![रियो ओलम्पिक रिभ्यु : खेलाडीको प्रदर्शन शुन्य, पदाधिकारी दर्शन हावी](https://pahilopost.com/assets/upload/contentthumb/FotorCreated8.jpg)
काठमाडौँ : ब्राजिलमा जारी ३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात् रियो २०१६ सकिन अब एक दिन बाँकी छ। तर नेपाली खेलाडीको चुनौति भने एक दिनअघि नै समाप्त भएको छ।
नेपालबाट यसपटक ५ खेलका ७ खेलाडीले सहभागिता जनाएका थिए जसमध्ये ३ खेलाडीले वाइल्ड कार्डमार्फत् सहभागिताको मौका पाएका थिए भने ४ खेलाडी युनिभर्सल प्लेसेस अर्थात् अनिवार्य सहभागितामार्फत् रियो पुगेका थिए।
नेपालका सबै खेलाडीको लक्ष्य राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने त्यो नभए व्यक्तिगत प्रदर्शनमा भए पनि सुधार गर्ने थियो। तर सबै खेलाडीले आफ्नो लक्ष्य भेट्टाउन सकेनन्। पौडीका शिरीष गुरुङ र एथ्लेटिक्सकी सरस्वती भट्टराई मात्र रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउन सफल भए। अन्य खेलाडीको प्रदर्शन भने सन्तोषजनक मात्रै रह्यो।
नेपाली खेलाडीको खेल र प्रदर्शनको बारेमा हाम्रो विश्लेषण यस्तो रह्यो
रियो ओलम्पिककै कान्छी खेलाडी : हिटमा फर्स्ट तर टाइमिङमा सुधार भएन
रियो ओलम्पिकमा यसपटक करिब ११ हजार खेलाडीको सहभागिता रह्यो जसमा विभिन्न खालका कीर्तिमानी खेलाडी देखि नयाँ पुराना खेलाडीहरुको जमघट थियो। हजारौं खेलाडीको जमघट रहेको उक्त खेल मेलामा नेपालकी पौडी खेलाडी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी भएको थाहा पाएपछि गौरिका र नेपाल एकाएक चर्चामा आयो। गौरिकालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पछ्याइरहे। उनलाई पनि अन्तर्वार्ता दिन भ्याईनभ्याई भयो। यसले रियोमा नेपालको पनि राम्रै चर्चा भयो। भलै पदकको चर्चा नभएपनि खेलाडीको चर्चाले भने नेपालको नाम अघि रह्यो।आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्ने दिन १३ वर्ष २६५ दिन मात्र पुगेकी गौरिका २ वर्षको उमेरदेखि लण्डन बस्दै आएकी छिन् र उनले प्रशिक्षण पनि लण्डनमै गरिन्।
कान्छी खेलाडी बनेकी गौरिकाले रियोमा भने सोचेअनुरुप प्रदर्शन गर्न सकिनन्। एक सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गरेकी गौरिका ३ खेलाडी रहेको हिट चरणमा फस्ट भइन्। हिट चरणमा उनले निर्धारित दुरी १ मिनेट ०८.४५ सेकेण्डमा पूरा गरिन्। तर सेमिफाइनल प्रवेश गर्नका लागि उनको टाइमिङले साथ दिएन। उनले १२ औं साग गेम्समा १ मिनेट ७.३१ सेकेण्डको राष्ट्रिय कीर्तिमान् बनाएकी थिइन्।
राष्ट्रिय कीर्तिमान कायम गर्न सफल, फेल्प्ससँग फोटो खिचाउन पाएनन्
नेपाली पौडीका मात्र नभई नेपाली पौडीको कीर्तिमानका पनि पर्याय बनेका युवा शिरीष गुरुङले यसलाई रियोमा पनि कायमै राखे। एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेका शिरीषले रियोमा ४६ औं पटक राष्ट्रिय कीर्तिमान बनाए। हिट चरणमा प्रतिस्पर्धा गरेका ८ खेलाडीमध्ये सबैभन्दा पुछारमा रहेपनि ५७.७६ सेकेण्डको टाइमिङ निकाल्दै उनले राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन्।यसअघि यस स्पर्धामा उनले कजानमा भएको १६ औं फिना वल्र्ड च्याम्पियनमा ५८.२२ सेकेण्डको कीर्तिमान बनाएका थिए। रियोमा कीर्तिमान सुधार गरेका शिरीष कुल ५९ खेलाडी मध्ये ५८ औं स्थानमा रहे।
रियो जानुअघि उनको दुई वटा लक्ष्य थियो, राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने र आफ्ना फेभरेट स्वीमर माइकल फेल्प्ससँग भेटेर फोटो खिचाउने। यसमध्ये उनको पहिलो लक्ष्य पूरा पनि भयो। दोस्रो लक्ष्यको पनि उनी निकै नजिक पुगेका थिए। ओलम्पिक भिलेजमा ओलम्पिक इतिहासकै सबैभन्दा बढी स्वर्ण जित्ने फेल्प्सलाई उनले भेटे पनि। तर फोटो खिच्न आग्रह गर्दा भने फेल्प्सले नकारिदिए।
![](assets/upload/images/Nepali-contingent-in-Rio-Olympics-2016.jpg)
रियोमा नेपालको झण्डा बोकिन्, पूरै चार मिनेट टिकेपनि ११-० को हार
रियो उड्नुअघि जुडो खेलाडी फपूल्हामु खत्रीको उदेश्य थियो, विपक्षी खेलाडीसँगै पूरै समय खेलमा टिक्ने अनि सके एक बाउट जित्ने। यति मात्र होइन १२ औं सागमा नेपाललाई स्वर्ण दिलाएकी फुपूले रियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने अवसर समेत पाएकी थिइन्। यो फुपूलाई बोनस थियो।फुपू एक लक्ष्यमा भने सफल भइन्। वाइल्ड कार्डमार्फत् रियो ओलम्पिकमा छनोट भएकी फुपूले पनि करिब ७ महिना हंगेरीमा प्रशिक्षण गरेकी थिइन्। यसक्रममा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता पनि उनले खेल्न भ्याइन्। उनको प्रशिक्षकमा थिइन्, पूर्व ओलम्पिक जुडो खेलाडी देवु थापा। थापाले पनि फुपूलाई राम्रो गर्न हौस्याइन्। २००८ को बेइजिङ ओलम्पिकमा भाग लिँदा पूरै समय टिक्न नसकेकी थापाको उदेश्य पनि फुपूलाई पुरै समय खेल्न सक्ने बनाउनु थियो।
पहिलो चरणमै फुपूको भेट क्युबाका खेलाडीसँग भयो। जुडोमा क्युबालाई बलियो मानिन्छ। ६३ केजी तौल समूहमुनि प्रतिस्पर्धा गरेकी फुपू एस्पिनोसा मारिसेटसँग अंकका आधारमा ११-० ले पराजित भइन्। पूरै ४ मिनेट विपक्षीसँग खेलमा टिकेपनि रक्षात्मक खेल्ने क्रममा फुपूले कुनै अंक जोड्न सकिनन्।
धनुष वाण प्रहार गर्न नेपाली भन्दा भारतीय अब्बल
जितबहादुर मोक्तान ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली आर्चरी खेलाडी बने। वाइल्ड कार्डमार्फत् रियो ओलम्पिक खेलेका मोक्तानले ७० मिटर मेन्स इन्डिभिजुअल रिकर्भमा प्रतिस्पर्धा गरेका थिए। र्याङ्किङ राउण्डमा कूल ६४ खेलाडीमध्ये मोक्तान ६० औं स्थानमा रहन सफल भए।राउण्ड अफ ६४ मा नेपालका मोक्तानको भेट भारतीय अतनु दाससित भयो। उनी र्याङ्किङ राउण्डमा पाँचौ स्थानमा रहेका थिए। तर यस स्पर्धामा नेपाली खेलाडी भन्दा भारतीय खेलाडी अब्बल बने। मोक्तान दाससँग ६-० को स्कोरमा पराजित हुन पुगे।
तीन सेटमै दाससँग पछि परेका मोक्तानले कुनै अंक पाउन सकेनन् भने हरेक सेटमा २ अंकका दरले भारतीय खेलाडी दासले कुल ६ अंक जोडेका हुन्। दासले पहिलो र दोस्रो सेटमा समान २९ अंक स्कोर गर्दा तेस्रो सेटमा ३० अंक स्कोर गरेका थिए। मोक्तानले भने पहिलो र तेस्रो सेटमा समान २६ तथा दोस्रो सेटमा २४ स्कोर गरे। दासले कुल ८८ स्कोर गर्दा मोक्तानले ७६ स्कोर मात्र गर्न सके।
राजकुमारीले राखेको कीर्तिमान सरस्वतीले २६ वर्षपछि रियोमा तोडिन्
महिला १५ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती विश्व कीर्तिमानधारी इथियोपियाका डिबाबासँग एउटै हिटमा दौडेकी थिइन्। पछि उनले विश्व कीर्तिमानधारीसँग दौडँदा आफ्नो राष्ट्रिय कीर्तिमान बनेको प्रतिक्रिया समेत दिइन्।
सरस्वतीले निर्धारित दुरी ४ मिनेट ३३.९४ सेकेण्डमा पुरा गरेकी हुन्। हिट चरणमा दौडेका कुल १४ प्रतिस्पर्धी मध्ये उनले एक खेलाडीलाई मात्र पछि पार्न सफल भइन्।
यसअघि १५ सम मिटर दौडको राष्ट्रिय कीर्तिमान राजकुमारी पाण्डेको नाममा थियो। सन् १९९० मा बेइजिङमा भएको एसियन गेम्समा पाण्डेले ४ मिनेट ३४.४७ सेकेण्डको कीर्तिमान कायम गरेकी थिइन्। जसलाई २६ वर्षपछि रियोमा सरस्वती तोडिदिइन्।
![](assets/upload/images/Hari_kumar_Rimal_587378923.jpg)
राजेन्द्र भण्डारीको रेकर्ड तोड्न खोज्दा आफ्नै प्रदर्शन सुधार गर्न असफल
एक दशक अघि राजेन्द्र भण्डारी नेपाली दौडमा चर्चित नाम थियो। मध्यम दुरीका दौडदेखि म्यारथनसम्म दौडेका भण्डारीको नाममा ५ हजार मिटर दौडको राष्ट्रिय कीर्तिमान छ। उनले २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेण्डमा पुरा गरेका थिए। रियोमा त्यही रेकर्ड तोड्ने लक्ष्य थियो धावक हरिकुमार रिमालको पनि। त्यसो गर्न नसकेपनि आफ्नै व्यक्तिगत समयमा भने अवश्य सुधार गर्ने उनले बताएका थिए। तर रिमाल रियोको ट्रयाकमा दुवै लक्ष्यमा सफल हुन सकेनन्।भण्डारीको रेकर्ड त टाढै रह्यो, उनको पछि लाग्दा व्यक्तिगत समयमा समेत सुधार गर्न असफल रहे रिमाल। ५ हजार मिटर दौड उनले १४ मिनेट ५४.४२ सेकेण्डमा पुरा गरे। यसअघि उनले १२ औं साग गेम्समा कास्य जित्ने क्रममा १४ मिनेट ३२.१८ सेकेण्ड समय निकालेका थिए जुन उनको पर्सनल बेस्ट टाइमिङ हो।
![](assets/upload/images/Womens-Taekwondo-Rio-Olympics-Nisha-Rawal-Zheng-Shuyin.jpg)
तेक्वान्दोमा कास्य नजिक, तर धेरै टाढा
ओलम्पिकमा नेपालको लागि यदि कुनै गर्व गर्न लायक खेल छ भने त्यो तेक्वान्दो नै हो। सोल ओलम्पिकको प्रदर्शनी खेलमा विधान लामाले कास्य पदक जित्दा होस् या संगीना वैद्य र सदपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेल्दा होस्, तेक्वान्दोले नेपालको शिर उचो बनाएको थियो। तर फेरि त्यसप्रकारको सफलता दोहोर्याउन नेपाली खेलाडी अगाडि आउन सकेका छैनन्।रियोमा पनि नेपाल महिला खेलाडी निशा रावलले तेक्वान्दोमा सहभागिता जनाइन्। उनको तौल समूह थियो, ६७ केजी माथि। महिला तौल समूहमा यसलाई हेभिवेट समूह मानिन्छ।
तौल जस्तै निशाको पहिलो चरणको विपक्षी पनि हेभिवेट नै पर्यो। राउण्ड अफ १६ को पहिलो खेलमै निशाको भेट चिनियाँ शुयिन झेङसँग भयो। विश्वको नम्वर वन खेलाडी तथा रियोमा दोस्रो वरीयता पाएकी खेलाडीसँग नेपाली खेलाडीले खेल्नु आफैँमा चुनौतिपूर्ण नै हुन्छ।
त्यस्तै भयो निशाको हकमा पनि। उनी चिनियाँ खेलाडीसँग २-० को स्कोरमा पराजित भइन्।
१६ खेलाडीको मात्र सहभागिता रहेकोले यदि पहिलो चरणका खेल जित्न पाएको भए नेपाली खेलाडी पनि पदक नजिक पुग्न सक्थे। निशालाई पनि एउटा अवसर प्राप्त भएको थियो। कास्य पदकसम्म पुग्नका लागि, तर उनले दुई प्रतिद्वन्दीलाई हराउनुपर्ने भयो। निशालाई पहिलो चरणमा हराएकी चिनियाँ खेलाडी शुयिन फाइनलमा पुगेकाले निशाले यस्तो अवसर पाएकी हुन्।
कास्य पदकका लागि हुने भिडन्तका लागि पनि निशाले अर्को एक चरण अर्थात क्वाटरफाइनल पार गर्नुपर्ने थियो। त्यसमा उनको विपक्षी थिइन्, फ्रान्सेली खेलाडी। तर निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा निशा ४-३ को स्कोरमा पराजित भइन्। यदि निशाले फ्रान्सेली खेलाडी ग्वलड्स इपाङ्गेलाई हराउन सकेको भए कास्य पदकका लागि भिड्न पाउने थिइन्।
यसरी रियोमा नेपाली खेलाडीको चुनौति समाप्त भयो। ७ खेलाडीसँगै ५ खेलका ५ प्रशिक्षक रियो पुगेका थियो। सबैले आफ्नो खेलाडीलाई बेस्ट परफरमेन्स गराउनमै जोड दिएको बताइएको छ। उनीहरु कुन हदसम्म सफल भए, त्यो खेलाडीको प्रदर्शनले पनि देखाएको छ।
खेलाडी र प्रशिक्षक भन्दा झण्डै दोब्बर बढी पदाधिकारी अफिसियलका नाममा रियो पुगेका थिए। नेपालबाट ७ खेलाडी र ५ प्रशिक्षक गरी १२ जना थिए। तर नेपाल ओलम्पिक कमिटीले उपलब्ध गराएको आधिकारिक लिस्टमै पनि खेलाडी र प्रशिक्षक भन्दा पदाधिकारीको संख्या बढी थियो। कुल २७ सदस्यीय नेपाली टोलीमा १५ जना पदाधिकारी गएका थिए जसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टदेखि ओलम्पिक कमिटीका जीवनराम श्रेष्ठ सहित उपाध्यक्ष र अन्य सदस्यहरुको वर्चस्व थियो। यो त देखिने मात्र भयो, नदेखिने गरी वा लिस्टमा नाम नभएका व्यक्ति समेत रियोमा ओलम्पिक हेर्न पुगेका थिए। यसमा नम्वर वनमा थिइन्, जीवनरामकी पत्नी। उनले श्रेष्ठसँगै रियोमा खिचेको फोटो नेपाली मिडियामा भाइरल भएको थियो।
यस्तै देखिने र नदेखिने गरी गरेर ४१ पदाधिकारी रियो पुगेको खबरले पनि नेपाली मिडिया राम्रैसँग ततायो। भलै त्यसको तथ्य आउन अझै बाँकी छ र ओलम्पिक कमिटीले त्यसबार आफ्नो स्पस्टिकरण पनि देलान वा नदेलान् हेर्न बाँकी छ।
![](assets/upload/images/jesus.jpg)