
काठमाडौँ : विपक्षीको नाराबाजी र विरोधका बीच संविधान सभा अध्यक्ष सुवास नेम्वाङले बहुमतीय प्रक्रियामा संविधान सभालाई लाने प्रस्ताव आफ्नै टेबलबाट प्रस्तुत गरेर पारित गराएपछि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले लगाएका पाँच आरोप यस्ता छन्-
१) कलंकको टीका
सभामुखले कलंकको टीका लगाएको आरोप उनले लगाए। संविधान सभा भवनबाट बाहिरिएपछि सञ्चारकर्मीहरुलाई आक्रोशित हुँदै प्रतिक्रिया दिने क्रममा उनले भने, ‘ एउटा कलंकको टिको आज सभाध्यक्षले पनि लगाउनुभएको छ।‘२) अघिल्लो संविधान सभामा किन बैठक बोलाइएन ?
प्रचण्डले अघिल्लो पटक आफूहरु ठूलो पार्टी हुँदा दुई तिहाई बहुमतको हस्ताक्षर भएको फाइल हुँदासमेत बैठक किन राखिएन भन्ने प्रश्न गरेका छन्। उनले भने, ‘अघिल्लोपटक हामी ठूलो पार्टी थियौं, मेरो हातमा दुईतिहाई बहुमतको हस्ताक्षर भएको फाइल पनि थियो। म आफैं विवाद समाधान उपसमितिको त्यतिबेला संयोजक पनि थिएँ। त्यतिबेला एउटा बैठक राख्नुहोस, तपाईं अध्यक्षको कर्तव्य हुन्छ भन्दा बैठक नराख्ने यही सभाध्यक्ष हुनुहुन्छ।‘३) पार्टी प्रवक्ता भए, पार्टी कार्यकर्ता जस्तो भए
प्रचण्डले नेम्वाङलाई लगाएको अर्को आरोप हो पार्टी प्रवक्ताका रुपमा कामकारबाही गर्नु। नेम्वाङ सत्तारुढ दल नेकपा एमालेबाट निर्वाचित सभासद् हुन्। उनले भने, ‘सिङ्गै तीन वर्ष बाँकी छ संविधानसभाको अवधि तर जबर्जस्ती पार्टी प्रवक्ताको रुपमा उहाँले नियम कानुन मिचेर जे काम गर्नुभएको छ यसको परिणाम राम्रो हुने छैन।‘त्यसैगरी संविधान सभा परिसरबाट सिधै सिंहदरबारस्थित आफ्नो दलको संसदीय कार्यालयमा बसेको संसदभित्रका १९ दलसहित ३० दलको विपक्षी मोर्चासँगको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले सभाध्यक्ष 'कांग्रेस-एमालेको कार्यकर्ता जस्तो' भएको बताए।

संविधान सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रचण्ड।