PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

सुदेशको कवितामा स्रोताको भिड, थियटरमा थेग्नै गाह्रो



स्वेच्छा राउत

सुदेशको कवितामा स्रोताको भिड, थियटरमा थेग्नै गाह्रो

सोमबार दिउँसो ३ बजे। कालिकास्थानमा रहेको सर्वनाम थिएटरको नाटकघरमा करिब तीन सय मानिस भेला भएका थिए। १ सय ८० जना सिट भरियो। अगाडि रहेको सोफा र टेबल अट्ने ठाउँ छोडेर भुईंभरि अटाइनअटाइ मानिस खाँदिए। नेपत्थ्यमा पनि मानिसहरु पलेटी कसेर बसे।
यहाँ नाटक भने मञ्चन हुँदै थिएन। कविता सुन्न मानिसहरुको ओभर फ्लो थियो थियटरमा। कविता भन्दै थिए सुदेश सत्याल।
 
छन्द कविता बाचेर युट्युबमा हजारौं हिट्स बटुल्न सफल युवा कवि सुदेश सत्यालको सामाजिक सञ्जाल सफलता त्यहाँमात्र सीमित भएन।  थियटरको भिडले त्यही कुरा देखायो।
 
कविता वाचनसँगै आज उनको कविता संग्रह 'अन्तरीक्षको धर्ती' बिमोचन भयो।
 
सर्वनाम थिएटरका निर्देशक अशेष मल्लले भने, 'यहाँ सयौं कविता संग्रह बिमोचन भए तर आजसम्म कुनै कविको किताब बिमोचनमा यत्तिको भिड देखेको थिइन। यो सुदेशको नाममा आएको शुभचिन्तकको भिड हो।'
 
कार्यक्रममा प्राध्यापक डाक्टर लक्ष्मण प्रसाद गौतम,  महेश पौडेल, गणेश प्रसाद जोशी र सुदेश सत्याल लगायतले किताब लोकार्पण गरे।
 
सत्यालले ७ वर्ष अगाडिदेखि लेखेका ५८ वटा कविताहरु किताबमा समावेश गरेका छन्।
सुदेशको पहिलो कृती अन्तरीक्षको धर्तीलाई ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको हो।
 
रु १५० तोकिएको किताबसँगै उनको कविता वाचनको सिडी पनि राखिएको छ। निकै सशक्त वाचनशैलीका कारण चर्चामा रहेका उनले पहिलोपोस्टसँग भने, 'मेरो पद्य कविताहरु परिवर्तनको आवाज बनोस् भन्ने चाहना हो।'
 
२१ वर्षीय कवि सत्यालको तारिफमा राष्ट्रकवि माधव घिमिरेले लेखेका छन्, 'भन्नेहरु पद्य कविताको युग गयो भन्छन् तर यी तन्नेरीले छन्द कविताको नयाँ युग लिएर आएका छन्। म सुदेशको कविता सुनेर गद्गद् भएको छु।'

फोटोहरु : राज श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell