक जसमा उनि वाक गरे, त्यसलाई नेपालमा आयोजना गर्न निकै खटिए। न्युयोर्कमा रहेको एलाईट फेशन हाउसको सहकार्यमा पहिलो पटक 'काठमाडौं पोस्ट कुटर फेशन विक नेपाल' शनिबार हुँदैछ। 
 
दिपकले भने,'यो फेसन विक नेपालमा गर्न जुन आग्रह गरें त्यसको मुख्य उदेश्यनै नेपाली मोडलिङमा एउटा क्लाइमेक्स थप्नु हो।'
 
शनिबार काठमाडौंको ह्यात होटलमा नेपाली मोडल, मिस नेपाल, नायकदेखि मिस होण्डुरस युनिभर्स बेलजिका सुवारेज, मिस पाराग्वे अर्थ सेण्डू सासारस, नेए म्याकलिन, रमेसिए म्याकेन्ना आदी स्टेजमा देखिदैछन्। र यति भव्य फेसन शो नेपालमा आयोजना गर्न दिपक खुब खटिए। 
 
अर्जुन राम्पालको डाई हार्ट  फ्यान रहेका घिमिरे बलिउड हिरो बन्न चाहन्थे। तर भारतमा फेसनमा संस्कृतिक पहिचान झल्कने प्रस्तुतीहरु देखेर लोभिए। उनि आफू स्थापित हुन संघर्ष गरी रहँदा नेपाली फेसन र कला संस्कृतीबारे सोचे। र नेपाली फेसन र संस्कृती प्रमोट गर्न लागि परे।
 
मिहिनेतमा विश्वास राख्ने घिमिरे भन्छन्,' मोडलिङमा आउटकम ढिलो आउला तर काम गर्न छोड्नु हुँदैन। तर संघर्षको मतलव भोको बस्नु, जुत्ता खियाउनु मात्र हुन्छ भन्ने कुरामा विश्वास लाग्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell