PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'पारिश्रमिक लिएर प्रमोसनका बेला भाग्ने कलाकार'



स्वेच्छा राउत

'पारिश्रमिक लिएर प्रमोसनका बेला भाग्ने कलाकार'

काठमाडौँ : ब्रेकअपअघि फिल्म 'फूलैफूलको मौसम'मा एकैसाथ पर्दामा देखिएका थिए कलाकारहरु आमेश भण्डारी र नीता ढुङ्गाना।

यही जोडी मंसिर १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'तँ म र ऊ'मा पनि अनस्क्रिन रोमान्स गर्दैछन्। दुईबीच प्रेम सम्बन्ध प्रगाढ रहँदा नै छायंकन भएको फिल्म 'तँ म र ऊ' को प्रोमोसन गर्ने बेला भने अहिले यी दुई छुट्टिएका छन्।

रिल लाइफमा जोडी बाँधेका यी दुई कलाकारको रियल लाइफ ट्विस्टले फिल्मलाई समेत असर पर्ने देखिएको छ। बुधबार फिल्मको नयाँ प्रोमो तथा गीत सार्वजनिक समारोहमा फिल्मका मुख्य कलाकार आमेश र नीता दुवै उपस्थित भएनन्।

उनीहरुको अनुपस्थितिलाई लक्षित गर्दै फिल्मकी निर्देशक लक्षु गौतमले भनिन्, 'पारिश्रमिक लिएर प्रमोसनको बेला भाग्ने कलाकारलाई अर्कोचोटीलाई कसले पत्याउँछ?' फिल्म पाउनु अघि र छायंकन रहुन्जेल मात्र युनिटसँग राम्रो सम्बन्ध राख्ने कलाकारहरुको करियर राम्रो दिशामा नधकेलिने उनले दाबी गरिन्।


यता फिल्मको निर्देशकले कलाकारलाई व्यङ्ग्य गरिरहँदा नायिका नीता ढुङ्गाना भने आँखामा इन्फेकसन भएर बेड रेस्टमा छिन्। पहिलोपोस्टसँग कुरा गर्दै नीताले भनिन्, 'म आँखाको समस्याका कारण आराममा छु। स्वास्थ्य नभनी हिड्न त मिलेन नि।'

उनले आफू बिरामी नपरेको भए पनि सुटिङको व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुने दावी गरिन्। 'कलाकर हुँ नयाँ नयाँ काम हुन्छ पुरानै प्रोजेक्टका लागि दौडिने फूर्सद हुँदैन,' उनले भनिन्। 

आफू अझैं केही दिन आउटडोर काममा हिड्न नसक्ने अवस्थामा रहेको उनले बताइन्।

नायक आमेशले भने आफूले हिजो मङ्गलबार नै निर्देशक गौतमलाई आफू कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिएको बताए।

भने,'हिजो पोखरामा थिएँ। आज १ बजेसम्ममा काठमाडौं आइपुगेँ। कार्यक्रममा जाने सोच थियो। भ्याइन।' उनले आफूलाई फिल्म क्षेत्रमा स्थापित हुन सहयोग गर्ने फिल्म भएकाले 'तँ म र ऊ' आफ्ना लागि विशेष भएको बताए।

'पुरानो भयो। २ वर्ष अघि बन्नासाथ प्रदर्शन भएको भए राम्रो हुन्थ्यो। अब त दर्शकले मन पराउछन् भन्ने आश मात्र गर्न सकिन्छ किनकि दर्शकको अपेक्षा बढिसक्यो’, उनले भनिन्।

कलाकारीतासँगै व्यवसायमा पनि संलग्न आमेश आफू पुरै टाइम फिल्मलाई मात्र दिन नसक्ने बताउँछन्। केही महिना अघि ब्रेकअपको खबर सार्वजनिक भए पनि कलाकार आमेश भण्डारी र नीता ढुङ्गाना कुनै पनि सार्वजनिक समारोहमा सँगै देखिएका छैनन्। (फोटो : ग्ल्यामर नेपाल)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell