PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

एन्फामा चुनावको चटारो : अध्यक्षमा नरेन्द्र श्रेष्ठ र उपाध्यक्षमा मणि कुँवरको उम्मेदवारी



गोविन्दराज नेपाल

एन्फामा चुनावको चटारो : अध्यक्षमा नरेन्द्र श्रेष्ठ र उपाध्यक्षमा मणि कुँवरको उम्मेदवारी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा मार्फत आगामी कात्तिक ८ गते हुने अध्यक्ष र उपाध्यक्ष पदको निर्वाचनको लागि चुनामी सरगर्मी बढेको छ।
 
दुई पदका लागि उम्मेदवारी दर्ता गराउनुपर्ने दुई दिनअघि अध्यक्ष पदको लागि एक र उपाध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।
 
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलनको गरी नरेन्द्रलाल श्रेष्ठले अध्यक्ष र मणि कुँवरले उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका हुन्। शुक्रबारै श्रेष्ठले अध्यक्ष र कुँवरले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको एन्फाका सिइओ इन्द्रमान तुलाधरले बताए। यस्तै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपेन्द्रमान सिंहले पनि शुक्रबारै उम्मेदवारी दर्ता गरेका छन्। 
 
अध्यक्षमा कर्मा छिरिङ शेर्पा र विज्ञानराज शर्माले उम्मेदवारी दिने चर्चा चले पनि अहिलेसम्म उनीहरुले दर्ता गराएका छैनन्। यसअघि अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गरेका एन्फा र मनाङ मर्स्याङ्दी क्लबका पूर्वअध्यक्ष टाशी घलेले भने चुनावी निर्देशिकाप्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी नदिने घोषणा गरिसकेका छन्।
 
आगामी कात्तिक ८ गते हुने अध्यक्ष र उपाध्यक्ष पदका लागि आगामी असोज ९ गतेभित्र उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ। 
 

के भन्छन्, उम्मेदवार?

अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नरेन्द्र श्रेष्ठले जिल्ला फुटबल संघ र क्लबका साथीहरुको समर्थनका साथै फुटबलमा लागेर अहिलेसम्म गरेको योगदानको आधारमा आफूले अध्यक्ष पदको लागि दाबेदारी दिएको बताए।

'फुटबलमै जिन्दगी बिताएँ, त्यसैले आगामी एकवर्षे कार्यकालको लागि पनि उम्मेदवारी दिएको हुँ,' एन्फाको वर्तमान कार्यवाहक अध्यक्ष समेत रहेका श्रेष्ठले भने, 'किनकि यो एक वर्ष मैले नै पाउनुपर्छ भन्ने लाग्यो। त्यो मेरो अधिकार पनि हो।' चुनौती सामना गर्नका लागि पनि उम्मेदवारी दिएको उनको भनाइ छ। 
 
गत वर्षको कात्तिक ४ गते उनलाई एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिइएको थियो। फुटबलमा लागेर आफ्नो बलले सक्ने काम गरेको र नेपाली फुटबलबाट भागेर आफू कतै नजाने पनि उनले प्रस्ट्याए।
 
'फुटबलमै छु, यसबाट म कतै भाग्न सक्दिनँ। केही व्यक्तिले विदेश जान्छ र उतै बस्छ भनेको सुनेको छु,' श्रेष्ठले भने, 'यो सबै हल्ला हो। म विदेश गए पनि केही समय बसेर फर्कनेछु।'
 
उपाध्यक्षमा उम्मेदवारी दिएका मणि कुँवरले एन्फाको पुराना कार्यक्रमलाई निरन्तरता दिने र अहिले रहेका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका छन्। कुँवर वर्तमान एन्फाको सहसचिव समेत हुन्।
 
शुक्रबार अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका श्रेष्ठ र कुँवरको समर्थनमा अहिलेसम्म २२ जिल्ला फुटबल संघ, ए, बी र सी गरी १० क्लब तथा तीन समितीको समर्थन रहेको सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष तथा श्रेष्ठ र कुँवरको प्रस्तावक रहेका वीरबहादुर खड्काले बताए।
 

रिक्त पदमा चुनाव


फिफाले करिब दुई दशकदेखि एन्फा नेतृत्वमा रहेका गणेश थापालाई विभिन्न भ्रष्टाचार अभियोगमा १० वर्षको प्रतिबन्ध र करिब २१ लाख जरिवाना लगाए पनि पहिलोपटक नेपाली फुटबलको सर्वोच्च निकाय नेतृत्वको लागि चुनाव हुन लागेको हो।
 
तत्कालीन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको गत जेठमा करेन्ट लागेर निधन भएपछि एन्फाको उपाध्यक्ष पद पनि रिक्त छ। यिनै दुई पदको लागि एसियाली फुटबलको निर्देशनमा कात्तिक ८ गते आगामी एकवर्षे कार्यकालको लागि चुनाव हुन लागेको हो।
 
एन्फामा एकभन्दा बढी विधान कायम रहेको भन्ने चर्चा चलिरहेको बेला अध्यक्षका उम्मेदवार तथा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले २०७० कात्तिक ७ गतेको विशेष साधारणसभा मार्फत संशोधित विधानबाटै चुनाव हुने बताएका छन्।
 
चुनावका लागि एएफसीबाट प्रतिनिधि आउने र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रतिनिधिको समेत उपस्थिति हुने सिइओ इन्द्रमान तुलाधरले बताए। यस्तै परिषद्बाट चुनावका लागि पत्र प्राप्त भइसकेको र एन्फाले नै बनाएको कमिटीबाट चुनाव गराउन समेत राखेपले स्वीकृत गरेको उनले जानकारी गराए।

(फोटो : मनिष श्रेष्ठ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell