एलिजाको पुस्ता नै राजनीतिबाट विरक्तिएको छ। 'सर्टकट लाइफ' र 'फास्टफुड' जिन्दगीले घेरिएको छ उनको पुस्ता। 'आई हेट पोलिटिक्स' उनको उमेर समूहका धेरैले यसै भन्छन्। विदेशिनु यिनीहरुको आकांक्षा र लक्ष्य बनेको छ। त्यसैले जीवनशैली पनि उतैतिरको। एलिजाको पुस्ताका धेरै त पब र क्लबहरुमा पसिना बगाउने गरी 'मेहनत' गरिरहेका भेटिन्छन्। तर, यिनी सडकतिर हुन्छिन्। पछिल्लो पटक नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि यिनी 'सानी सेलिब्रिटी' नै भएकी छिन्। विद्यार्थी राजनीतिमा 'अंकल'हरुसँग भिड्दै आएकी एलिजा त्यसैले त अरुभन्दा अलग छिन्।
एलिजा ढकाल, उमेर २२। तनहुँमा पढ्दा पढ्दैको कलेज छाडेर काठमाडौं आइपुग्दा उनको 'इनकाउन्टर' भयो अखिलका विद्यार्थीसँग – रत्नराज्यलक्ष्मी क्याम्पसमा। हँसिली एलिजालाई पहिलो दिन नै 'प्रपोज' आयो – अखिलको राजनीतिमा लाग्न। तर उनको प्रेम अन्तै थियो – कांग्रेसतिर। क्याम्पसमा राजनीति सुरु भएदेखि अखिलको झन्डा गाडिएको क्याम्पसमा भर्ना भएकी उनले सोझै भनिन्, 'म त काङ्ग्रेस हुँ, राजनीति नै गर्न परे नेविसंघमा लाग्छु नि।'
उनको 'राजनीतिक अफेयर' थाहा पाएपछि अखिलका कार्यकर्ता साइड लागे। विद्यार्थी आन्दोलनमा उनका मित्र शक्ति बने।
बाबु कांग्रेसका क्षेत्रीय सभापति भइसके पनि उनलाई राजनीतिबाट टाढै राखेका थिए। तर घरमै राजनीति गर्ने व्यक्ति भएपछि उनमा त्यसको राग सल्किनु अनौठो भएन। स्कुल पढ्दैदेखि काङ्ग्रेसी पर्चा, बीपीका किताब यिनको हात लाग्न थाल्यो। सिद्धान्त सिक्ने मेलो यसैगरी मिल्यो। भन्छिन्, 'सानैदेखि राजनीतिमा लाग्छु भन्ने चैँ थियो।'
त्यसैले आफूलाई जन्मजात काङ्ग्रेस मान्छिन्।
'आमाको काखमा बस्ने उमेरमै अरुले 'भोट केमा?' भनेर नारा लाउँदा म रुखमा भन्दै कराउँथें रे।'
विद्यार्थीका नेता विद्यार्थी नै हुनुपर्छ भन्ने नारा थियो उनको नेविसंघ महाधिवेशनमा। महाधिवेशन हुन नसक्दा कलिला उमेरका विद्यार्थी नेताका कपाल र दाह्री पाकिसकेका थिए। भर्खर २२ टेकेकी उनी ५ वर्षदेखि नेविसंघमा सक्रिय छिन्। अहिलेको निर्वाचनले उनलाई थप महत्वकांक्षी बनाएको छ।
राजनीति गर्न 'ब्रेक अप', बूढाहरु छाडा
राजनीतिमा भविष्य देख्नेन उनका पुस्ताका युवायुवती कलेज बङ्क मार्दै 'डेटिङ' हानिन्छन्। एलिजालाई त लभ गर्न डर लाग्छ। लक्ष्य रोकिएला कि भन्ने त्रास छ उनमा।
तनहुँमा १२ सम्म पढ्दा उनका अधिकांश केटी साथीहरुको बिहे भइसकेको थियो। तिनीहरुसँग उनको कुरै मिल्थेन। त्यसैले उनका केटा साथी धेरै थिए। 'केटा साथी धेरै भए पनि डेटिङ चै गइएन, सँगै बसेर चिया चैँ खाइयो,' उनले सुनाइन्।
काठमाडौंले धेरैको रङ बदल्छ। रङ्गीन यहाँको वातावरणले उनलाई नछोएको भने होइन। व्याचलर्स पढ्दा 'खत्रै लभ'मा करिब करिब पुगेको स्वीकार्छिन् उनी। एकाएक उनलाई लाग्यो 'अहिले लभमा परेर विवाह गरियो भने यात्रा मोडिन सक्छ र सोचेजस्तो जीवन नहुन सक्छ'। अनि उनले आफूलाई 'म्यानेज' गरिन्। उनको हुन नसकेका प्रेमीको अहिले बिहे भइसकेको छ।
'उहाँ अहिले विदेशमा हुनुहुन्छ,' उनले मुस्काउँदै भनिन्। अफेयर टुटाएकी उनी हतारिँदै भन्छिन्, 'म रुखो छैन है। मलाई माया गर्नेलाई म पनि मज्जाले माया दिन्छु। तर माया पनि कुन प्रकारको हो भन्ने हुन्छ नि।'
'रातभर रक्सी खाने र घरसमेत नजाने मानिसलाई विश्वास गर्दिन र विवाह पनि गर्दिन,' उनले सुनाइन्। त्यसो भए राजनीति नगर्ने केटासँगमात्रै बिहे गर्ने हो?
'हैन हैन,' उनले हतारिँदै भनिहालिन्, 'जो पनि हुनसक्छ तर राजनीति नै गर्नेसँग बिहे हुने भए अलिक इमान्दार छान्छु।'
उमेर सानै भए पनि उनको सङ्गतमा भने सबै उमेरका नेताहरु हुने गर्छन्। राजनीति गर्ने कसैले प्रपोज गरेको छैन त?
उनले खुलेरै जवाफ दिइन्, 'अलि कम उमेरका वा उमेर मिल्नेहरुले त मलाई बुझेका छन्। उनीहरुले त्यसो गर्दैनन्। तर बूढा भइसकेका नेताहरु भने अलिअलि 'फ्लर्ट' गर्दा रहेछन्।'
कसरी फ्लर्ट गर्छन् त? त्यसबारे उनी खुल्न चाहिनन्।
'स्कूलमा राजनीतिलाई नो इन्ट्री'
उनी स्कूल पढ्दादेखि नै राजनीतिमा चाख राख्थिन्। तर विद्यालयमा राजनीति इकाइ खोल्ने विषय उनलाई कहिल्यै रुचेन। सँधै विरोध गरिन्।
नेविसंघमा पनि उनको मूल मुद्दा स्कूलबाट नेविसंघ इकाइ नै हटाइयोस् भन्ने छ। नेविसंघको पहिलो केन्द्रीटय समिति बैठकमा पाएको दुई मिनेट उनले यसै विषयमा खर्चिन्।
राजनीतिमा युवा तथा विद्यार्थीहरुको अति महत्वपूर्ण भूमिका हुन्छ भन्ने उनलाई लाग्छ।
उनी प्रजातन्त्रमा विश्वास राख्छिन्। उनलाई लाग्छ प्रजातन्त्र भनेको स्वतन्त्रताको अर्को नाम हो। भन्छिन्, 'नैतिकता र स्वतन्त्रता सँगै आउने कुरा हुन्। र, मेरो राजनीतिमा यी दुवैलाई कायम राख्छु।‘
पञ्चायत ढाल्नेदेखि राजतन्त्र हटाउनेसम्मरका आन्दोलनमा नेविसंघको भूमिकालाई उनलाई संघर्षका रुपमा बुझ्छिन्। र त्यही इतिहासबाट प्रभावित भएको बताउँछिन्। संघर्षको इतिहासमा अन्य विद्यार्थी संघठनको भूमिका नेविसंघ सँग तुलना गर्न लायक नभएको उनको दावी छ।
अंकलहरु एकाएक दाइ!
विद्यार्थी संगठनमा आफूभन्दा दोब्बर उमेरका विद्यार्थी नेता देख्दा उनलाई अचम्म लाग्छ। केही त उनका बुबाका साथी पनि छन्। पहिले तिनीहरुलाई उनी 'अङ्कल' भन्ने गर्थिन्। जेनेरेसन ग्याप र राजनीतिबारे उनले रमाइलो मान्दै सुनाइन् – ‘अङ्कल भन्दा 'छोरी' भनेर हेप्दा पो रहेछन्। त्यसैले आजकाल दाइ भन्न थालेकी छु।‘
नेविसंघको केन्द्रीय सदस्य जितिसकेपछि मात्र उनले घरमा थाहा दिइन्। राजनीतिमा लागेको परिवारलाई मन नपर्ला भन्ने पीर थियो उनलाई। 'मैले जितेको थाहा भएपछि निक्कै खुसी हुनु भयो,' भनिन्, ‘बाबालाई त ठूलै सरप्राइज पो भएछ। उहाँ खुसी हुनुभयो।'
यसअघि पनि संगठनका लागि उपत्यका बाहिर जानुपर्दा मम्मीलाई अर्कै कारण जान लागेको बताउँथिन्। त्यसैले उनको परिवार छोरी राजनीतिमा लागेको बारे बेखबर थियो। ‘घरमा कलेजबाट घुम्न जान लागेको भनेर ढाट्थेँ,’ उनले हाँस्दै सुनाइन्।
'पावर'मा नपुगेसम्म दबाब दिन बाहेक केही गर्न नसकिने उनको बुझाइ छ।
यसो त युवाहरु राजनीतिबाट टाढै छन्। भएका कतिपय त किन राजनीतिमा छु भन्ने समेत थाहा नपाई हिँड्छन्। त्यस्ता मान्छे देख्दा अचम्म लाग्छ उनलाई।
सृजनात्मक काममा विश्वास राख्ने उनी आफू नैतिकतामा रहेर काम गर्ने र आफ्नै संघर्ष र मेहनतले प्रधानमन्त्रीसम्म बन्न सक्ने विश्वास राख्छिन्। ‘काम गरेर देखाउने हो के। काम गरेर,’ उमेरले कान्छी केन्द्रीय सदस्य फूर्तिसाथ सुनाउँछिन्।
‘केन्द्रीय समितिमा संघर्ष गरेर आएको हो। कतिपय नेताहरु दोहोर्यादइ तेहेर्या एर विद्यार्थी बनेर आएका छन्। वर्चश्व तिनैको छ। तिनीहरुले हामीलाई हेप्ने पार्टीमा टिक्न गाह्रो बनाउने काम गरिरहेका छन्,' एलिजाले भनिन्।
‘लोभ देखाएर हुन्छ कि हामीलाई कमजोर सावित गर्न खोजेर हुन्छ पछाडि पार्नेको एउटा झुण्ड नै लागेको छ,‘ कुटनीतिक रुपमा उनले सुनाइन् झुण्डको नाम खोलिनन्।
थपिन्, ‘तिनीहरुकै विरुद्ध लड्ने र हाम्रो जनेरेसनलाई नेविसंघमा एक्टिभ बनाउने प्रयासमा लाग्नेछु।'