PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​'सुर्के थैली खै'को युट्युबमा रेकर्ड : करोड कटाउने गीतका ६ तथ्य जुन तपाईँलाई थाहा नहुनसक्छ



स्वेच्छा राउत

​'सुर्के थैली खै'को युट्युबमा रेकर्ड : करोड कटाउने गीतका ६ तथ्य जुन तपाईँलाई थाहा नहुनसक्छ

काठमाडौँ :  उज्ज्वल घिमिरे निर्देशित फिल्म 'वडा नं छ'को गीत 'सुर्के थैली खै?' ले नेपाली गीतको इतिहासमा नयाँ कीर्तिमान राखेको छ। युट्युबमा १ करोड हिट्स कटाउने यो पहिलो नेपाली गीत भएको छ। रिलिज भएको एक वर्षपछि आज बिहान यो गीतको भ्युज १ करोड कटेको हो। 

मौलिक शब्द र संगीत प्रयोग गरिएको गीत गत साल अगस्ट ६ मा युट्युबमार्फत् सार्वजनिक भएको थियो। त्यसयता दशैं तिहारको कार्यक्रमदेखि स्कुल कलेजसम्मको स्टेज सोहरुमा यो गीत खुब लोकप्रिय बन्यो।

गीतका लेखक राजनराज सिवाकोटीले पहिलोपोस्टसँग भने, 'यस्तो मौलिक गीत एक करोड पटक युट्युबमा हेरिएला भन्ने सोचेको थिइनँ। यो त नेपाली संगीतको इतिहासमा पहिलो उपलब्धि बन्यो।'

यति धेरै पटक हेरिएको गीतका केही चाखलाग्दा तथ्य छन् जुन सार्वजनिक भएको छैन। 

१) सुर्के थैली च्यातिएको सम्झना


राजनले यो गीत कसरी बन्यो, त्यसको पृष्ठभूमि सुनाए- उनी निकै साना थिए। दोलखाको उनको गाउँमा पहिलो पटक नयाँ स्वादको चक्लेट आयो। सबैले किनेर खाएको देखेर त्यो पिप्लामेन्ट राजनलाई पनि खान मन लाग्यो। स्कुले विद्यार्थी उनिसँग पैसा थिएन। जसरी पनि नयाँ मिठाई खाने होडले उनलाई चोर बनायो। दिउँसो आमा घरमा नहुनु भएको मौका छोपेर उनले आमाको सुर्के थैली हात पारे। थैलीभित्र आमाले पैसा राख्ने गरेको उनले देखेका थिए। थैली हात त पर्यो  तर उनलाई थैली खोल्न आएन। राजनले आमाले खोल्ने गरेको तरिका सम्झिने प्रयास गरे। सक्छु होला भन्द थैलीको सुर्को ताने। तर थैली त खुल्नुको सट्टा च्यातियो। थैली भित्रको पैसा भुईंभरी छरियो। राजनले त्यसदिन नमज्जाले कुटाइ खाए।

बाल्यकालमा यस्ता थुप्रै रमाइलो घटना घटे। हुर्किसके पछि, तिनै घटनालाई उनले शब्दमा उतारे। कुनैलाई गीत बनाए कुनैलाई कविता। र कति त बिर्सिए पनि।

आमाको सुर्के थैली च्यातिएको यो घटना उनको र आमाको दुबैको मनमा गडेको छ। त्यसैले उनले लेखे सुर्के थैली।

२) पहिलो पटक रिलिज हुँदा कसैले वास्ता गरेको थिएन

गीत धेरैले सुन्न थालेको त १ वर्ष मात्र भयो। तर यो गीत लेखिएको ६ वर्षपछि २०७१ सालमै रेकर्ड भएर रेडियोहरुम बज्न थालेको थियो। मौलिक गीत सुन्ने जमात कम भएकै कारण गीत खासै चर्चामा आएन। गीतबाट खासै आशा थिएन उनलाई। त्यसैले गीतले चर्चा नकमाउनुले उनमा खासै असर पनि गरेन।

फिल्म साथै एल्बमहरुका लागि गीत लेख्ने उनले वडा नम्बर छ का लागि लोक गीत लेख्ने भए। उनले लेखेको नयाँ गीतले फिल्म निर्माण टोलीका दिपकराज गिरी र दीपाश्री निरौलालाई खासै छोएन। फिल्मको कथा लेखक अभिनेता समेत रहेका दीपकराज गिरीले भने,'राजन जिले पुरानो गीत छ एउटा तर सार्वजनिक भइसकेको  भन्नुभयो। थपे, 'सुन्दैमा त के हुन्छ र भनेर सुनेँ। मन पर्‍यो।'

सुर्के थैली सुनिसकेपछि दीपकलाई लाग्यो, निकै राम्रो गीतले ठाउँ नपाएको रहेछ। र दीपासँगको सल्लाहपछि फिल्ममा सुर्के थैली राख्ने निर्णय भयो। दीपकराज गिरीलाई गीतमा प्रयोग भएका मौलिक शब्द, लय र संगीतले आकर्षित गरेको थियो। 

३) सामन्तीलाई सिध्याउने बन्दूक मेरो खोई?

शायद पुरानो गीत भएकैले फिल्ममा यो गीत फ्ल्यासब्याकमा प्रयोग गरिएको छ। माओवादी सशस्त्र युद्धको पृष्ठूभूमिमा बनेको यो फिल्मका मुख्य कलाकारहरु लडाकु हुन्छन्।

उनीहरुले क्याम्पमा नाचगान हुँदा गीत गाउँछन्- सामन्तीलाई सिध्याउने बन्दूक मेरो खोई? यसैक्रममा उनीहरुले आफ्ना प्रियहरुलाई सम्झन्छन्। फिल्मका मुख्य पात्र दीपकराज गिरी, केदार घिमिरे, दयाहाङ राईले आफ्ना प्रेमिकाहरुलाई सम्झदा सुर्के थैली गीत बज्छ र त्यसैमा उनीहरु नाच्छन्। युट्युबमा भएको गीत र फिल्ममा दर्शकले देख्ने गीतमा फरक छ। फिल्मको गीतमा लडाकु ड्रेसको झलक पनि देखिन्छ तर युट्युबमा भएको गीतमा देखिन्न। 

४) मूलपानीमा दुई दिन लगाएर भएको थियो सुटिङ


काठमाडौं मूलपानीको चौरमा छांयङ्कन गरिएको गीतमा यी कलाकारहरुसँगै कम्मर मर्काउँछन् दीपाश्री निरौला, प्रियंका कार्की र रंजिता गुरुङले।
गीतको भिडियो छायंकन सकाउन दुई दिन लागेको थियो। सुटिङ अनुभव सुनाउँदै पहिलोपोस्टसँग दीपकले भने,'अरु त सबै सहज थियो तर दयाहाङलाई नचाउन निकै गाह्रो भयो। ऊ एक्टिङको पार्ट मजाले गर्थ्यो र डान्सको स्टेप गर भन्दा नाक खुम्चाउँथ्यो।'

५) माग्ने बुढाले उचाल्न नसक्दा धकेल्ने स्टेप


सुटिङको रमाइलो सम्झँदै दीपाश्री निरौलाले भनिन्, 'केदार घिमिरे (माग्ने बुढा) सँग नाच्ने स्टेप थ्यो। तर म मोटी भएकोले उसले उचाल्न सकेन।' माग्ने बुढाले उचाल्न नसकेपछि उचाल्नु पर्नेमा धकेल्ने स्टेप राखेको कुरा दीपाले खित्का छोड्दै बताइन्।

दीपाश्रीलाई पनि लाग्छ सुर्के थैली, खाता बही, ठेकी, मदानी जस्ता मौलिक शब्द र सुमधुर संगीतका कारण गीतलाई धेरै स्रोताले रुचाएका हुन्।

​६) हास्य कलाकारलाई नचाउनै गाह्रो


सुर्के थैलीलाई एक करोड पटक हेरिनुमा गीतको भिडियो पनि मुख्य कारण भएको बताउँछिन् दीपाश्री निरौला। तर जति सुन्दर अनि सरल देखिन्छ भिडियोमा नृत्य, नृत्य निर्देशक शंकर बिसीलाई त्यति नै सहज भने भएन। महिला कलाकार मजाले नाचे पनि पुरुष कलाकार नचाउन त्यति नै गाह्रो भएको उनको अनुभव छ। उनले दयाहाङ राईलाई कम्मर मर्काउन लगाउनु पनि ठूलै उपलब्धि भएको बताए। शंकर बिसीले निकै रमाइलो मान्दै भने,'हास्य कलाकारलाई नचाउन निकै गाह्रो।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell