PahiloPost

May 15, 2024 | २ जेठ २०८१

​नाडा अटो सो : कार र बाइक मात्र होइन, हेलमेटको आकर्षण पनि उस्तै

​नाडा अटो सो : कार र बाइक मात्र होइन, हेलमेटको आकर्षण पनि उस्तै

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : बाइक वा स्कुटी चलाउँदा हेलमेट अनिवार्य लगाउनुपर्छ। सुरक्षाको दृष्टिकोणले हेलमेट लगाइने भए पनि पछिल्लो समय हेलमेटलाई फेसन ट्रेण्डको रुपमा समेत लिन थालिएको छ। विशेषगरी युवा पुस्ता नयाँ डिजाइनको हेलमेटप्रति आकर्षित हुन्छन्।

सहरका युवायुवती आजकल आफूलाई मन परेको डिजाइनको हेलमेट प्रयोग गर्छन र सडकमा निर्धक्क भएर ड्राइभ गर्छन्। कार र बाइकसँगै हेलमेट पारखी समेत बढ्न थालेको छ।

अहिले राजधानीको भृकुटी मण्डपमा नाडा अटो सो चलिरहेको छ। सबैको ध्यान नयाँ कार, नयाँ बाइक, नयाँ स्कुटीमा छ। अटो सोमा कार, बाइक, स्कुटीसँगै विभिन्न डिजाइनका हेलमेटसमेत राखिएको छ।

नयाँ बाइक वा स्कुटी किन्नेको रोजाईमा हेलमेट पनि नयाँ नै पर्ने गरेको बिक्रेता बताउँछन्।

अमेरिकामा डिजाइन भई इटलीमा बनेको भेगा कम्पनीको विभिन्न डिजाइनका हेलमेट नाडा अटो सोको विशेष आकर्षण बनेको छ। सोको तेस्रो दिन मात्र उक्त हेलमेट स्टल राखिएको हो।

विशेषगरी बुलेट बाइक र स्कुटीको लागि भेगाको हेलमेट सुविधाजनक हुनेछ। लगाउँदा आरामदायी, कपाल नतान्ने, कम्फरटेबल साइज भेगा हेलमेटको विशेषता हो।

भेगाको हेलमेटको मूल्य ४५ सय आइसी रहेको भेगाको नेपाली आधिकारिक विक्रेता अटोपास इन्टरनेसनलका म्यानेजर मनिसले बताए। 
कार, बाइक जस्तै पछिल्लो समय नेपालमा हेलमेटको बिक्री पनि बढिरहेको छ। सबै कम्पनीको गरेर काठमाडौंमा मात्रै एक महिनामा २५ देखि ३० हजार वटा हेलमेट बिक्री हुने उनले बताए।

भेगा नेपालमा थोरै समयमै एकदम धेरै चलेको र बिक्री हुने ब्राण्डको हेलमेटको रुपमा परिचय बनाएको मनिसले बताए।

भेगा जस्तै अन्य विभिन्न ब्राण्डका हेलमेट पनि अटो सो मा राखिएको छ। अन्य हेलमेटको मूल्य १६ सय देखि ४ हजारसम्मको रहेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell