PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

डिकेन्द्रमान जो रक र पप गीत गाउन छाडेर मन्दिरमा भजन गाउँदैछन्



स्वेच्छा राउत

डिकेन्द्रमान जो रक र पप गीत गाउन छाडेर मन्दिरमा भजन गाउँदैछन्

भर्खर प्लस टु सकाएको एक लक्का जवान केटा के सोच्लान्? अधिकांशको मनमा हुन्छ - पैसा कमाउने, जागिर खाने, विदेश जाने, घुम्ने। लामो कपाल, अग्लो कद, गहुँगोरो अनुहार - हेर्दा आकर्षक देखिने यो केटोको मनमा पनि त्यस्तै थियो। ड्रम, गितार बजाउँदै कार्यक्रमहरुमा रक र पप गीत गाउँदै हिँड्थ्यो। लक्ष्य थियो रकस्टार बन्ने।

तर अहिले उनको दैनिकी बिल्कुल फरक किसिमले बितिरहेको छ। सुन्दा कुनै बनावटी कथा जस्तो लाग्छ। तर यस्तै भयो साँखुका डिकेन्द्रमान सिंहको जीवनमा जसले उनको रकस्टार बन्ने सपनाको बाटो मोडिदियो। उनका अनुसार सपनामा देउता पटक पटक आएर उनलाई पप गीत होइन भजन गाउन भने।  

निकै असामान्य तरिकाले हरेक रात भगवान् प्रकट हुने सपनाका कारण उनले निकै अघिदेखि मन्दिरमा जाने, पूजा आराधना र सहयोग गर्न थाले। तर साँखुकै भाग्योदय उच्च माध्यमिक विद्यालयबाट होटल म्यानेजमेन्टमा प्लसटु सकेपछि भने शालीनदीको मन्दिरमै आफ्नो दैनिकी बिताउन थाले। त्यति बेला उनी २० वर्षका थिए।

उनले गाउनै त छोडेनन् तर पप गीतको सट्टा भजन गाउन थाले। बजाउनै त छोडेनन् तर गितार ड्रमको सट्टा तबला, हार्मोनियम र बाँसुरी बजाउन थाले।

उनको हजुरबुवा पुजारी थिए। त्यसैले सानैबाट हजुरबुवासँग मन्दिरमा जाने भजन गाउने, नाच्ने गर्थे। उनले कहिले सोचेका थिएनन्, आफू पनि हजुरबुवाकै बाटो समात्छु भन्ने। भने, 'भगवानको छत्रछायामा हुर्किएकाले होला हजुरबुवा हिँडेको बाटोतर्फ म आकर्षित भएँ।' 

उनलाई लाग्छ भगवान् प्रति गहिरो आस्था आफै हुने कुरा हो।

उमेरले भर्खरै तीन दशक टेकेका उनको धेरै ठूलो सपना नै छैन। उनी दैनिक जुरुक्क उठ्ना साथ मन्दिरमा आउँछन्, पूजा गर्छन्, मन्दिरमा आएका भक्तजनको लागि बस्ने व्यवस्था मिलाई दिन्छन्, चियाको व्यवस्था गर्छन्। सयौं भजन सुरतालमा गाउने उनी आफू मात्र गाउने बजाउने गर्दैनन्, मन्दिरमा भजन गाउन र सुन्न आउनेहरुका लागि वाद्यवादनका सामाग्री तयार गर्छन्। माइक मिलाउनेदेखि भिड मिलाउने जिम्मासमेत आफै लिन्छन्। 

'आनन्द र सन्तुष्टि नै ठूलो कुरा हो। मैले आस्था, विश्वास र त्याग गरेर पाउँछु भने अरुले त्यसलाई नस्वीकार्दैमा केही फरक पर्दैन,' उनी भन्छन्।

डिकेन्द्र निकै खुलेर आफ्नो मन्दिर जीवनको सन्तुष्टिको बखान गर्छन्। इच्छा नभएका कुराहरु मात्र त्यागेको उनको जिकिर छ। मन्दिरमा चाप नहुने समय त उनी साँखुमै रहेको आफ्नो घर जान्छन् र खेतिपातीमा आमाबुवालाई सहयोग गर्छन्। घरमा नपुग्दो केही छैन तर पनि उनी आनन्दकै लागि मन्दिरमा बसेर सेवा गर्छन्। उनको आवश्यकताहरु पनि भक्तजनले दिएका दक्षिणाले नै चल्ने उनले बताए।

उनी आफ्नो मन्दिर जीवनमाथि प्रश्न गर्नेलाई भन्छन्,'बिग्रिनै परेको भए घरबाट पाउने सुख सुविधा सबै लिएर, आमाबालाई दु:ख दिएर बिग्रन्थें नि। मलाई पनि किन बेकाममा रहर जाग्थ्यो र यहाँ सरल समय बिताउन?'

सुरु सुरुमा उनको आमाबुवा पनि दिक्क थिए छोराको बेताल देखेर। तर पछि पछि आमाबुवाले पनि आफ्नो कुरा बुझेको भन्ने कुरामा उनी ढुक्क छन्।

मन्दिरमा रहँदा खुट्टामा जुत्ता प्रयोग नगर्ने उनको बानीले भने एक पटक उनलाई गम्भीर घाइते बनायो। ४ महिने शिवको व्रतमा मन्दिर सजाउने काम गर्दै थिए। अचानक उनको खुट्टामा खिया लागेको किल्ला पस्यो। उनी पिडाले बोल्न नसक्ने भए। स्थानीयबासी र भक्तजनको प्रयासले न किल्ला निस्कियो, न रगत बग्न बन्द भयो। १५ दिन लामो उपचार पछि उनी अस्पतालबाट डिस्चार्ज भए।
भने,'१० वर्षको बसाइमा यही एउटा हो मैले दु:ख भोगेको घटना ।'

भगवान, भजन, मन्दिर बारे कुरा गर्दै गर्दा रमाइलोका लागि पहिलोपोस्टले 'गर्लफ्रेण्ड छ?'  भनेर सोधेको प्रश्नमा उनले केही लजाउँदै भने,'प्रेमिका त छ तर उसलाई म यसरी बसेको मन पर्दैन।'

उनकी प्रेमिका ठूलाठूला योजना बनाउँछिन् रे - दुई मिलेर घर बनाउने, गाडी किन्ने, देश विदेश घुम्ने। तर सिंहले उनलाई सम्झाउने गरेका छन्, यी सबै क्षणिक खुशीहरु हुन् भनेर।

डिकेन्द्र जस्तो अवस्थामा जसरी बसेका छन् त्यही अवस्थामा स्वीकार्न सकुन्जेल प्रेमिकाले साथ दिन्छिन् नत्र छोडेर गए पनि चित्त दुखाउने पक्षमा उनी छैनन्। भन्छन्, मेरो पहिलो र अन्तिम प्रेम नै देवता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell