PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

​एउटा हिम्मतको नाम हुसेन



स्वेच्छा राउत

​एउटा हिम्मतको नाम हुसेन

सामाजिक संस्कार र परम्पराले धेरैका आकांक्षाहरुलाई बन्धक बनाउने गर्छ। देख्दा सामान्य लाग्ने तर महत्वपूर्ण चाहनाहरु पूरा गर्न संघर्ष नै गर्नुपर्ने हुन्छ। समाजले नरुचाउनुले दुई विकल्प दिन्छ - त्यसलाई चुपचाप स्वीकार नभए विद्रोहका लागि तयार होउ। विद्रोहको बाटो सधै असहज नै हुन्छ। घर, परिवार र समाजसँग संघर्ष। त्यसपछि खुला र उदार समाजमा हुर्केकासँग कडा प्रतिस्पर्धामा! अनि त्यसमाथि अब्बल बनेर स्थापित हुनु सानो मेहनतको विषय रहन्न। त्यति हुँदाहुँदै पनि समुदायको मान्यताविरुद्ध कठोर बन्ने हिम्मत गर्छन् थोरै पात्रहरु। नाजिर हुसेन त्यही हिम्मतको एउटा नाम बनेको छ।

माथा पंचर, डिग्री माइला, चरणदास चोर, स्वप्नमहल, सुनकेशरी, मितज्यू लगायतका नाटकबाट रंगमञ्चमा रत्तिसके नाजिर हुसेन। त्यसो त उनी नृत्य प्रशिक्षणका लागि बाराबाट काठमाडौं आएका थिए। नाटक उनको सोचमा थिएन। नाटकको अभिनयबाटै उनले दर्शक बटुले। दर्शकका सामुन्ने अभिनयमा जमिरहेका उनको सोचमा त फिल्म टाढाकै विषय थियो। यतिखेर भने उनी दर्शकसामु नै देखिन्छन् तर पर्दामा। उनको अभिनयलाई मजाले रुचाएका छन् दर्शकले।

उनीमाथिका सामाजिक दृष्टिकोणहरु पनि रुपान्तरित भएका छन्। नाजिर निकै उत्साहित हुँदै भन्छन्, 'पहिलेपहिले पसल तिर जाँदा सामान किनेरमात्र फर्कन्थें। अहिले सामान किन्न जाँदा ‘दाइ बस्नु न’ भन्नुहुन्छ। सामान किनेर आउँदा खुसी सित्तैमा लिएर फर्किन्छु।' यसमै रमाएका छन् उनी।

प्रत्यक्ष उपस्थित हुनुपर्ने रङ्मञ्च होस् या भर्चुअलरुपमा देखिने पर्दा, कलाकारहरु आफ्नो नामको खोजीमा हुन्छन्। पेशामा दह्रोसँग टिक्न धेरैले आफ्नो नाम नै फेरेका हुन्छन्। पहिचान नै फेरेका हुन्छन्। यस्तो मामिलामा ठीक उल्टो छन् हुसेन।

उनी चाहन्छन् - पात्रका कारण बनोस् पहिचान। चरित्रले चिनुन्। उनको यो रहर पूरा भयो फिल्म होस्टल रिटर्नसमा। रामेश्वर यादवका रुपमा उनलाई दर्शकले चिने। त्यसअघि उनलाई पुन्टे परेड, जंगे फिल्ममा काम गरिसकेका थिए।

भर्खरै उनी लिड रोलमा आए - फिल्म 'गाँठो'मा।

फिल्मको प्रिमियर सो हेरेर फर्किएपछि उनका दाइले भने, 'अब त पुग्यो होला नि।'

फिल्म युनिट, साथीभाइ देखि सयौंको तारिफ र वाहवाही छ उनको अभिनयमा। तर परिवारका सदस्यबाट आइरहने यस्ता प्रश्न उनलाई प्रितकर लाग्दैन। उनको दाजु भाउजु चाहँदैनन् - नाजिर सधैं कलाकारितामा लागोस्।

नाटक र फिल्म भनेर जिन्दगी नबिताओस् भन्ने उनीहरुको चाहना! पेशामाथि पारिवारिक द्वन्द्वमा उनी संघर्ष गरिरहेका हुन्छन्। उनका अभिभावको चाहना उनको भविष्यसँग जोडिएको चिन्ता पनि हो। त्यही चिन्ता सुन्न चाहन्नन् हुसेन।

हुसेनलाई डाक्टर बनाउने आमाको सपना! दिदीहरुको भाइ सरकारी जागिरे भएको हेर्ने चाहना। अनि भाइ आफूसँगै व्यवसाय सम्हालोस् भन्ने आशा गर्ने दाजुको। उनको सोख चाँहि नृत्य, नाटक र अभिनय। परिवारमा कसैको योजनासँग उनी नजिकिन सकेनन्। उनको कला प्रेमले परिवारलाई निराश त बनायो नै साथै उनलाई पनि अन्यौलमा अड्याइराख्यो।

परिवार भन्छन्, 'सरकारी जागिर खा लाइफ सेक्योर बना।'

तर अहिले नाजिरलाई छुट्टै उर्जा मिलेको छ। कन्फिडेन्स लेभल पनि माथितिर उकालिँदै छ। दर्शकको अनि शुभचिन्तकको मायाले धेरै अवरोधहरुलाई पराजित गरेझै भएको छ उनलाई। भन्छन्,'अब परिवारलाई पनि अभिनय गरेरै खुसी बनाउँछु।'

नाजिरलाई लाग्छ आफ्नो काम सोचेर गर्ने बानीले अहिलेसम्म निराश हुन परेको छैन। उनी आफ्नो मालिक आफैँ ठान्छन्। र आफ्ना रहरहरु अरुको सोचले बदल्न सक्दैनन्। त्यसैले पनि हो अरुले के सोच्छन् भन्ने कुराले उनलाई रोक्न सकेन। सक्थ्यो त हजारौं मानिसहरु उनी अभिनित फिल्ममा एकटक भएर बसिरहने थिएनन्। तैपनि उनी होस नगुमाउन मुडमा देखिए। मतलब मात्तिन हुन्न भन्नेमा सचेत छन्।

भने, ’आफ्नो कामबाट मिहिनेत गरे अनुसार आशा हुन्छ तर ढ्यानट्यारान सेलिब्रेटी बन्ने सोच आएको छैन।‘

उनलाई लाग्छ कला देखिने पेशा हो। त्यसैले पनि देखेर मन पराउनेहरुले निकै विशेष महसुस गराउँछन् उनलाई। परिवारसँगै उनको समुदायले पनि चाहेको छैन - कलाकारिता नै नाजिरको लक्ष्य बनोस्।

नाटक गर्दा एक रत्ति पनि खुसी नभएका परिवारका सदस्य ५ वटा फिल्म सार्वजनिक हुँदासम्म थोरै भए पनि कन्भिन्स हुँदै गएका छन्। तर परिवारले उनको इच्छा, योजना स्वीकार्नु मात्रले उनलाई सहज भने बनाउने छैन।

भन्छन्, 'हाम्रो कल्चरले पनि मैले अपनाएको क्षेत्रलाई सजिलै स्वीकार्न सकेको छैन।'

उनी जुन संस्कारमा हुर्किए त्यहाँ पर्दामा देखिनुलाई महत्व दिइँदैन। मुस्लिम समुदायका आमाबुबा आफ्नो छोराछोरी धेरै पढुन्। पढेर कुनै राम्रो जागिर खाउन् वा मोल्बी बनोस् भन्ने चाहन्छन्। मोल्बी इस्लाम धर्मगुरु हुन्।

मोल्बी नै बन्नु त उनको रहर हुनै सकेन। तर आफ्नो धर्म, संस्कारको सम्मान गर्छन् नाजिर। फेरि कलाकारिता पनि उनको धर्म बनेको छ। त्यही कन्ट्राडिक्टबाट अघि बढेका उनी भन्छन्, 'आफ्नो धर्म निभाएरै सबैलाई रिझाउँछु।' कसकसलाई रिझाउने त उनले ?

केही आशावादी हुँदै सुनाए, 'परिवार, दर्शक अनि आफ्नो समुदाय पनि।'
उनी थोरै मुस्काए।

समाजमा रहन नहुने सोचलाई कलाकै माध्यमबाट हटाउनुपर्छ भन्ने उनको मान्यता छ। आफ्नो जीवनमा भोगेका सबै खालका अनुभव पर्दामा उतार्न सके राम्रै पाठ बन्ने विषयमा उनी कल्पिन्छन्। भन्छन्, 'केही परिवर्तनशील कथाले मेरो जीवनको कथा बोक्छ। त्यसमा म अभिनय गर्न तयार हुनेछु।' उनको रहर सिनेमाको स्क्रिप्टमा रुपान्तरण हुन्छ कि हुँदैन थाहा छैन।

नाजिर आफ्नो समुदायलाई बुझाउन चाहन्छन् - नाचगान, अभिनय अनि कलाका कुनै पनि माध्यम संस्कार र धर्म विरोधी हुन्नन्। तिनले कुनै क्षति पुर्‍याउँदैनन्।

दीपेन श्रेष्ठले खिचेका बाहेक सबै फोटा हुसेनले उपलब्ध गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell