PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

​क्यान निलम्बनको नैतिक जिम्मेवारी लिन्छु तर विवाद पहिलेदेखि नै थियो : विष्ट



गोविन्दराज नेपाल

​क्यान निलम्बनको नैतिक जिम्मेवारी लिन्छु तर विवाद पहिलेदेखि नै थियो : विष्ट

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले नेपाली क्रिकेट, फुटबल लगायत विभिन्न संघमा देखिएका विवाद पुरानै रहेको र आफ्नो पालमा देखिने गरी बाहिर आएको जिकिर गरेका छन्।

उनले आफ्नो कारणले नयाँ विवाद जन्मेको नभई पुरानै विवाद यसै बेला बल्झेको बताए, ‘नेपाल क्रिकेट संघ क्यान निलम्वन हाम्रै कार्यकालमा भयो, यसको नैतिक जिम्मेवारी हामी लिन्छौँ, तर विवाद पहिल्यैदेखि सुरु भएको थियो।‘

उनले क्यानको चुनाव तत्कालीन अध्यक्षले रोक्न भनेपछि नै आफूहरुले रोकेको बताए। यस्तै तदर्थ समिति पनि आइसीसीकै समन्वयमा आफूहरुले गठन गरेको बताए।

‘विभिन्न खालका बाधयता र परिस्थितिले गर्दा नै तदर्थ समिति गठन गर्नुपरेको हो। यसमा मेरो कुनै आग्रह र पूर्वाग्रह छैन। अहिले आइसीसीलाई पनि मैले नै बोलाएको हुँ, सायद उनीहरु आफैँ पनि आउँथ्यो होला। नेपाली क्रिकेटको विवाद हल गर्नको लागि म हरपल तयार छु’, उनले भने।

यस्तै फुटबल, बक्सिङ, कबड्डी, टेबलटेनिस लगायत खेलसंघमा पनि विवाद कायमै रहेको भन्ने पत्रकारको जिज्ञासामा सदस्य सचिव विष्टले बाहिर देखिएको जस्तो आफुले विवादास्पद काम नगरेको र विवाद समाधानकै लागि पहल गरेको बताए।

रियोमा नेपाली ओलम्पिक टोली ३ दर्जन

सदस्य सचिव विष्टले ब्राजिलको रियो ओलम्पिकमा नेपाली टोली ३ दर्जन रहेको तर विभिन्न मिडियामा आएको जस्तो ४१ जना भने नरहेको स्पष्ट पारे।

‘रियो ओलम्पिकमा राखेपबाट २२ जनाको स्वीकृत भएको थियो। त्यो पनि जानै पर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक मात्र। तर नेपाल ओलम्पिक कमिटीबाट संख्या बढी रहेको र केही खेलाडीको आफन्तले गर्दा संख्या धेरै हुन पुग्यो’, उनले भने।

विष्टका अनुसार राखेपले ७ खेलाडी, ५ प्रशिक्षक, ५ व्यवस्थापक, सेभ दि मिसन, प्रशासन हेर्ने र फिजियो डक्टर १ १ जना तथा ओलम्पिक कमिटीबाट २ गरी २२ जना मात्र राखेपले सिफारिस गरेको हो।

बाँकी ओलम्पिक कमिटीका सदस्य र खेलाडी आफन्तहरु कोही आफ्नै खर्च र कोहि ओलम्पिक कमिटीकै खर्चमा गएको बताए। ओलम्पिक कमिटीबाट ९ जना, गौरिका सिंहको बुबा पारस सिंह, शिरीष गुरुङका बुवा, आमा, पौडी संघका महासचिव राखेप भन्दा बाहिरबाट गएको बताए। (फोटो साभार : ​keshabbista.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell