PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

वान डे वर्ल्डकप क्वालिफायर खेल्ने नेपालको सम्भावना कति?



गोविन्दराज नेपाल

वान डे वर्ल्डकप क्वालिफायर खेल्ने नेपालको सम्भावना कति?

काठमाडौं : नेदरल्याण्ड्स जानुअघिको भेटमा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले नेदरल्याण्ड्स बलियो टोली भए पनि आफूहरु उनीहरुलाई हराउन सक्षम रहेको बताएका थिए। उनले भनेका थिए, 'यदि नेपालको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै डिपार्टमेन्ट चल्यो भने नेपालले अवश्य जित्नेछ।'
 
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको पहिलो खेलमा त यो लागू भएन। ब्याटिङ चल्दै चलेन भने बलिङ र फिल्डिङमा नेपालले आफ्नो क्षमता देखाउन पाएन। दोस्रो खेलमा भने कप्तान पारसको भनाइ ठिक साबित भयो।
 
दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई उसैको मैदानमा हराउँदै महत्वपूर्ण २ अंक जोडेको छ। नेपालले नेदरल्याण्ड्ससँगैको अघिल्लो खेलको हारको बदला मात्र लिएन च्याम्पियनसिपमा उसलाई पहिलो हार समेत चखायो।
 
पहिलो खेलमा खाता नखोली आउट भएका पारसले दोस्रो खेलमा अलराउण्ड प्रदर्शन गरे। ३ विकेट झरिसकेको अवस्थामा पारसले कप्तानी पारी खेल्दै ८४ रन बनाए र नेपालको स्कोर उकासे। बलिङमा २ विकेट झारे भने एक क्याच समेत लिए।
 
नेपालसँग खेल्नुअघि नेदरल्याण्ड्स १० अंक सहित शीर्ष स्थानमा थियो। २ खेलको सिरिज १/१ भएपछि डच टोली १२ अंक सहित शीर्ष स्थानमा कायमै छ। डच टुरबाट २ अंक जोडेको नेपाल ६ अंक सहित छैटौं स्थानमा कायमै छ। केन्याको पनि ६ अंक छ तर रनरेटको आधारमा नेपालभन्दा माथि छ र उसले २ खेल कम खेलेको छ।
 

नेपालको सम्भावना कति?

विश्व क्रिकेट लिगको सबैभन्दा माथिल्लो स्तरको प्रतियोगिता हो, विश्व क्रिकेट लिग च्याम्पियनसिप अर्थात् डिभिजन वन। यसमा अहिले कुल ८ टोली छन्। एकदिवसीय वरीयतामा रहेका शीर्ष १२ टोली बाहेकका टोलीहरु हुन् यी।
 
डब्लुसिएल च्याम्पियनसिप सन् २०१५ देखि २०१७ सम्म चल्नेछ। जसमा हरेक राष्ट्रले अर्को राष्ट्रसँग होम एण्ड अवे प्रणालीमा २/२ खेल खेल्छन्, त्यसरी हेर्दा एक टोलीले कुल १४ खेल खेल्न पाउँछ।
 
कुल ८ टोली रहेको लिगमा नेपालले ४ चरणको खेल अर्थात् ८ खेल खेलिसकेको छ। यसमध्ये ३ खेलमा मात्र नेपाल जित हात पार्न सफल रह्यो भने ५ खेलमा पराजित भयो।
 
नेदरल्याण्ड्ससँग चौथो चरणको २ खेलपछि नेपालले अझै ३ चरणको खेल खेल्न बाँकी छ। जसअन्तर्गत केन्या, हङकङ र युएईसँग खेल्नुपर्नेछ।
 
सुरुवाती २ चरणको खेल हारेको नेपालले गत वैशाखमा कीर्तिपुरमा भएको नमिबिया विरुद्धको दुवै खेल जित्दै अंकको खाता खोलेको थियो। तेस्रो चरणमा त्रिवि मैदानमा हात पारेको महत्वपूर्ण २ जितसँगै नेपालले ४ अंक जोडेको हो।
 
च्याम्पियनसिपमा रहेको ८ टोलीमध्ये शीर्ष ४ स्थानमा रहने टोली सन् २०१८ मा बंगलादेशमा हुने एकदिवसीय विश्वकप छनोटका लागि छानिनेछन्। आइसिसी वान डे च्याम्पियनसिपमा रहेको शीर्ष १२ मध्ये अन्तिम ४ टोली, विश्व क्रिकेट लिगको शीर्ष ४ मा रहने टोली र डिभिजन टुबाट बढुवा हुने २ टोली गरी कुल १० टोलीले सन् २०१९ मा इंगल्याण्डमा हुने विश्वकपका लागि छनोट खेल्ने अवसर पाउनेछन्। र, छनोटमा शीर्ष २ मा रहने टीम विश्वकपका लागि छानिनेछन्।
 
त्यसैले पनि सन् २०१९ को एकदिवसीय विश्वकप खेल्ने आशा कायमै राख्नको लागि नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ भित्र अटाउनु जरुरी छ। यसका लागि नेपालाई बाँकी ३ चरणको खेल महत्वपूर्ण हुनेछ।
 

अबको चुनौती

कप्तान पारसले नेदरल्याण्ड्स जानुअघि भनेका थिए, 'हामीले ८ खेल खेल्न बाँकी छ, त्यसमा कम्तीमा पनि ५ खेल जित्नुपर्छ शीर्ष ४ मा रहन।'
 
नेपालले नेदरल्याण्ड्समा २ मध्ये एक खेल जित्यो। अब ६ खेल खेल्न बाँकी छ। पारसकै भनाइलाई आधार मान्ने हो भने पनि नेपालले बाँकी ६ मध्ये ४ खेल जित्नैपर्नेछ।
 
नेपालले आफ्नो खेलको नतिजामा मात्र भर पर्न नहुने अन्य टीमको स्थानमा पनि नेपालको स्थान भर पर्ने पारसले बताएका थिए।
 
यसरी हेर्दा अन्य खेल र टीमको नतिजाको आधारमा पनि नेपाल कुन स्थानमा रहने भन्ने तय हुन्छ। त्यसका लागि नेपालले आफ्नो खेलमा सक्दो मेहनत गर्नुपर्ने हुन्छ।
 
नेपालले अब पाँचौ चरणको खेल अर्को वर्ष अर्थात् सन् २०१७ को फेब्रुअरी-जुनतिर  खेल्नेछ। केन्याविरुद्ध हुने उक्त खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका छ। तर नेपाल क्रिकेट संघ क्यानलाई आइसिसीले निलम्बन गरेको हुनाले नेपालमै हुने/नहुने अन्योल देखिन्छ।
 
यसअघि नेपालमै हुनुपर्ने पपुवा न्युगिनी विरुद्धको दोस्रो चरणको खेल पनि क्यान विवादकै कारण युएईमा खेलाइएको थियो।
 
नमिबिया विरुद्धको खेल भने आइसिसीले आफ्नै रेखदेखमा कीर्तिपुरमा खेलाएको हो। जसमा घरेलु दर्शक र समर्थकको अगाडि नेपालले आफूलाई प्रमाणित गरेको थियो। 
 
कुल ७ चरणको खेलमध्ये हरेक टीमले ३ चरण होम, ३ चरण अवे र एक चरण न्युट्रल भेन्युमा खेल्ने तय थियो। तर नेपालले घरेलु मैदानमा खेल्ने एक चरण गुमाइसकेको छ भने एक चरण खेलिसकेको छ।
 
नेपालले खेल्न बाँकी रहेकामध्ये हङकङ विरुद्धको खेल अवे मैदानमा हुनेछ भने युएई विरुद्धको खेल न्युट्रल भेन्युमा हुनेछ। केन्या विरुद्धको खेल स्थानबारे आइसिसी तय गर्नेछ।
 
केन्या, हङकङ र युएई विरुद्धको सबै खेल सन् २०१७ मा हुनेछन्। यसका लागि नेपालले नेदरल्याण्ड्सबाट फर्कने बित्तिकै तयारी सुरु गर्नु आवश्यक छ।
 
  • नेपालको यसअघिका खेल
पहिलो चरण, २०१५
स्कटल्याण्ड भर्सेस नेपाल (जुलाई २९) : नेपाल ३ रनले पराजित
स्कटल्याण्ड भर्सेस नेपाल (अगस्ट १) : नेपाल ९ विकेटले पराजित
 
दोस्रो चरण, २०१५
पपुवा न्युगिनी भर्सेस नेपाल (नोभेम्वर १६) : नेपाल २ विकेटले पराजित
पपुवा न्युगिनी भर्सेस नेपाल (नोभेम्वर १८) : नेपाल ३ विकेटले पराजित
 
तेस्रो चरण, २०१६
नेपाल भर्सेस नामिबिया (अप्रिल १६) : नेपाल ५ विकेटले विजयी
नेपाल भर्सेस नामिविया (अप्रिल १८) : नेपाल ३ विकेटले विजयी
 
चौथो चरण, २०१६
नेदरल्याण्ड्स भर्सेस नेपाल (अगस्ट १३) : नेपाल ७ विकेटले पराजित
नेदरल्याण्ड्स भर्सेस नेपाल (अगस्ट १५) : नेपाल १९ रनले विजयी
 
  • नेपालले खेल्न बाँकी
नेपाल भर्सेस केन्या (फेब्रुअरी-जुन २०१७) 
हङकङ भर्सेस नेपाल (जुलाई-नोभेम्बर २०१७)
नेपाल भर्सेस युएई (नोभेम्बर-डिसेम्बर २०१७)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell