PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

प्रचण्ड प्रधानमन्त्री भइसके, फुटबलर राकेश अपार्टमेन्टको 'डमी' सुमसुम्याउँदैछन्



गोविन्दराज नेपाल

प्रचण्ड प्रधानमन्त्री भइसके, फुटबलर राकेश अपार्टमेन्टको 'डमी' सुमसुम्याउँदैछन्

काठमाडौं : हरेक खेलाडीले आफ्नो राष्ट्रका लागि ज्यान दिएर खेल्छ। तर त्यही राष्ट्रले घोषणा गरेको पुरस्कार पाँच वर्षसम्म पनि नपाउँदा उसलाई कस्तो लाग्ला?
 
राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान राकेश श्रेष्ठसँग यसको नमिठो अनुभव छ।
 
पाँच वर्षअघि अखिल नेपाल फुटबल संघ एन्फाले उत्कृष्ट फुटबलरको सम्मानस्वरुप अपार्टमेन्ट दिने निर्णय गरेको थियो उनलाई। तर, उनले अपार्टमेन्ट त पाएनन् नै। अहिलेसम्म कसैले यसबारेमा कुरै गरेको छैन।
 
उनलाई २०६८ सालमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राकेशलाई अपार्टमेन्टको डमी हस्तान्तरण गरेका थिए। त्यो फोटो उनले फेसबुकमा पोस्ट पनि गरेका थिए, त्यतिखेरै।
 
मंगलबार राकेशले आफ्नो पुरानो मेमोरी फेसबुकमा शेयर गरे। जहाँ प्रचण्डले डमी हस्तान्तरण गरिरहेको फोटो देख्न सकिन्छ।
 
ठिक पाँच वर्षपछि उनै प्रचण्ड प्रधानमन्त्रीको पदमा आसीन हुन आइपुगेका छन्।

राकेशसँग पाँचवर्षे तितो अनुभव बुझ्न हामी बुधबार उनकै घरमा पुग्यौं।

उनले यसरी सुनाए- 

'मैले अपार्टमेन्ट पाउनका लागि फुटबल खेलेको होइन। राष्ट्रको लागि केही गर्छु, योगदान दिन्छु भनेर खेलेको हुँ। आफूलाई भाग्यमानी यस मानेमा ठान्छु कि अपार्टमेन्ट पाउने म नै पहिलो खेलाडी बनेँ। २०६२ मा एन्फाले उपेन्द्रमान सिंहलाई कारबाट सम्मान गरेपछि २०६३ मा हरि खड्कालाई पनि कार प्रदान गर्‍यो। त्यसअनुसार मैले पनि २०६४ सालमै पाउनुपर्ने थियो। तर पाँच वर्षपछि मात्र पाएँ।
 
अपार्टमेन्ट त पाएँ तर बन्दै नबेनको अपार्टमेन्ट मलाई दिइयो। यस मानेमा पाँच वर्षपछि सम्मान गर्नुमा केही रहस्य छ।
 
म सबभन्दा बढी निराश भएको यही पाँच वर्ष हो। मलाई २०६४ सालमै दिइएको भए अपार्टमेन्टमा बस्न थालेको पनि १० वर्ष पुग्ने रहेछ।
 
एन्फाले २०६८ सालमा पनि घोषणा गर्नेबित्तिकै दिएको भए हुन्थ्यो तर दिइएन। खेलाडीको लागि भनेर बजेटमा छुट्याइएको रकम पनि एन्फाले दिएन। अपार्टमेन्ट दिने भनेर झुक्याइदियो।
 
यो सम्मान त एन्फाको नभई राज्यको थियो। यसबीचमा मैले एन्फाका प्रत्येक पदाधिकारीसँग कुरा गरेँ। सबैले हुन्छ भनेर आश्वासन मात्र दिए। कामै गरेर देखाउने कोही भएनन्।
 
एन्फाले कुनै पदाधिकारीले पनि मलाई अपार्टमेन्टको बारेमा केही जानकारी गराएको छैन। कुनै सहानुभूति पनि देखाएका छैनन्। घोषणा गरेपछि अपार्टमेन्टको मान्छेले पनि अहिलेसम्म मसँग कुरा गरेका छैनन्।
 
जब मैले अपार्टमेन्ट पाउँदैछु भनेर खबर पाएँ, ओहो त्यो खुसी म शब्दमा भन्नै सक्दिनँ। मेरो परिवार पनि कति खुसी भएको थियो।
 
अब त त्यसको चार्म पनि घटिसक्यो।
 
सुरुमा कार दिँदा खेलाडी धेरै खुसी थिए। खेलाडीले पनि कार पाउने रहेछ भनेर हामीमा उत्साह थपिएको थियो।
 
मेरो पालमा त अपार्टमेन्ट नै पर्‍यो। मलाई झुक्याइएको थियो सायद। नत्र किन पाँच वर्षपछि दिइयो। घोषणा गरेर पनि बन्दै नबनेको अपार्टमेन्ट किन दिइयो? यस्तो घटना त संसारमा कतै भएको छैन होला।
 
यदि मलाई त्यसको बदलामा पैसा नै दिएको भए पनि अहिले त्यसको कति लगानी भइसक्थ्यो वा मैले त्यसको त उपयोग गर्न पाउँथे।
 
एन्फाका कोही व्यक्तिले मलाई एक वचन सोधेको छैनन् अपार्टमेन्टको बारेमा।
 
म मात्र होइन, मपछिका अन्य दुई खेलाडी सागर थापा र रितेश थापालाई पनि अपार्टमेन्ट दिइयो। तर उनीरुले पाएका छैनन्। दुर्भाग्य उनीहरु फिक्सिङको सिकार भए। अब त पाउने नपाउने ठेगान पनि छैन। यदि उनीहरुले पनि घोषणा हुनेबित्तिकै पाएको भए अहिले जे जस्तो भए पनि अपार्टमेन्टमा बस्न पाउँथे।
 
मैले अब एन्फाका भन्न बाँकी व्यक्ति भनेको वीरबहादुर खड्का मात्र हुन्।
 
नेपालको लागि १२ वर्ष खेलेँ। प्रहरीमा १८ वर्ष बिताएँ। सायद प्रहरीमा पनि यति धेरै समय लगातार खेल्ने म नै हुँला।
 
अहिले सबैले सोध्छन्- 'राकेश अपार्टमेन्टबारे के भइराछ' भनेर। म त यो सुन्दासुन्दा दिक्क भइसकेँ।
 
एन्फाले पनि मलाई पुरस्कृत गरेर लज्जित बनाएको महसुस हुन थालेको छ।
 
पुरस्कार पाएर पनि लज्जित हुनुपर्ने यस अवस्थामा अब एन्फाले अपार्टमेन्ट दिए पनि त्यसको कुनै अर्थ हुँदैन।
 
खेलुन्जेल हो सबैले माया गर्ने। छाडेपछि कसैले वास्ता नगर्ने रहेछन्।
 
म फुटलबको खराब कुरा नगर्ने, खराब नचिताउने मान्छे हुँ। कसैको चाकडी गर्न पनि जानिएन। त्यसैले पनि मेरो इमानदारिताको फाइदा अरुले उठाएका हुन सक्छन्।
 
यही कारण केही समय म निकै तनावमा रहेँ। फुटबलबाट टाढिन खोजेँ तर सकिन। फुटबल नै जीवन बनिसक्यो। फुटबलबाहेक केही जानेको पनि छैन। अब प्रशिक्षक करियरतिर लाग्छु होला। त्यसका लागि पनि पहिले क्वालिफाइड हुनुपर्‍यो।
 
अहिले मसँग सी लाइसेन्स छ। अब बीको लागि तयारी गर्छु। फुटबलबाट टाढा बस्ने भन्ने त कुरै आउँदैन।
 
आजकाल शनिबार बिहान एन्फामा ग्रासरुट अन्तर्गत साना खेलाडीहरुलाई ट्रेनिङ गराउँछु। करिब दुई सय छन्। दुई सिफ्टको हुन्छ। तर यो एन्फाको जागिर भने होइन।
 
२०६८ सालमा मलाई पुष्पकमल दाहालले उक्त अपार्टमेन्टको डमी हस्तान्तरण गर्नुभयो। अहिले पाँच वर्षपछि त उहाँ नै नेपालको प्रधानमन्त्री हुनुहुन्छ।
 
उहाँले सोच्नुहोला यस विषयमा। यो सन्देश उहाँसम्म पुगोस् कि पाँच वर्षसम्म पनि राकेशले अपार्टमेन्ट पाएको रहेनछ।'
 

प्रेरणा १९९३ को साग

१९९३ मा नेपालले साग गेम्समा स्वर्ण जित्दा एकदमै खुसी थिए, राकेश। त्यसबाट प्रभावित भएरै उनी फुटबलतिर लागे। 'हुन त मेरो पारिवारिक पृष्ठभूमि पनि फुटबलमय नै थियो तर मलाई फुटबलमै लाग्न र देशको लागि खेल्नचाहिँ त्यसैले प्रेरित गर्‍यो,' उनी सुनाउँछन्। त्यसको ६ वर्षपछि नेपालमै आठौं साग गेम्स आयोजना भयो। अहिलेसम्मकै सर्वाधिक ३२ स्वर्ण जित्दा फुटबलमा भने नेपाल रजतमै चित्त बुझाउनुपर्‍यो। तर पनि उनी खुसी नै थिए।
 
त्यसभन्दा अघि त उनले सोचेका पनि थिएनन् फुटबलमा सिरियस्ली लाग्छु भनेर। तर जब रजत जिते अनि भने उनको मन फुटबलतिरै तानियो। त्यसपछि निरन्तर १२ वर्ष राष्ट्रिय टीमका लागि खेलेका राकेशले नेपालले भाग लिएका लगभग सबैखाले प्रतियोगिता खेले।
 

रिजल्ट ओरियन्टेड गेम

राकेश फुटबललाई रिजल्ट ओरियन्ट गेम मान्छन्। जति राम्रो प्रदर्शन गरे पनि आखिर अन्त्यमा देखिने भनेको त्यसको नतिजा नै हो।
 
रिजल्ट आएन भने केही हुँदैन। अलिकति भाग्य पनि चाहिन्छ, च्याम्पियन बन्न। उनी यसै भन्छन्।
 
अहिले नेपाली फुटबलले जुन सफलता हात पार्‍यो, त्यो रिजल्टले गर्दा नै चर्चित बनेको छ। पहिले पनि सेमिफाइनलसम्म पुगेको हो साफमा तर भाग्यले साथ दिएन।
 
'लक हो। प्यासन चाहिन्छ अनि सहि ठाउँमा क्लिक पनि हुनुपर्छ सफलता हात पार्न,' उनको अनुभवले भन्छ, 'एकचोटि सफलता हात लाग्यो भनेर चुप लागेर बस्नु पनि हुँदैन। घमण्ड गर्नु हुँदैन। निरन्तरता दिनुपर्छ।'
 
अबको साफ गेम्समा प्रमाणित गरेर देखाउनुपर्ने चुनौती छ। त्यसका लागि अहिल्यैदेखि योजना बनाएर तयारी सुरु गर्नुपर्ने बताउँछन् उनी।
 
 

त्यो बंगबन्धु, यो बंगबन्धु

गत वर्ष नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलको उपाधि जित्दै  २३ वर्षअघिको अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्यो। राकेशको पालामा पनि नेपालले बंगबन्धु गोल्डकप खेलेको थियो। तर त्यो बेला र अहिले धेरै परिवर्तन भइसकेको छ।
 
'त्यतिखेर घाना, ब्राजिल लगायतका टीम आउँथे। सिनियर टीमले खेल्थे,' उनी सुनाउँछन्, 'तर अहिले युवा टोलीले खेल्यो। भाग्यले पनि नेपाललाई साथ दियो। नेपालले खेलेका विपक्षी टीमहरु पनि नेपाल जस्तै नै थिए।'
 
दक्षिण एसियामा सबै टोलीको अवस्था उस्तै रहेको उनको बुझाइ छ। भारत पावरहाउस हो। माल्दिभस पनि उस्तै छ। बंगलादेश, श्रीलंका र पाकिस्तानलाई क्रिकेटले पनि असर गरेको छ। भुटानको भने केही चार्म बढेको छ। उनीहरुले फुटबल लगायत खेलकुदलाई पनि महत्व दिएका छन्।
 

घरेलु फुटबल

कुनै पनि देशको मेरुदण्ड भनेको आन्तरिक फुटबल नै हो। लिग फुटबललाई बलियो आधार मान्छन् राकेश।
 
'लिग मजबुत हुनपर्छ। खेलाडी उत्पादनका लागि एकेडेमीको निर्माण गर्नुपर्छ। स्कुलस्तरीय टुर्नामेन्ट हुनुपर्छ,' उनी सुझाउँछन्, 'स्कुलको मान्छे खेल्न पाउँदैनन्। बाहिरका खेल्छन्, त्यो मापन गर्नुपर्छ।'
 
अन्तर्राष्ट्रिय सहभागिता मैत्रीपूर्ण म्याचहरु निरन्तर रुपमा खेलिनुपर्नेमा उनको जोड छ। अब आउने एन्फाको नयाँ नेतृत्वले कसरी फुटबलको विकास गर्न सकिन्छ भनेर योजना बनाएर नयाँ तरिकाले अगाडि बढ्नुपर्ने उनले सुझाव दिए।
 
'खेलाडीलाई म खेलाडी हुँ भन्ने भावना जगाउने र खेलेरै पनि बाँच्न सक्ने निर्धक्क भएर हिँड्न सक्ने बनाउनुपर्छ,' उनी भन्छन्।
 
जर्सी नम्बर ३ लगाएर विपक्षी फरवार्डका लागि जब्बर डिफेन्डरको रुपमा प्रस्तुत हुने राकेशलाई मन पर्ने खेलाडी भने ब्राजिलका फरवार्ड रोनाल्डो हुन्। घरेलु फुटबलमा भने सूर्यमान श्रेष्ठ र विमल घर्ती मगरको खेलले तानेको छ।
 

इमानदार र भलादमी

राकेशले एक दशकभन्दा बढी फुटबल खेल्दा पाएको नाम हो इमानदार र भलादमी। आखिर उनी छन् पनि त्यस्तै। उनलाई कहिल्यै अरुको बारे नराम्रो कुरा गर्न मन लागेन। नराम्रो सोचेनन्। चिताएनन्।
 
सधैं फुटबल नै भनेर निरन्तर लागिरहे। चर्चित भए। देशविदेश घुमे। तर आफूले पाउनुपर्ने पुरस्कार घोषणा गरेर पनि नपाउँदा भने उनी आफ्नै इमानदारी कमजोरी हो कि भनेर सोच्छन्। कुनै पनि बेला उनको नराम्रो कुरा आए। डिफेन्समा जब्बर राकेशलाई पास गर्नु कुनै पनि फरवार्डलाई च्यालेन्ज नै हुन्थयो। नेपालका लागि कुल ५० खेल खेलेका उनले ३४ खेल सब्सिच्युट नभई खेले। ४७ खेलमा ९० मिनेटसम्म खेले।
 
'राष्ट्रको लागि प्रतिनिधित्व गर्न पाउनु कुनै कुरो हुँदैन,' राकेश भन्छन्, 'अहिले जता जाऊँ मलाई खेलाडी भनेर सबैले चिन्छन्। इज्जत गर्छन्। त्यही नै हो मैले अहिलेसम्म पाएको खुसी।'
 
आखिर उनले अपार्टमेन्ट कहिले पाउँछन् कि पाउँदैनन्? त्यो त राकेशलाई पनि थाहा छैन। यदि पाइसकेको भए राकेशको सानो परिवार अहिले हात्तीवनस्थित अपार्टमेन्टमा सुखका साथ बसिरहेको हुन्थ्यो। राकेशले पनि खेलेरै अपार्टमेन्ट कमाइयो भनेर गर्वको छाती फुलाउँथे होलान्। तर त्यसो हुन सकेन। अझै पनि एन्फाले पहल गर्ने हो भने असम्भव भने छैन।
 
डमी प्रदान गरेकै व्यक्ति अहिले प्रधानमन्त्री छन्। सायद यो समाचार देखे भने उनलाई पनि अचम्म लाग्ला- 'किन राकेशले पाँच वर्षसम्म पनि अपार्टमेन्ट नपाएका होलान्?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell