PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

​सातौं राष्ट्रिय खेलकुद कुनै पनि हालतमा तोकिएको समयमा हुन्छ : राखेप सदस्य सचिव विष्ट



गोविन्दराज नेपाल

​सातौं राष्ट्रिय खेलकुद कुनै पनि हालतमा तोकिएको समयमा हुन्छ : राखेप सदस्य सचिव विष्ट

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशव कुमार विष्टले सातौं राष्ट्रिय खेलकुद कुनै पनि हालतमा तोकिएको समयमै हुने दाबी गरेका छन्। 

यस अघि दुई पटक मिति तोक्दै पर सर्दै गरेको राष्ट्रिय खेलकुद प्रतियोगिता तेस्रो पटक तोकिएकै मितिमा हुने विष्टले बताएका हुन्।

बुधबार राजधानीमा वर्तमान राखेप बोर्डको एक वर्षे कार्यकालको समिक्षात्मक कार्यक्रममा सदस्य सचिव विष्टले आफू सातौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न कटिबद्ध रहेको बताए।

‘सातौं राष्ट्रिय खेलकुद निर्धारित स्थानमा निर्धारित समयमै हुन्छ, त्यसमा कुनै शंका छैन’, सदस्य सचिव विष्टले ठोकुवा गरे। चैतमा स्थानीय निर्वाचन हुने कुरा छ, त्यसका लागि माघदेखि तयारी हुन थाल्छ। यस्तो अवस्था राष्ट्रिय खेलकुद पछि सर्योे भने यो वर्ष हुन सक्दैन, त्यसैले निर्धारित मितिको अर्को विकल्प दिमागमा राख्नु हुँदैन। 

यो साल भएन भने अर्को साल पूर्वाञ्चलमै नहुन सक्छ। किनकि सीमांकन प्रदेशीय संरचनामा हुन सक्छ। यदि त्यस्तो भयो भने पूर्वाञ्चल नाम नरहन पनि सक्छ।

यिनै कारणले गर्दा विष्टले मंसिरमै राष्ट्रिय खेलकुद प्रतियोगिता गरेरै छाड्नुपर्ने बताए।

हामी त्यसैका लागि खटिरहेका छौं, तयारी तिव्र गतिमा भइरहेको छ, पूर्वाधार दशैं अघि बनिसक्छ, बाँकी काम दशैं र तिहारको बीचमा हुन्छ। त्यसैले हामी प्रतियोगिता गरेरै छाड्छौं। विष्टले प्रस्ट पारे।

कार्यक्रममा राखेप सदस्य सचिव विष्टले आफ्नो एक वर्षे कार्यकालमा भएका कामहरुको बारेमा जानकारी गराए। उनले एक वर्षका राखेपले गरेको काम, आफ्नो नेतृत्वमा गर्न नसकेको काम कमिकमजोरी लगायत आगामी दिनमा गर्न लागिएको विभिन्न प्रोजेक्टहरुको बारेमा जानकारी गराए।

‘विभिन्न आरोह, अवरोह र चुनौतीका बीच यहाँ सम्म आइपुगेका छौं, मैले मेरो कार्यकालकै सुरुमा यसलाई स्वर्ण का बनाउने उद्घोष गरेको थिएँ। स्वर्णिम काल बनाउन नसकेपनि मेरो कालमा त्यसको थालनी गर्ने हुने विश्वास लिएको छु’, उनले भने। 

विष्टले आफु सदस्य सचिव भएपछिको पहिलो बैठकबाटै सातौं राष्ट्रिय खेलकुदलाई अर्जुनदृष्टी बनाएर अघि बढेको समेत बताए।

यस्तै नेपालमा सन् २०१८ मा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद साग गेम्सका लागि समेत आफुहरु तयारीमा जुटेको उनले बताए। 
१३ औं साग गेम्सको लागि एउटा समिति बनाउन बाहेक केही काम नभएको बताउँदै विष्टले २८ खेलको लागि खेलस्थल कहाँ हुन सक्छ भनेर अध्ययन गरिरहेको बताए। 

‘१३ औं साग गेम्सको तयारीको लागि धेरै विलम्व भइसक्यो। अब पनि तयारी सुरु नगरे कहिले गर्ने ?’, उनले सोधे। 

सदस्य सचिव विष्टले अब स्पोर्ट्स हस्पिटल निर्माण गर्ने, कीर्तिपुरमा मल्टी प्रपोज भेन्य निर्माण गर्ने काम अघि बढिसकेको र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्पोर्ट्स थिएटर निर्माण गर्ने योजना रहेको समेत बताए।

यस्तै अन्य भौतिक संरचना र पूर्वाधार निर्माणको काम पनि अब छिट्टै अघि बढ्ने विष्टले बताए।

विगतका वर्षहरुमा खेलकुद बजेट फ्रिज भएरै सकिने गरेको तर काम चाँही नभएको भन्ने जिज्ञासामा विष्टले आफ्नो कार्यकालमा फ्रिज हुने रकम घटेको बताए।

विगतमा ५० करोड फ्रिज भएको रहेछ, अहिले हामीले १३ करोडमा झारिसक्यौं। हामीले बजेट रकमान्तर गर्दै फ्रिजको मात्र घटाएका छौं। (फोटो साभार : keshabbista.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell