PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

समीक्षा : कसिलो गाँठो, छरिएको कथा



स्वेच्छा राउत

समीक्षा : कसिलो गाँठो, छरिएको कथा

तीन साथीको जीवनकथामा घुमेको फिल्म गाँठो एक बाइपोलर डिसअर्डर भएको चित्रकार सम्राटको केन्द्रमा छ। ऊ एक्लै बस्न रुचाउँछ। कसैसँग हत्तपत्त बोल्दैन।
 
पेन्टिङ व्यापारी साथी विष्णुले पेन्टिङ गर्ने ठाउँ बनाइदिएपछि उसले आफ्ना भावनाहरु पेन्टिङ मार्फत पोख्छ। सिमरन पर्दामा सुरुदेखि नै देखिन्छे। सम्राटको पेन्टिङ देखेपछि प्रभावित हुन्छे र उसलाई भेट्न चाहन्छे।
 
सिमरनले सम्राटलाई भेटेपछि आउने अनेकौं उतारचढाव नै सिनेमाको मूलकथा हो। हत्तपत बोल्दै नबोल्ने सम्राट सिमरनको लगातारको भेटले बिस्तारै परिवर्तन हुँदै जान्छ। आफ्ना विगतलाई लुकाउन चाहने सम्राट र उसको विगतलाई कोट्याएर बाहिर निकाल्न चाहने सिमरनको प्रयासले अन्तत चलचित्रलाई अन्त्यसम्म डोहोर्‍याइरहन्छ। 
 
कलाकार र अभिनय

फिल्ममा सम्राटको भूमिकामा देखिएका नाजिर हुसेनले आफ्नो चरित्रलाई न्याय गरेका छन्। उनले एउटा मनोरोगबाट गुज्रिरहेको अवस्थामा मान्छेको हाउभाउ, बोली, व्यवहार कस्तो हुन्छ भन्ने अभिनय मार्फत देखाएका छन्।
 
रङ्गमञ्चबाटै उदाएका अर्का कलाकार हुन् अभय बराल। उनले पनि अभिनयको पाटोमा राम्रै गरेका छन्। यही फिल्मबाट डेब्यु गरेकी नम्रता श्रेष्ठले नेपाली फिल्ममा सम्भावना देखाएकी छन्।
  
निर्देशन र निर्माण
यसअघि 'मौन' जस्तो फरक धारको फिल्म बनाएर छुट्टै पहिचान बनाएका सुरज भुसालले गाँठोमार्फत आफूलाई प्रयोगवादी निर्देशकको रुपमा चिनाएका छन्। नेपाली सिने जगतको ठूलो पर्दामा मनोरोग र कला संयोजनसम्बन्धी कथा पहिलो पटक उतारिएको होला। उनले फिल्मलाई अन्त्यसम्म सस्पेनसिभ राख्न कथामा निकै काम गरेको भान हुन्छ।
 
गाँठोमा निकै राम्रो देखिएको पक्ष हो सिनेमेटोग्राफी। छांयाकार नरेन्द्र मैनालीले दृश्यहरुलाई सुन्दर ढङ्गबाट प्रस्तुत गर्न मेहेनत गरेको देखिएको छ।
 
बिम्बको प्रयोग

बिम्बात्मक शैलीमा प्रयोग भएको रुखले फिल्ममा छुट्टै महत्व राखेको छ। फिल्मको पहिलो ट्रेलरस्वरुप त्यही रुखको आकृतिबाहेक अरु देखाइएको थिएन। फिल्ममा सिमरनले त्यही रुखमुनि भेट्छे सम्राटलाई।
 
सम्राटले बोक्ने घडीलाई पनि बिम्बको रुपमा प्रयोग गरिएको छ। चित्रकला स्वयं एक बिम्ब हो जसले सम्राटको मनोअवस्था चित्रण गर्छ।
 
परम्परागत कथा वाचनको शैलीबाट फरक देखिएको गाँठो फरक विषय उठानको आधारमा छ। तर केही पक्षले दर्शकलाई अलमल्ल पार्छ।
 
सम्बन्धको गाँठो नै फिल्मको सेन्टर हो। जुन सस्पेन्सिभ रुपमा बिस्तारै खुल्दै जाँदा फिल्मको अन्त्य हुन्छ। तर जति देखान्छ ती सबै दृश्य कम न्यारेटरले ज्यादा बोल्छ।
 
सिमरनले के विषयमा थेसिस लेख्दैछे भनेर खुलाइएको छैन। फिल्ममा सिमरनकै थेसिसका लागि भेटिएको सम्राटको जीवन खोतलिन्छ, आमा भेट्न सिमरन स्वयम पाल्पा पुग्छे। तर न उसले पढ्ने विषय खुलाइएको छ न कसरी सम्राटको गाउँ, आमाबारे जानकारी पाउँछे भन्ने देखाइएको छ।
 
प्रेम खोइ?
त्रिकोणात्मक प्रेमकथा भनेर प्रचार गरिए पनि फिल्ममा प्रेमकथा प्रस्तुतिका लागि गीतमा बाहेक अन्त ठाउँ दिइएको छैन। बीचका केही संवादहरुमा प्रेम प्रसंग घुसाइए पनि कथामा पाइँदैन।
 
लुकाइएका तर देखाउनपर्ने दृश्य
सम्रा़ट र उसको आमाको सम्बन्ध, जसलाई विष्णुको बुबाले गर्भवती बनाएर छोडे। विष्णुको बुबाले सम्राटको आमालाई गाउँ निकाला गर्नुको कारण के हो? सिमरनले सम्राटको आमा, गाउँबारे थाहा पाएको स्रोत। र, फिल्मको अन्त्यमा सम्राटले आफ्नो बुबा मार्न प्रयोग गरेको माध्यमबारे फिल्ममा खुल्दैन।

फरक धार र शैलीमा बनेको भनिए पनि गाँठो मसालेदार छैन। किनकि सुरुदेखि नै एउटै विषयको वरिपरि घुमिरहन्छ। नयाँ कलाकारको प्रस्तुतिले केही आशा देखिए पनि गाँठो कसिलो बनेको छ बरु यसभित्रका कथा छरिन पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell