PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​​स्वस्थानी मन्दिरमा भजनको तालमा थपडी मार्दै मनाइयो रेखा थापाको 'बर्थ डे'



स्वेच्छा राउत

​​स्वस्थानी मन्दिरमा भजनको तालमा थपडी मार्दै मनाइयो रेखा थापाको 'बर्थ डे'

काठमाडौँ : कला क्षेत्रकी नामी सेलिब्रेटीको बर्थडे सेलिब्रेसन तर केक काट्न फ्यान जम्मा भएको ठाउँ न भव्य हल थियो, न त्यहाँ कुनै पार्टी गीत बजेको थियो। केही मान्छेहरु भजनको तालमा थपडी मार्दै नाच्दै थिए।

नायिका रेखा थापाले आफ्नो ३४ औं जन्मदिन मन्दिरको प्राङ्गणमा काठमाडौं साँखुका स्थानीयबासीसहित फ्यानसँग मनाइन्।

कला क्षेत्रसँगै राजनीति, धर्मकर्म र समाज सेवामा पनि सक्रिय उनले यो पटक आफ्नै लगानीमा सजाएको साली नदीस्थित स्वस्थानी माताको मन्दिरमा जन्मदिन मनाएकी हुन्। उनले करिब ४ लाख खर्च गरेर उक्त मन्दिरको रङ्गरोगन गराएकी हुन्। रेखाले भनिन्, 'यो मेरो दोस्रो घर हो। जहाँ आएपछि मलाई आमाको काखमा बसे जस्तो हुन्छ।'

 उनले बर्थ डे केक काट्दै आफूले मन्दिर सरसफाई र संरक्षणका लागि केही गर्ने चाहना पूरा गरेको बताइन्।

रेखा थापाको जन्मदिनको अवसरमा उनका शुभचिन्तकहरुको भिड थियो। त्यसै बीचमा तीन दृष्टिविहीन देखिए। रेखा थापाले अगरबत्ती प्याकिङ र वितरण गर्दै आएका उनीहरुलाई  २५ हजार रुपैयाँ सहयोग गरिन्। उनीहरुले रेखा थापालाई शुभकामना दिंदै भने, 'हामीलाई आत्मनिर्भर हुन सहयोग गर्ने रेखा दिदी कहिले पनि कुनै कुरामा अरुमा निर्भर हुन नपरोस्।'

साली नदीमा थापाका आफन्त र परिवारका अन्य सदस्यसहित आमाको पनि उपस्थिति थियो। आमा सरस्वती थापाले आफ्नो छोरीले निकै नाम कमाए पनि उसले काम धेरै गर्न बाँकी रहेको बताइन्। भनिन्,'रेखाले बल्ल सुरुवात गरेकी छ, यसले धेरै गरेको हेर्न, सुन्न मन छ।'

खाली समय साली नदी आएर बिताउने र सामाजिक क्रियाकलापहरुमा सहभागी हुने रेखाको बानीले स्थानीयबासी प्रसन्न भएको बताउँछन् साली नदी विकास समितिका अध्यक्ष दीलिपकुमार श्रेष्ठ।

चलचित्र ’हिरो’ बाट डेब्यू गरेकी रेखा यहाँसम्म आइपुग्दा सफल निर्मात्री तथा निर्देशकसमेत भइसकेकी छिन्। त्यस्तै रेखा थापा फाउण्डेसनमार्फत् सामाजिक कार्यमासमेत सक्रिय रहेकी रेखा अहिले ’हिरो रिटर्न्स’ फिल्ममा व्यस्त छिन्।

केही वर्ष यता उनले आफ्नो जन्मदिनमा सामाजिक कार्यहरु गर्दै आएकी छिन्।









@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell