PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बागमती किनारमा एक्लिएका वृद्ध भन्छन्- 'आँखा धमिलो भए पनि आफ्नो छोरा त चिन्छु नि'



स्वेच्छा राउत

बागमती किनारमा एक्लिएका वृद्ध भन्छन्- 'आँखा धमिलो भए पनि आफ्नो छोरा त चिन्छु नि'

काठमाडौं बैसाख १२, २०७२।
 
विनाशकारी भूकम्पको यो कालो दिन धेरैको स्मरणमा छ। कैयौंको घरबार सोहोरेर लगेको भूकम्पले धेरैलाई टुहुरो बनायो। धेरै वृद्ध बाआमा सहाराविहीन बन्न पुगे।
 
भूकम्पपछि यसले पुर्‍याएको क्षति नियाल्न पशुपति पुगेका थिए, कृष्णबहादुर तामाङ। भूकम्पको परकम्प आउने क्रम लगभग टुटिसकेको छ। तर उनी भने घर फर्किएका छैनन्।

  • के उनले पनि घरबार गुमाए?
  • कि छोराछोरी त्यही भूकम्पमा परे?
  • आखिर किन घर फर्किएनन् कृष्णबहादुर?
 
पशुपति किनारमा आज दिउँसो टोलाइरहेका उनले भने, 'छोराबुहारी बानेश्वरमा बस्छन्। कुर्दैछु। बुबाको मुख हेर्न त आउलान् नि।'
 
***
कुशेऔंसीको दिन बागमती किनारमा मृत बाबुको सम्झना गर्दै श्राद्ध गर्नेको भिड लागेको छ। ठिक पारिपट्टि वृद्धाश्रममा उनै वृद्धवृद्धालाई खाजा र खाना खुवाउनेहरुको लस्कर उत्ति नै देखिन्छ।
 
बागमती पुल छेउमा नाङ्लोमा केही बिस्कुट, चुरोट, पराग र खित्रिङमित्रिङ सामान रुँघेर एक वृद्ध बसिरहेका छन्।
 
कुशेऔंशीको दिन उनी ग्राहक मात्रै होइन छोरा या छोरी पनि कुरिरहेका थिए। 

मैले गफ गर्ने सुर कसेर सोधेँ, 'बा बिस्कुटको कति हो?'
 
कान राम्ररी सुन्न छोडेका उनले फेरि सोधे र सरसर्ती मूल्यसूची बताए, 'यसको १०, यसको २०, योभित्र त दुइटा प्याकेट हुन्छ, यो परागको ५...'
 
'यति बूढो हुनुभयो त। किन यसरी सामान बेचेर दु:ख गर्नुहुन्छ?' मैले कुरा लम्ब्याउन चाहेँ।
 
'काम नगरी खाँदा त ज्यानमा लाग्दैन नि नानी। त्यसैले सकुन्जेल हात फैलाएर/मागेर खान्न। खुसीले दिनेलाई नाइँ भन्दिन,' उनी अलि सहज हुँदै गए।
 
कृष्णअष्टमीका दिन जन्मेकाले बाआमाले नाम नै 'कृष्णबहादुर' राखिदिएका रहेछन्।
 
'अनि तपाईंका श्रीमती, छोराबुहारी, नातिनातिना…' उनी यहाँ बस्नुको कारणबारे मैले बुझ्न चाहेँ।
 
'छोरा, बुहारी र नाति यहीँ बानेश्वरमा बस्छन्,' ७९ वर्षका यी वृद्धले कुरा खोले।  
 
उनका सन्तान काठमाडौंकै बानेश्वरमा छन्। तर उनी भने १० महिनायता
पशुपतिमै बस्दै आएका छन्। एक्लै।
 
बागमती पुलछेउको पाटीमा सुत्छन् उनी। नजिकैको होटलमा खाना खान्छन्। मन्दिरमा आएका भक्तजनले उनको नाङ्ले पसलबाट सामान किनेपछि जम्मा हुने पैसा नै खानाका लागि प्रयोग गर्छन्।
  
हरेक बिहान 'पवित्र बागमती'मा मुख धुन्छन्। स्नान गर्छन्। नजिकको पसलमा एक कप चिया पिएपछि उनको दैनिकी सुरु हुन्छ। उही नाङ्लो पसल। उही व्यापार।
 
उनको भित्री मनमा भने लाग्दो रहेछ- ग्राहक होइन छोरा-बुहारी आफूलाई लिन आइदिए हुन्थ्यो।
 
'म परिवारको सबैसँग खुसी हुन नसकेर हो कि परिवार मसँग खुसी भएनन्,' उनले मसिनो स्वरमा भने, 'सँगै बस्नै सकिएन।'
 
 परिवार छोडेर बस्नुको कारण 'मान्छेको असन्तुष्टि व्यवहार' भएको बताउँछन् उनी।
 
पशुपतिको पाटीमा एक थान ओड्ने-ओछ्याउने र केही जोर लुगाबाहेक उनको केही छैन। उनले बेच्न राखेको सामान राख्ने नाङ्लो पनि अरु कसैको हो।
 
मन्दिरकै नजिक बसे पनि उनी देउता ढोग्न भने कहिले जाँदैनन्। 'तामाङ परिवारमा जन्मेँ। बुद्धलाई मानेँ,' चर्चमा कुनै बेला पास्टर पनि बनेका उनले भने, 'देउता त म घरबाट भागेसँगै भागिसके।'
 
उनको अवस्थालाई देखेर धेरैले वृद्धाश्रममा गएर बस्न पनि भने। तर उनी जान चाहँदैनन्। 'मेरो परिवार हुँदाहुँदै किन अरुको शरणमा बस्न जानु। आफैं कमाएर खान सकेकै छु,' उनी भन्छन्।
 
***
आज उनी ग्राहकभन्दा अरुतिरै नजर डुलाइरहेका छन्। कतै टुप्लुक्क छोरो आइपुग्ला कि!
 
उनले परिवारबारे अरु खुलाउनै चाहेनन्। बरु रसिलो आँखा बनाउँदै यत्ति भने, 'आँखा धमिलो भए पनि आफ्नो छोरा त चिन्छु नि।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell