
काठमाडौँ : नायिका बिनिता बराल आफ्नो किताब 'जुइनो' विमोचनका लागि नेपाल आउँदा, सामाजिक सञ्जालमा खुब सक्रिय रहिन्। फेसबुक र ट्विटरमा रहेका उनका फ्यान साथै शुभचिन्तकहरुले किताबको प्रचार प्रसारका लागि सहयोग पनि गरे। पुस्तक विमोचन भयो र उनी पुन: अमेरिका फर्किइन्।
सामाजिक सञ्जालले बिनिता बरालको पुस्तक प्रचार, विमोचन र बिक्रीका लागि मात्र होइन प्रेम जीवनको पनि सुरुवात गराइदिएको खुलासा भएको छ।
पुस्तक सार्वजनिक हुनु अघि उनलाई ट्विटरमा डाइरेक्ट मेसेज (डिएम) आयो,'मलाई पनि जुइनो पढ्न मन छ'। मेसेजकर्ता थिए स्याङ्जाका तिलक पौडेल जो हाल अमेरीका ओहायोमा छन्। त्यही डिएमबाट भयो चिनाजानी र बढ्यो कुराकानीको क्रम।
@TheTilaq I love you 😂😂
— बिनिता बराल 'जुइनो' (@beenitabrl) August 3, 2016

गफ बढ्दै गएपछि दुईजनाको सोच, लक्ष्य र भावना मिलेको बताउँछिन् बिनिता। तर सुन्दा अचम्म लाग्छ सक्छ उनीहरुको एरेन्जड अफियर सुरु भएको हो। एकअर्का मनपरे पनि दुवैको घरमा विवाहको लागि स्वीकृत नभएसम्म सम्बन्धमा बस्ने पक्षमा थिएनन् बिनिता र तिलक। परिवारमा कुरा गरेर सम्बन्धमा रहेका यी नवजोडी अर्को वर्ष जुलाईमा वैवाहिक जीवनमा गाँस्ने योजनामा छन्।
तपाईंलाई तिलक पहिलो पटक भेट्दा कस्तो लाग्यो? भन्ने प्रश्नमा बिनिताले सटिक जवाफ दिइन,'जोकर'। भनिन्,'हँसाएरै मार्छ। यति धेरै फन लभिङ छ, उसको त्यही नेचर एकदम मनपर्यो।'
बिनिताले तिलकलाई जोकर नै भनेर सम्बोधन गर्छिन् भने तिलकले उनलाई बेबी भन्छन्।
फिजिक्समा पिएचडी गरिरहेका तिलक र एमबिए पढ्दै गरेकी बिनिताको पढाई अमेरिकामा सकाएर नेपाल आउने प्लान छ। भनिन्,'सेटल कता हुने चाहिँ निर्णय गरिसकेका छैनौं।' (फोटो : बिनिता बरालको फेसबुक)