PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

महँगो बन्दैछ तीज, भिडियो छायांकनदेखि दरसमेत पार्टी प्यालेसमै



स्वेच्छा राउत

महँगो बन्दैछ तीज, भिडियो छायांकनदेखि दरसमेत पार्टी प्यालेसमै

काठमाडौं : पोहोर साल अख्तियार दुरुपायोग अनुसन्धान आयोगले पार्टी प्यालेसमा ५० जनाभन्दा बढी जम्मा भएर दर खाने तथा तीज कार्यक्रम गर्न नपाइने सूचना निकाल्यो। त्यसो गरेको खण्डमा आयोजकलाई कारबाही गर्ने चेतावनी पनि दियो अख्तियारले। तर तीजको रमझम र दर खाने कार्यक्रम चलिरह्यो। न पोहोर नै यो क्रम रोकियो न त यसपालि नै।
 
हुन त तीज आउन अझै केही दिन बाँकी नै छ। तर यसको रमझम सुरु भइसकेको छ। तीजको लवाइखवाइ भड्किलो बन्न थालेको भन्दै केही वर्षयता गृह मन्त्रालयले भड्किलो तीज नमनाउन सूचना जारी गरे पनि कार्यान्वयन हुन सकेको छैन।
 
तीजलाई विशेष गरी नारीहरुको रमाइलो चाड हो। जसरी पहिले पहिले व्रत बस्ने, नाचगान गर्ने र दर खाने प्रचलन थियो। पछिल्लो समय यसमा विकृति बढेको संस्कृतिकर्मीहरुले पनि बताउँदै आएका छन्।
 
तीज गीतमा विरह वेदनाका गीत हुन्थे पहिले। माइत जान नपाएको पीडा तथा घरमा पाएको दु:ख पनि समेटिन्थ्यो। खाँटी लोकभाकाका तीज गीत साँच्चिकै मन छुने हुन्थे।
 
तर समय बदलियो। तीजकै लागि विशेष गीति एल्बम वा गीत निकाल्नु अहिले फेसन बनेको छ।
 
यो वर्ष युट्युब र टेलिभिजनहरुमा देखिएका अधिकांश तीज गीतको छायांकन पार्टी प्यालेसमै भएका छज्। यसरी तीजमा सांगीतिक दर खाने कार्यक्रमदेखि तीज गीतको म्युजिक भिडियो तयार पार्ने जक्सन पार्टी प्यालेस बन्न थालेको छ।

अफ सिजनमा पार्टी प्यालेसका लागि तीज बम्पर अफरझैं बनेको अनुमान गर्न सकिनछ।
 

पार्टी प्यालेसमा तीज पार्टी

तीज गीत सुटिङका लागि काठमाडौंका पार्टी प्यालेसहरुले हलको चार्ज एक दिनका लागि १५ देखि २५ हजार सम्म लिने गरेका छन्। यसले प्रष्ट देखाउँछ, तीजको गीत सुटिङ मात्र पनि पार्टी प्यालेसहरुका लागि अफर बनेको छ।

विवाहको सिजनबाहेक अन्य समय खाली हुने पार्टी प्यालेस तीजको बेला बुक हुन थालेका हुन्।
 
दियालो फुडल्यान्ड बसुन्धाराका व्यवस्थापक राजु कँडेलका अनुसार यहाँ मात्रै यो साल तोजका ३१ वटा गीत छायांकन भए। फुडल्यान्डले एक दिनको हलचार्ज १५ हजार तोकेको थियो। बिहान ८ देखि बेलुकी ५ बजेभित्र सुटिङको काम सकाउनुपर्ने व्यवस्थापनको सर्त थियो।
 
यसरी अफ सिजनमा पार्टी हल खाली राख्नुको सट्टा सुटिङकै लागि भए पनि दिँदा फाइदा हुने भएकाले हल खुल्ला राखेको कँडेल बताउँछन्।
 
व्यावसायिक बन्न नसकेको नेपाली संगीत क्षेत्रमा तीजको गीत सीमित समय लागि आउँछन् र हराउँछन्। किनकि यस्त गीत निश्चित चाडका लागि मात्र तयार गरिएका हुन्छन्।

मार्केट राम्रो नभएकै करण गीत रेकर्डिङदेखि भिडियो सुट गर्दासम्मका लागि बजेट पनि निश्चित छुट्टाइन्छ।
 
खुल्ला चौरमा सुट गर्दा पनि हुने तीज गीतका लागि किन पार्टी प्यालेस नै रोजाइ बन्दैछ त?
नृत्य निर्देशका शंकर बिसी भन्छन्, ''पानी पर्ने मौसममा तीज गीतको समय सुरु हुन्छ। बाहिर सुट गर्दा पानीले समस्या पार्ने भएकाले पार्टी प्यालेसमै सजिलो भयो।'
 
विसीले यो वर्ष मात्र ७५ गीतको भिडियो निर्देशन गरे, जसमा आधाभन्दा बढी भिडियोको छायांकन पार्टी प्यालेसको हलमा गरिएको छ। खुला ठाउँमा भन्दा पार्टी हलभित्रका सजावट आकर्षक देखिने उनको तर्क छ।
 
सुकेधाराको एसियन पार्टी प्यालेसमा यही वर्ष मात्र १७ वटा गीतको भिडियो सुट भयो। हलको चार्ज एक दिनको २० हजार। प्रबन्धक सन्तोष सुल्लेउले भने, 'व्यवसायको सिजन हुँदैन। जहिले जे गर्दा आफूलाई फाइदा हुन्छ त्यही गर्ने हो। त्यसैले पार्टी हल विवाहकै लागि मात्र प्रयोग गर्नुपर्छ भन्न मिल्दैन।'
 
यसरी गीतको भिडियो सुट हुँदा आफ्नै पार्टी प्यालेसको प्रचारको फाइदा पनि हुने उनी बताउँछन्।
 
व्यवसायको राम्रो स्रोत बनेको पार्टी प्यालेस र फुडल्यान्डहरुमा स्पेस र व्यवस्थापनको आधारमा चार्ज लाग्ने गरेको नृत्य निर्देशक र गायक-गायिकाको भनाइ छ।
 
लोकदोहोरी गायक पशुपति शर्मा थोरै मात्र बढी खर्चले मौसमको चिन्ता दुर हुने बताउँछन् । 'पार्टी प्यालेसका लागि बजेट थोरै बढी छुट्टाउन परे पनि छायांकन मजाले सक्काउन पाइन्छ,' उनी भन्छन्।
 
गायिका अनिता चलाउनेले पनि धुलोधुवाँदेखि बर्खाको हिलोरहित वातावरणमा गीत छायांकनका लागि पार्टी प्यालेस सही ठाउँ हुने बताइन्।
 
गीतको सुटिङसँगै तीजका कार्यक्रम र दर खुवाउनका लागि पार्टी प्यालेस पछिल्लो समय धेरैको रोजाइमा परेको छ। विभिन्न संघसंस्था र समूहले तामझामका साथ तीज आउनु एक महिनाअघिदेखि दर कार्यक्रम आयोजना गर्दै आएका छन्।
 
काठमाडौंको धुम्बाराही पार्टी प्यालेसका व्यवस्थापकका अनुसार एउटा सिजनमा तीजका १० देखि १५ वटा दरका कार्यक्रम आयोजना हुन्छन्। एउटा समूहले खाना खाजाको ६ देखी ८ सय रुपैयाँसम्म प्रतिप्लेट खर्च गर्ने गरेका छन्। 'विवाहको सिजन नहुँदा यस्तै पर्व विशेष कार्यक्रमहरुले हामीलाई फाइदा भइरहेको छ,' उनी भन्छन्।
 
टोखामा रहेको गोधुली फुडल्याण्डले पनि एउटा भिडियो सुटका लागि पार्टी हल १५ देखि २० हजारमा लिने गरेको छ। आवश्यकताअनुसार खाजाखानाको पनि व्यवस्था गर्ने यो पार्टी प्यालेसमा यो वर्ष सात वटा गीत छायांकन भयो। फुडल्याण्डका कर्मचारी श्रवण चौधरीका अनुसार भिडियो सुटभन्दा पनि यहाँ दर कार्यक्रम बढी हुने गर्छ। एउटा सिजनमा कम्तीमा १५ वटा समूहको दर कार्यक्रम आयोजना गर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell