PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

फिल्ममा सिक्वेल : छैन पुरानो कथा, नामकै भरमा हल्ला



स्वेच्छा राउत

फिल्ममा सिक्वेल : छैन पुरानो कथा, नामकै भरमा हल्ला

काठमाडौं : घरेलु विषयवस्तु र एक्सन मिसाएर दर्शक आकर्षित गर्ने समयमा युवावस्था र प्रेमको कथा लिएर नेपाली चलचित्र 'दर्पणछायाँ' सार्वजनिक भयो। सो फिल्म नेपाली रजतपटको टर्निङपोइन्ट बन्न पुग्यो।
 
फिल्म व्यावसायिक रुपमा सफल मात्र भएन, नयाँ कलाकारलाई स्थापित रुपमा चिनाउने कोसेढुङ्गा नै साबित भयो। सन् २००१ मा प्रदर्शनमा आएको फिल्मले धेरै दर्शकको मन जित्यो। आजसम्म पनि दर्शकको स्मरणमा छ- 'दर्पणछायाँ'।
 
दर्पणछायाँलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए। पुन: घिमिरेकै निर्देशनमा 'दर्पणछायाँ-२' बन्ने भएको छ। दर्पणछायाँको सिक्वेल भनेर फिल्म घोषणादेखि चर्चामा आयो।
 
'दर्पणछायाँ'का अभिनेता उत्तम प्रधान सोही फिल्ममा जस्तै दृष्टिविहीनका रुपमा 'दर्पणछायाँ-२' मा देखिँदैछन्। फिल्ममा भने उनको ठूलो भूमिका छैन। उनी अतिथि कलाकारका रुपमा देखिनेछन्।
 
'दर्पणछायाँ'को कथावस्तुसँग 'दर्पणछायाँ-२' को सम्बन्ध खासै छैन। तर कथा नजोडिए पनि फिल्मको नामले नै महत्व राख्ने बताउँछन्, निर्देशक तुलसी घिमिरे। 'कथा मिल्दैन तर नामले नै ब्राण्ड भ्यालु राख्छ,' उनले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'दर्पणछायाँ धेरैले रुचाए। नामकै कारण दर्पणछायाँ-२ आउनु त दर्शकका लागि पनि खुसीको कुरा हो नि।'
 
निर्देशक घिमिरेका अनुसार कथा र विषय नमिले पनि सिक्वेल फिल्मले नामकै कारण पनि महत्व राख्ने गर्छन्। अरु कसैको फिल्मसँग नाम नजुधेसम्म आफ्नो फिल्मका लागि आफूले चाहेको नाम राख्न पाइन्छ।
 
उसो त उनले 'दर्पणछायाँ-२' को लागि 'धुन' नाम तय गरेका थिए। तर फिल्मको काम अगाडि बढाउनुअघि 'धुन' नामक अर्कै फिल्म सार्वजनिक भयो।
 
ब्राण्ड भ्यालुकै लोभमा कथानक नमिले पनि सिक्वेल लिएर आउनु सही हो त?

उनी भन्छन्, 'नामको प्रयोग गर्नु राम्रो होइन तर व्यावसायिक मोडमा पुगेको फिल्म क्षेत्रमा दर्शकले रुचाउने कुरा दिनु ठिकै हो।'
 

सिक्वेलको सुरुवात

कुनै कथा वा विषयमाथिको निरन्तरता नै सिक्वेल हो भन्ने बुझाइ छ। पहिलो पटक किताबमा प्रयोग भएको सिक्वेल बिस्तारै फिल्मी क्षेत्रमा पनि ट्रेन्ड बन्न पुग्यो। सन् १७०० मा जेरी ब्रखेमरले आफ्नो किताब 'बाइबल: मोडर्न नोबल'को सिक्वेल पहिलो पटक सार्वजनिक गरेका थिए।
 
एकपछि अर्को गर्दै 'रोबिन्सन क्रस', 'गुलिभर ट्राभल' जस्ता किताबहरुको पनि पहिलो किताबको विषय पछ्याउँदै सिक्वेल बने। ती किताब आलोचनात्मक तथा व्यावसायिक हिसाबमा सफल भएको मानिन्छ। साहित्यमा सिक्वेलको महत्व स्थापित भइरहँदा कलाको अर्को पाटो फिल्ममा पनि सिक्वेल बन्ने क्रम सुरु भयो। फ्रान्समा फिल्म निर्देशक जर्ज मेलिजले पहिलो पटक 'अ ट्रिप टु द मुन'को सिक्वेल 'द इम्पोसिबल वोयज' सार्वजनिक गरे।
 
सन् १९२० ताका हलिउडमा फिल्मको सिक्वेल बन्ने क्रम बढ्यो। 'टल्की', 'द ज्याज सिंगर', 'द सिंगिङ फूल' जस्ता फिल्म र तिनको सिक्वेल त्यस समय चर्चामा रहे।
 
सन् १७०० देखि अहिलेसम्म पनि हलिउडमा फिल्मको सिक्वेल बन्नु व्यावसायिक र  समालोचनाको हिसाबले फाइदाजनक रहेको पाइन्छ। 'फास्ट एण्ड फ्युरियस', 'ट्रान्सफर्मस', 'स्पाइडर म्यान' जस्ता लगातार सिक्वेल बन्दै आएका सफल फिचर फिल्म यसका उत्कृष्ट उदाहरण हुन्।
 
हलिउड मात्र होइन बलिउड र नेपाली फिल्म क्षेत्रमा पनि सिक्वेल बनाउने होडले निर्देशक र फिल्म निर्मातालाई नछोएको होइन। बलिउडमा हर्मेश मल्होत्रा निर्देशित 'नागिना' सिक्वेल बनेको पहिलो फिल्म हो। सन् १९८६ मा सार्वजनिक भएको नगिनको सन् १९८९ मा 'निगाहे: नागिन' नाममा सिक्वेल बनेको थियो।
 
बलिउडको कथा, प्रस्तुति र शैलीबाट प्रभावित नेपाली फिल्म क्षेत्र सिक्वेल बनाउने होडमा पनि कम रहेन। बलिउडमा एउटा जनावरलाई मुख्य पात्र बनाएर प्रदर्शन भएको 'नागिन'को पहिलो सिक्वेल बन्यो। नेपालमा पनि कुकुर र बाँदर मुख्य भूमिकामा रहेको 'पापी मान्छे'को 'पापी मान्छे-२' नाममा पहिलो नेपाली सिक्वेल बन्यो।
 
निकै कम सिक्वेल बनिरहेको अवस्थामा बलिउडका 'क्रिस', 'हिरा फिरी', 'हन्टरवाली', 'घायल', 'मुन्ना भाइ', 'हाउसफूल' जस्ता हिट फिल्मका सिक्वेलले बक्स अफिसमा धमाका मच्चाउन थालेपछि अहिले नेपाली फिल्म इन्डस्ट्रीको हकमा पनि हिट फिल्मको सिक्वेल बनाउने चलन बढेको छ। तर सिक्वेल भनेर चर्चा गरिएका सबै फिल्मले पुरानै कथालाई निरन्तरता दिने गरेका छैनन्।
 

चर्चाका लागि सिक्वेल

धेरै फिल्मको नाम मात्र हिट फिल्मसँग मिल्दो राखेको पाइन्छ। तुलसी घिमिरेकै निर्देशनमा बनेको 'कुसुमे रुमाल'को नाम दिएर 'कुसुमे रुमाल-२' निरक पौडेलले सार्वजनिक गरे। त्यो पनि 'कुसुमे रुमाल'को कथाभन्दा भिन्न थियो। हिट फिल्म 'कुसुमे रुमाल'को नाम प्रयोग गरे पनि यसको सिक्वेल चर्चा र पैसा दुवै कमाउन असफल रह्यो।
 
रेखा थापाको पहिलो फिल्म 'हिरो'को नामसँग मिल्दो 'हिरो रिटर्न्स' छायांकनको तयारीमा छ। तर यो फिल्मको पनि २०५७ मा सार्वजनिक 'हिरो'सँग कुनै सरोकार छैन।
 
निर्माता चन्द्र गौतमका अनुसार फिल्मको नाम 'हिरो' जुराइएको थियो। पुरानो फिल्मसँग जुधेको नाम दर्ता नहुने भएपछि 'हिरो'को पछाडि 'रिटर्न्स' थपेर नाम मिलाइएको हो।
 
यसरी हिट फिल्मसँग नाम जुधाएर सिक्वेल भन्दै प्रचारप्रसार गर्नुले सिक्वेलको अर्थमा नै प्रश्न उठाएको छ।

'चपली हाइट', 'होस्टल', 'नाइँ नभन्नु ल' जस्ता नयाँ फिल्मले पनि व्यावसायिक सफलता साथै दर्शकको माया पाएपछि उही नाम राखेर फरक कथाका फिल्महरु आए। 'नाइँ नभन्नु ल'ले त नेपाली फिल्म उद्योगमा 'नाइँ नभन्नु ल-४' सम्म ल्याएर नयाँ कीर्तिमान राख्यो। '२०७४ मा नाइँ नभन्नु ल ५ आउँदैछ,' निर्देशक विकास आचार्यले भने।
 
कथा नमिलाई फिल्मका नाम मात्र मिलाउनु आचार्यलाई पनि ठिक लाग्दैन। 'कथालाई निरन्तरता दिने भए मात्र नाम जुधाउनु ठिक हो भन्नेचाहिँ लाग्छ,' उनी भन्छन्, 'नाइँ नभन्नु ललाई धेरैले मन पराएकै कारण सिक्वेलमा काम गरिरहेका हौं।' कथालाई नसके पनि मनोरन्जन र दर्शकको आशा पूरा गर्ने क्रमलाई नाम उस्तै राखेर फरक कथाबाट निरन्तरता दिएको उनको तर्क छ।
 
नामको मात्र सिक्वेल बन्ने क्रम बढ्दो छ। 'नाइँ नभन्नु ल-३, ४ दुवैमा कथा दिएका लेखक सामिप्यराज तिमिल्सिना भन्छन्, ’हिट फिल्मको नाम प्रयोग गर्नु दर्शक ठग्ने काम हो।‘ उनलाई लाग्छ, व्यावसायिक बन्ने होडमा फिल्म निर्माण गर्नेहरुले बिकेको कुरालाई पुन: प्रयोगमा ल्याउन थालेका छन्।
 
तिमिल्सिनाले सुटिङको काम भइरहेको फिल्म 'ए मेरो हजुर-२' का लागि पनि स्क्रिप्ट लेखेका छन्।
 
'ए मेरो हजुर'को मुख्य भूमिकामा रहेकी नायिका झरना थापाको निर्देशनमा बन्न लागेको 'ए मेरो हजुर-२' मा पनि पुरानो कथाको निरन्तरता छैन। तर सिक्वेल नै भनेर फिल्मको प्रचार गरिएको छ।
 
फिल्म निर्देशनमा पहिलो पटक हात हालेकी झरना भन्छिन्, 'प्रेम कथाको राम्रो प्रतीक बनेको फिल्म हो ए मेरो हजुर। त्यसैले मेरो फिल्मको प्रेम कथालाई पनि त्यही नाम दिन चाहेँ।'

दर्शकले 'ए मेरो हजुर' नामलाई गरेको विश्वास पुन: एक पटक नयाँ कथाबाट जित्न चाहन्छिन् उनी। पुरानो फिल्मको कथासँग थोरै सम्बन्ध राख्ने भएकाले फिल्मलाई सिक्वेल भन्दा फरक नपर्ने उनको दाबी छ।
 
नाम चलेको, दर्शकले रुचाएको, व्यावसायिक पाटोमा पनि सफल फिल्महरुको नाम प्रयोग फेसन बनिरहेको छ। तर विषयवस्तु, कथा केही मेल नखाँदा फिल्मको सिक्वेल कम भर्सन ज्यादा लाग्छ।

नेपाली फिल्म इन्डस्ट्रीको अर्को माइलस्टोन बनेको फिल्म हो 'लुट'। जसले नेपाली फिल्म क्षेत्रमा ठूलो परिवर्तन ल्यायो। अब सो फिल्मको पनि सिक्वेल सार्वजनिक हुने तयारी चलिरहेको छ। 'लुट-२' मा लुटकै पात्रहरुको जीवन, अवस्था र त्यसपछिको उनीहरुको कथालाई निरन्तरता दिने निर्देशक निश्चल बस्नेतले जानकारी दिए।
 
'दमदार कथा भेटेँ त्यसैले लुटकै सिक्वेल आँटे,' उनी भन्छन्, 'फिल्ममा भूकम्प र नाकाबन्दीपछि नेपालीको अवस्था देखाउने प्रयास गरेको छु।'
 
'लुट'को सिक्वेललाई उनले चुनौतीका रुपमा लिएका छन्। 'मैले लुटको लेभल र दर्शकहरुको अपेक्षा मिट गर्ने गरी काम गर्नुपर्छ,' उनी भन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell