PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

'बोक्सीको घर'मा एउटी विधवाको कारुणिक चित्कार



स्वेच्छा राउत

'बोक्सीको घर'मा एउटी विधवाको कारुणिक चित्कार

काठमाडौं : सानै उमेरमा एउटी बालिकाको विवाह हुन्छ। विवाहपछि पनि माइतीमै बसेकी उनी १६ वर्ष पुगेर आफ्नो श्रीमानको घर जान्छिन्। आफूले जुँगे दाइ भनेर पुकार्ने गरेको २४ वर्ष जेठो श्रीमानसँग न उनको भावना मिल्छ न विचार।
 
बुबाआमाले विवाह गराइदिएको श्रीमानसँग मन र शरीर दुवै सन्तुष्ट नभएको उनी महसुस गर्छिन्।
 
जब उनी २१ वर्षकी हुन्छिन् तब तुइन चुँडिएर खस्दा श्रीमानको मृत्यु हुन्छ। यसपछिका विधवा दैनिकी भने झनै कष्टपूर्ण बित्छन्।
 
ससुराले पनि शारीरिक दुर्व्यवहार गर्न थाल्छन्। निरीह बनेकी उनी न प्रतिवाद गर्न सक्छिन् न त कतै सुनाउन नै। बरु बिस्तारै उनलाई परिवार र समाजले नै बोक्सी देख्छ। उनीमाथि सामाजिक दुर्व्यवहार हुन थाल्छ। दिसा खुवाइन्छ र कालो मोसो दलिन्छ।
 
कतै सुनाउन नसकेपछि उनी आफ्नो पीडा र वेदना पीपलको बोटमुनि गई ढुङ्गा थापेर उसैसामु पोख्न बाध्य हुन्छिन्। अन्तत: सामाजिक, शारीरिक र मनोवैज्ञानिक रुपमै उनमा मानसिक संकट देखा पर्छ।

परिवार समाजले नारीमाथि थोपर्ने पीडा र हिंसाको यही कथालाई रंगकर्मी सुलक्षण भारतीको 'बोक्सीको घर' नाटक मार्फत उजागर गरेका छन्।

कलाकार सरिता गिरीले एकल वाचन र अभिनय मार्फत प्रस्तुति दिएको नाटक हेर्दै जाँदा दर्शकको आँखा एकाएक रसाउँछ।
 
काठमाडौंको मण्डला थिएटरमा यो नाटक मञ्चन भइरहेको छ। सुलक्षण स्वयंले यसको निर्देशन गरेका हुन्।
 
नेपाली समाजमा अझै कायम बोक्सीप्रतिको अन्धविश्वास नै नाटकको मुख्य विषय हो। सरिताको जीवनकथा मार्फत बालविवाह जस्तो सामाजिक कुप्रथा र नारीमाथि हुने शारीरिक दुर्व्यवहारलाई पनि देखाउन खोजिएको छ। परिवार र सामाजले गर्ने दुर्व्यवहारका कारण कुनै पनि नारी कस्तो मनोसामाजिक अवस्थामा पुग्न सक्छे भन्ने नाटकले समेटेको छ।
 
४५ मिनेट लामो नाटक मण्डलामा सोमबार बाहेक हरेक साँझ ५:१५ देखि सुरु हुन्छ। साउन २८ गतेदेखि सुरु भएको नाटक मञ्चन भदौ १२ गतेसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell