PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

झाडीमा परिणत हुँदैछ रंगशाला, पुनर्निर्माण कहिले?



गोविन्दराज नेपाल

झाडीमा परिणत हुँदैछ रंगशाला, पुनर्निर्माण कहिले?

काठमाडौं : दशरथ रंगशाला, नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला हो। नेपालमा हुने सबै खालको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यसै रंगशालमा सम्पन्न भएको थियो।
 
मल्टी प्रपोज भेन्युको रुपमा प्रयोग हुँदै आएको रंगशालामा फुटबलबाहेक एथ्लेटिक्सका पनि विभिन्न इभेन्ट भएका छन्। यति मात्र होइन कन्सर्ट, विभिन्न राजनीतिक दलका ठूला कार्यक्रम पनि यहीँ हुँदै आएका छन्।
 
बिहानबिहान मर्निङ वाक गर्नेले समेत दशरथ रंगशालालाई प्रयोग गरिरहेका छन्।
 
यति धेरै कामको भार थेग्न सक्ने दशरथ रंगशाला अहिले आफैँ भने नाजुक अवस्थामा रहेको छ।
 
दुई वर्षअघि रंगशाला मर्मत सम्भार गर्ने कार्यक्रमअन्तर्गत राष्ट्रिय खेलकुद परिषदले ठूलो बजेट छुट्याएको थियो। रेट्रोफिटिङ गर्ने, रंगशालाको साधारण प्याराफिटतर्फ सिट राख्ने साथै छाना पनि थप्ने र सेन्थेटिक ट्रयाक बिछ्याउने योजना थियो राखेपको। सुस्त रुपमा काम पनि भइरहेको थियो। तर २०७२ बैसाखको भूकम्पले रंगशालको भौतिक संरचना लथालिङ्ग भयो। भएका संरचना पनि प्रभावित बने, सुरु गरिएको काम रोकियो।
 
पहिलो चरणको कार्यक्रमअन्तर्गत साधारण प्याराफिटमा सिट बिछ्याउने काम समेत भइसकेको थियो। तर भूकम्पले प्याराफिट नै भत्काएपछि अहिले त्यो सिट नै उप्काउने काम भइरहेको छ। प्याराफिटमा घाँस र झार उम्रिएका छन्। मुनितिर रहेको विभिन्न खेल संघको कार्यालय अन्यत्रै सार्नुपरेको छ।
 
अहिले रंगशाला पहिलेको भन्दा धेरै फरक छ। मैदान फुटबल खेल्न लायक त छैन नै मैदानको भाग समेत बिग्रिसकेको छ। खाल्डाखुल्डीमा पानी जमेको छ। भिआइपी प्याराफिटको सिट पनि बिग्रिएको अवस्थामा छ। रंगशालाको एकापट्टि घाँसको झाडीजस्तो देखिन्छ।
 
नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको रंगशाला फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रयोग गर्दै आइरहेको छ। दुई वर्षयता भने कुनै फुटबलको प्रतियोगिता हुन सकेको छैन। बरु केही राजनीतिक पार्टीले रंगशालालाई आफ्नो कार्यक्रम गर्ने गतिलो थलो बनाइरहेका छन्।
 
विगतका दिन अंगेजी गायक ब्रायन एडम्सले दशरथ रंगशालामै कन्सर्ट गरेका थिए  भारतीय गायक अतिफ अस्लामले पनि रंगशाला गुलजार बनाइदिए।
 
सहिद दशरथ चन्दको नाममा ६ दशकअघि निर्माण भएको रंगशालामा आठौं साफ जस्ता ठूला प्रतियोगिता समेत भएको थियो। १९८८ मा खेलकै दौरान हावाहुरीका कारण दर्शकहरुको भागदौड हुँदा रंगशालाभित्रै ९३ जनाले ज्यान गुमाउनुपरेको  नमिठो इतिहास पनि यसैसँग जोडिएको छ।
 
सन् १९५६ मा निर्माण गरिएको रंगशाला १९९८ मा आठौं साफ आयोजना गर्नकै निम्ति पुनर्निर्माण गरिएको थियो। २०१२ को एएफसी च्यालेन्ज कप र २०१३ को साफ च्याम्पियनसिप फुटबल पनि यहीँ आयोजना भएको थियो।


यही रंगशालाको वर्तमान अवस्था भने यस्तो लथालिङ्ग बनेको छ। खेलप्रेमीहरु प्रश्न गर्छन्- 'के अब दशरथ रंगशालाको पुनर्निर्माण हुँदैन?' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell