PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

१४औं धर्मश्री : ७ तौल समूहमा प्रतिस्पर्धा हुने, पुरस्कार राशीमा वृद्धि



गोविन्दराज नेपाल

१४औं धर्मश्री : ७ तौल समूहमा प्रतिस्पर्धा हुने, पुरस्कार राशीमा वृद्धि

काठमाडौं : १४ औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अन्तर्गत २०७३ मा कुल ७ तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ। धर्मश्री विजेताले पाउने पुरस्कार राशीमा समेत वृद्धि गरिएको छ।
 
नेपालकै सबैभन्दा पुरानो शारीरिक सुगठन प्रतियोगिता धर्मश्रीको आयोजना गर्दै आएको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए।
 
दुई वर्षअघि भएको १३औं संस्करणका ६ विधामा प्रतिस्पर्धा गराइएको थियो भने यस पटक एक विधा बढाइएको छ। १४औं संस्करणमा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजी तौल समूहमा प्रतिस्पर्धा गराइनेछ।
 
हरेक तौल समूहबाट उत्कृष्ट २/२ खेलाडी अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा कुल १४ खेलाडीबीच च्याम्पियन बन्नको लागि प्रतिस्पर्धा हुनेछ।
 
ओभरअलमा विजेता बन्ने खेलाडी धर्मश्री च्याम्पियन बन्नेछन्। च्याम्पियनले नगद ५ लाख पुरस्कार प्राप्त गर्नेछन्। १३ औं संस्करणका विजेताले २ लाख प्राप्त गरेका थिए।

यस्तै, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख पाउनेछन् भने चौथोदेखि सातौं हुनेले क्रमश: ८० हजार, ७५ हजार, ६० हजार र ५० हजार पाउनेछन्। हरेक तौल समूहमा दोस्रो हुने ७ खेलाडीले जनही २५ हजार पाउनेछन् भने तेस्रो हुने ७ खेलाडीले जनही १५ हजार पाउनेछन्।
 
खुल्ला प्रतियोगितामा कुल ४ सय खेलाडीले सहभागिता जनाउने आयोजकले बताएको छ। प्रतियोगिता असोज १३ र १४ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। पहिलो दिन प्रि जजिङ राउण्ड र दोस्रो दिन फाइनल राउण्डका खेल हुने आयोजक संस्थाका अध्यक्ष नारायण प्रधानले जानकारी गराए।

१४ औं संस्करणको धर्मश्री प्रतियोगिताको लागि करिब ३४ लाख खर्च रहने आयोजकले बताएको छ। यस्तै यस संस्करणमा जिओनी मोबाइल मुख्य प्रायोजक रहेको छ।

२०१० सालमा स्थापना भएको नेपाल व्यायाम मन्दिरले २०४२ सालदेखि सहिद धर्मभक्त माथेमाको स्मृतिमा धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell