PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वर्ल्डकप क्वालिफायरमा नपरेपछि जन्मदिन नै खल्लो बन्यो क्रिकेटर ममताको



गोविन्दराज नेपाल

वर्ल्डकप क्वालिफायरमा नपरेपछि जन्मदिन नै खल्लो बन्यो क्रिकेटर ममताको

काठमाडौं : आफ्नो जन्मदिनमा खुसी नहुने को होला र! यो दिन हरेक व्यक्तिमा छुट्टै उमंग हुन्छ। पछिल्लो समय साथीभाइ या परिवारसँग बसेर 'बर्थ डे सेलिब्रेट' गर्ने चलन जस्तै बनिसकेको छ।

क्रिकेटर ममता थापा आजको जन्मदिनमा धुमधाम रमाउनुपर्ने हो। खुसी उमंग साटासाट गर्नुपर्ने हो। तर नेपाली राष्ट्रिम महिला टिमकी सदस्य ममता जन्मदिनमा समेत खुसी छैनन्। 

किन त?

दुई दिनअघि घोषणा भएको आइसिसी विश्वकप एसियन क्वालिफायर खेल्ने नेपाली टोलीमा नपरेपछि निकै निराश छिन् उनी । 

त्यसैले पनि उनको २५औं जन्मोत्सव खल्लो बनेको छ।

'आज मेरो जन्मदिनको उपहार नेपालको जर्सी लगाएर खेल्न नपाउने भएको छु,' जन्मदिनमा उनको नीरस बोली फुत्कियो, 'उपहारभन्दा पनि सजाय दिएको जस्तो भएको छ।'

राष्ट्रिय खेलकुद परिषदले विश्वकप क्वालिफायरका लागि महिला क्रिकेट टिमको राष्ट्रिय छनोट प्रतियोगिता गरेको थियो। राखेपले प्रारम्भिक छनोटमार्फत ३८ खेलाडी बोलाउने भने पनि पछि आइसिसीको माग अनुसार ४८ जनालाई प्रारम्भिक क्याम्पमा राखियो। सिनियर टिमका प्रशिक्षक जगत टमाटा, विनोद दास र महिला टिमका मुख्य प्रशिक्षक राजु बस्न्यातको टोलीले अन्तिम १८ खेलाडीको सूची सार्वजनिक गर्योक। तर उक्त सूचीमा ममता परिनन्। 'छनोटको रिजल्ट बाहिर आएसँगै म कस्तो सक्ड भएँ,' उनले सुनाइन्।
 
प्रशिक्षक जगत टमाटा भने सेलेक्सन टुर्नामेन्ट र क्याम्पमा राखेको खेलाडीहरुको पर्ममेन्सकै आधारमा खेलाडी छनोट गरिएको प्रस्ट पार्छन्। 'ममताको विकेट किपिङ राम्रो भए पनि ब्याटिङमा अलि कमजोर देखियो। उनीभन्दा राम्रा खेलाडी पनि आएका छन्,' उनले भने, 'टिम कम्बिनेसनका लागि र वर्ल्डकप क्वालिफायरमा राम्रो प्रदर्शनका लागि अहिलेका खेलाडी छानिएका हुन्।' 

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेदेखि नै टिममा रहँदै आएकी ममता पहिलो पटक टिममा पर्न असफल भइन्। करिब एक दशक भयो उनले नेपालका लागि क्रिकेट खेलेको। सिनियर-जुनियर दुवै प्रतियोगिता भ्याइसकिन्। तर अहिले टिममा नपर्दा खिन्न महसुस भइरहेको उनले पहिलोपोस्टसँगको कुराकानीमा बताइन्।

खेलाडी अन्तिम लक्ष्य नै हो- विश्वकपसम्म पुग्नु। विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने चाहना हुन्छ। तर त्यसको छनोट चरणको टिममै पर्न नसकेको ममताले गुनासो गरिन्।

आफू टिममा नपर्नुमा उनी कसैलाई दोष दिन चाहँदिनन्। 'यसमा मेरो कुनै असन्तुष्टि छैन, कसैलाई गाली गर्ने भावना पनि छैन,' उनले भनिन्, 'सायद कोचहरुले राम्रो टिम बनाउनलाई नै ध्यान दिनुभएको होला। टिमले उत्कृष्ट प्रदर्शन गर्न सकोस्। म नपरे पनि त्यही मेरो लागि सफलता हुनेछ।'

एसएलसी दिएपछि नै उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने मौका पाइन्। उनको डेब्यु सिनियर प्रतियोगिताबाट भयो। '१६ वर्षकी थिएँ, कीर्तिपुरमा भएको नेसनल टुर्नामेन्टबाट म पनि नेपालको टिममा परेँ,' ममताले सुनाइन्।
 
सन् २००७ मा भएको एसिसी वुमन्स टुर्नामेन्टमा नेपाल त्यति बेला उपविजेता बनेको थियो। ममताले हङकङ विरुद्धको खेलमा मात्र सहभागिता जनाउने अवसर पाइन्। विकेटपछाडि बसेर एउटा क्याच लिएकी उनले एउटा रन आउट गरेकी थिइन्।

अर्को वर्ष नेपालले थाइल्याण्डमा भएको एसिसी यु १९ वुमन च्याम्पियनसिपमा सहभागिता जनाउँदा ममता पनि टिममा परिन्। 'त्यस बेला म बेस्ट विकेटकिपर घोषित भएको थिएँ,' उत्साही हुँदै ममताले भनिन्। त्यो प्रतियोगितामा नेपालले फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो।

उमेर समूहको प्रतियोगिता २५ ओभरको हुने गर्थ्यो त्यतिखेर। सन् २०१० मा पनि ममताले एसिसी यु १९ च्याम्पियनसिप खेलिन्। सिंगापुरमा भएको च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्दा उनले विकेटपछाडि बसेर महत्वपूर्ण भूमिका खेलिन्।

त्यसको एक महिनापछि २०१० नोभेम्वरमै नेपाली महिला टोलीले चीनमा हुने एसियन गेम्स खेल्ने तय भयो। ममताले पहिलो पटक एसियन गेम्स मार्फत टी २० मा डेब्यु गरिन्। उनको एसियन गेम्स यात्रा पनि रोमाञ्चक छ।

नेपालको सुरुवाती महिला टोलीमा ममता परिनन्। तर पहिलो खेलमै जापानसँग पराजित भएपछि उनलाई एकाएक चीन बोलाइयो। 'सुरुमा टिममा परेको थिइनँ, तर नेपालले जापानसँग पहिलो खेलमै हार बेहोर्योट,' उनले पुरानो दिन सम्झिइन्, 'त्यसपछि टिम राम्रो भएन भनेर मलाई बोलाइयो। अनि म एक्लै चीन गएँ।'
 
ममताले हङकङ विरुद्धको दोस्रो खेलमार्फत प्रतियोगितामा डेब्यु गरिन्। उक्त खेलमा नेपाल विजयी भयो। ब्याटिङ नगरे पनि ममताले हङकङका एक खेलाडीको क्याच लिइन् भने अर्का खेलाडीलाई रनआउटको सिकार बनाइन्।

त्यसपछि नेपालले फेरि जापानसँग खेल्यो। तर नेपालको पुरानै समस्या दोहोरियो। ममताले जापानका दुई खेलाडीलाई स्टम्पिङ मार्फत आउट गराइन् तर नेपालले जित्न सकेन। ममता १ रनमा नटआउट रहिन्।

त्यसपछि ममता नेपाली टिमले खेल्ने हरेक प्रतियोगिता विकेटकिपरको भूमिकामा खेल्दै आइन्। सन् २०११ मा भएको एसिसी वुमन्स टी २० च्याम्पियनसिप र २०१२ मा चीनमा भएको वुमन्स टी २० एसियाकप समेत खेलिन्।

विकेटकिपर ब्याट्सवुमनको भूमिकामा रहेकी ममता २०१२ मा नेपालको उपकप्तानमा नियुक्त भइन्। 'म सानैदेखि विकेटकिपिङ गर्थें, त्यसैमा प्रथामिकता दिन्थेँ,' उनले भनिन्, 'टिमलाई चाहिएको बेला ब्याटिङ पनि गर्थें। उपकप्तान भएपछि जिम्मेवारी बढ्यो।'

कुनै बेला नेपालको पुरुष टिमभन्दा महिला टिम बढी चर्चित थियो। तर ममता पुरुष र महिला टोलीको तुलना गर्न नमिल्ने बताउँछिन्। 'महिलाको तुलनामा पुरुषले अलि धेरै खेल्ने अवसर पाए, प्रमाणित पनि गरे,' उनको मूल्यांकन छ, 'तर नेपाली महिलाले प्रतियोगिता नै खेल्न पाउँदैनन्। एक-दुई वर्षमा एकपटक मात्र खेल्न पाउँछौं।'

नेपालसँगै २००७ देखि खेल्न सुरु गरेको चाइना, थाइल्याण्ड र हङकङले निकै प्रगति गरिसकेको ममता बताउँछिन्। 'त्यतिखेर हामी उनीहरुलाई सजिलै हराउँथ्यौं। अहिले उनीहरुको लेभल बढिसक्यो,' उनी सन्तुष्ट छैनन्, 'हाम्रो लेभल भने जँहीको त्यहीँ छ।'

समयमै घरेलु प्रतियोगिता खेल्न पाए र क्लोज क्याम्पमा राखेर प्रशिक्षण गर्न पाएको भए नेपालले राम्रो नतिजा ल्याउन सक्ने उनले बताइन्। नेपालसँगै विश्वकप क्वालिफायर खेल्ने हङकङको टिम अहिले भारतमा तयारी गरिरहेको छ। 'हाम्रो टिमले पनि छिमेकी भारतमा गएर थप तयारी गर्न पाए राम्रो गर्न सकिन्थ्यो। एक महिनाको समय जे छ त्यसैमा तयारी गर्नुपर्ने बाध्यता छ,' उनले भनिन्।

कुनै बेला शान बनेको नेपाली महिला क्रिकेट अहिले खस्कँदो स्थितिमा छ। अब नेपाली क्रिकेट हेर्न अथवा नेतृत्व गर्न जो आउँछ, उसैले योजना बनाएर अघि बढ्नपर्ने बताउँछिन् उनी।

'अहिले त नेपाली क्रिकेट व्यवस्थापन गर्ने निकाय आफैँमा अव्यवस्थित छ,' उनको सुझाव छ, 'पछि जो आउँछ उसले महिला क्रिकेटका लागि पनि निश्चित योजना बनाउनैपर्छ।'

नेपाली महिला क्रिकेटमा निरन्तर खेल्न नपाए पनि ममताले आफ्नो अध्ययनलाई भने निरन्तर बढाइरहेकी छिन्। नेपालगन्जकै बागेश्वरी मल्टिपल क्याम्पसबाट मानविकीमा स्नातक सकाएकी ममता एकपटक टिममा पर्न सकिनँ भनेर बिचलित भने भएकी छैनन्। उनी नेपालगन्जकै स्थानीय भिजन टेलिभिजनमा एक वर्षदेखि आबद्ध समेत छिन्।

लामो समय खेलिरहेको टिमबाट एकाएक टिमबाट हटाउँदा पानीबाट माछालाई बाहिर निकालेजस्तै भएकी ममता फेरि माछाले पानीमा जान संघर्ष गरेजस्तै नेपाली टिममा पर्न सक्दो मेहनत गर्ने बताउँछिन्। 

'अहिले मेरो पनि केही कमीकमजोरी रह्यो होला। कोचहरुले पनि नयाँलाई अवसर दिन यसो गरेका होलान्,' उनी मन बुझाउँछिन्, 'अब आफ्नो कमजोरी सुधार गर्नेछु र नेसनल टिममा पर्न सक्दो प्रयास गर्नेछु। मैले अझै क्रिकेट खेल्नुछ। किनकि मेरो नसामै क्रिकेट छ।'

ममताले नेपालका लागि खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता

  • एसियन गेम्स                               : कोरिया २०१४
  • एसिसी वुमन्स प्रिमियर लिग             : थाइल्याण्ड २०१४
  • एसिसी वुमन्स च्याम्पियनसिप          : थाइल्याण्ड २०१३
  • एसिसी वुमन्स टी २० एसिया कप       : चीन २०१२ 
  • एसिसी वुमन्स टी २० च्याम्पियनसिप : कुवेत २०११
  • एसियन गेम्स                              : चीन २०१०
  • एसिसी यु १९ वुमन्स च्याम्पियनसिप : सिंगापुर २०१०
  • एसिसी यु १९ वुमन्स च्याम्पियनसिप : थाइल्याण्ड २००८
  • एसिसी वुमन्स टुर्नामेन्ट                  : मलेसिया २००७



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell