PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

क्यान्सरलाई जितेका सुरेन्द्र हमालको आत्मकथा 'ओलम्पियन' सार्वजनिक



गोविन्दराज नेपाल

क्यान्सरलाई जितेका सुरेन्द्र हमालको आत्मकथा 'ओलम्पियन' सार्वजनिक

काठमाडौं : नेपाली खेल क्षेत्रकै पहिलो आत्मकथा सुरेन्द्र हमालको 'ओलम्पियन' सार्वजनिक भएको छ।
 
मंगलबार राष्ट्रिय खेलकुद परिषद्को सेमिकबर्डहलमा आयोजित कार्यक्रममा नेपालबाट ओलम्पिकमा भाग लिएका ५ ओलम्पियन खेलाडीले संयुक्त रुपमा विमोचन गरे।
 
भारोत्तोलन खेलाडी हमालसँगै ओलम्पिकमा छनोट चरण पार गरेर सहभागिता जनाउने पहिलो खेलाडी तेक्वान्दोकी संगीना बैद्य, जगदिश प्रधान, पुष्पराज ओझा र अनिता विन्दुले पुस्तकको विमोचन गरेका हुन्।

राखेपका वर्तमान कोषाध्यक्ष समेत रहेको हमालले सन् १९८४ को लस एन्जलस ओलम्पिकमा भाग लिएका थिए। हमालले नै भारोत्तोलनमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए।

सन् १९८४ मै सिरियामा भएको एसियन भारोत्तोलन च्याम्पियनसिपमा हमालले नेपाललाई कास्य पदक दिलाएका थिए।
सुरेन्द्र हमालले भारोत्तोलनमा पदक मात्र जितेनन्, क्यान्सर जस्तो रोगलाई समेत जिते।

ओलम्पियन हमालले सुरुमा आत्मकथा निकाल्ने सोच नभएको तर साथी भाइहरुको निरन्तर प्रेरणाले नै किताब निकाल्न हौसला दिएको बताए। आत्मविश्वास, श्रीमती र भाइबुहारीको साथ र मेहनतका कारणनै पुस्तक निकाल्न सम्भव भएको र आफु अहिले यहाँसम्म आइपुगेको उनको भनाइ थियो।

उनले आफ्नो पालाको खेलकुद जीवन र अहिलेको तुलनामा धेरै फरक रहेको समेत बताए। 'सुरुमा खेलकुद सजिलो थिएन। काठमाडौंबाट साढे पाँच समय किलोमिटर टाढा नेपागन्जमा खेलकुदको पूर्वाधार थिएन, खेल्न गाह्रो थियो। तर अहिले धेरै सुविधा छ,' उनले आफ्नो पुरानो दिन सम्झँदै भने, 'त्यति बेला पूर्वाधार नभए पनि प्रतियोगिताहरु भने धेरै हुन्थे।' आफ्नो पुस्तकले नयाँ खेलाडीहरुलाई हौसला प्रदान गर्ने र प्रेरणाको स्रोत बन्ने हमालले बताए, 'पहिलाका खेलाडीले कसरी खेल्थे र अहिले कसरी खेलिन्छ भन्ने कुरा नयाँ खेलाडीले बुझ्नेछन्।'

हमालले भारोत्तोलनमा लाग्नुको अनौठो कहानी समेत सुनाए। 'सानोमा बुवाले दाइहरुलाई कुस्ती खेल्न पठाउनुहुन्थ्यो र शरीरमा माटो लगाएर आएमा पसलमा जलेवी खान पाउँछ भन्नुहुन्थ्यो। दाजुहरु जलेवी खानकै लागि भए पनि कुस्ती खेलेर शरीरमा माटो लगाएर आउँथे। सानै भए पनि म त्यसतर्फ आकर्षित हुन्थेँ। बिस्तारै ममा पनि पहलमानीको बानी बस्दै गयो। गाडेर राखेको खम्बा उठाउने बानी लाग्यो र वेइटलिफ्टीङतर्फ लागेँ।'

सुरुमा टेबलटेसिन समेत खेलेका हमालले क्रिकेट भलिबल जस्ता विभिन्न खेल समेत खेल्न भ्याए। खेलाडी मात्र नभएर सामाजिक कार्यमा समेत सक्रिय हमाल ब्लड डोनर समेत हुन्। उनले ३७ पटक सम्म ब्लड डोनेसन गरेको अनुभव सुनाए।

हमाललाई लेखन कार्यमा सघाएका क्रिएटिभ बुक्सका अध्यक्ष टी एस ठकुरीले हमाललाई क्यान्सर लागेको बेला भेट्दादेखि नै उनकोबारे पुस्तक लेख्ने सोच राखेको बताए। 'नेपालगन्जमा हमाललाई क्यान्सर लागेको बेला भेट्न जाँदा मैले कत्ति पनि विचलित देखिन। त्यस्तो बेलमा समेत हमालमा धैर्य साहस र आत्मविश्वास देखेँ,' उनले भने, 'त्यस बेलादेखि नै किताब लेखौं भन्ने लाग्यो र उहाँलाई आग्रह गरेको थिएँ।'

ठकुरीले ओलम्पिक खेलाडीको जिवनको संघर्षको कथा भएके अरु खेलाडीको कथा लेख्न समेत यसले बाटो खोलिदिएको बताए।

साहित्यकार नयनराज पाण्डले नेपाली लेखन क्षेत्र र खेलकुद क्षेत्रको लागि ओलम्पियन पुस्तकले ठूलो योगदान पुग्ने बताए। उनले पुस्तकले सुरुदेखि अन्तिमसम्म बाँधेर राख्ने र सिनेमा शैलीको रहेको समेत बताए।

'पुस्तक सिनेमा शैलीको छ, नेपाली खेल क्षेत्रको संघर्ष, पीडा, उपलब्धि सबै समेटिएको छ। यसबाट नेपाली चलचित्र क्षेत्रमा एउटा सुन्दर सिनेमा बन्न सक्छ,' पाण्डेले भने।

यस्तै पुस्तकबारे टीप्पणी गर्दै नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले खेलाडीको आत्मकथाको क्रम सुरु भएको बताए। पुस्तकमा भाषाको सरलता रहेको र खेलकुद पत्रकारहरुका लागि दस्तावेज समेत बन्ने बताए।

हमालको खेल जीवन संघर्ष, उनले हात पारेको सफलता, जीवनमा भोगेका आरोह अवरोहलाई समेट्दै क्रिएटिभ बुक्सले ओलम्पियन पुस्तक निकालेको हो। चार वर्षअघि क्यान्सर लागेका हमालको भारतको लखनउमा उपचार गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell