PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अमेरिकामा यसरी बन्यो सफर, निर्देशकले सुनाए अप्ठेरा र रोमाञ्चक ५ अनुभव



स्वेच्छा राउत

अमेरिकामा यसरी बन्यो सफर, निर्देशकले सुनाए अप्ठेरा र रोमाञ्चक ५ अनुभव

काठमाडौं : सम्पूर्ण छायांकन अमेरिकामा गरेको फिल्म 'सफर' असोज १४ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्म हलमा लाग्नुभन्दा ठिक पाँच दिनअघि निर्माण युनिटले 'प्रेस मिट' गर्‍यो। नेपालका लागि गरेको पहिलो 'मिट' कुनै सभाहल वा क्याफेमा थिएन। पार्किङस्थलको अस्तव्यस्त परिवेशमा भएको यो कार्यक्रममा निर्देशक, कलाकार आ-आफ्ना अनुभव सुनाउन व्यस्त थिए।
 
गाडी र मोटरसाइकलको भिड र अनावश्यक आवाज। किन यस्तो भद्रगोलमा प्रेस मिट?

नायक सञ्जय गुप्ताले भने, 'दिमागमा आएको र्‍यान्डम कथालाई फिल्म बनाउने योजना पार्किङ लटमै बनेको थियो। निर्देशक र निर्माताले घन्टौं पार्किङ लटमा बसेर फिल्म जन्मएकाले नै यो कन्सेप्ट आएको हो।'
 
पढ्ने, पैसा कमाउने र रमाइलो जीवन बिताउने सपना बोकेर अमेरिका गएका तीन नेपाली युवाको कथा हो सफर। फिल्मलाई युवा फिल्मसले तयार गरेको फिल्मलाई निर्देशन र सम्पादन आशिष श्रेष्ठले गरेका छन्।
 
निर्देशक श्रेष्ठ भन्छन्, 'युवाको विदेशी जीवनशैलीप्रतिको क्रेज पर्दामा उतार्ने कोसिस हो। फिल्ममा युवावस्थामा भोग्नुपर्ने पढाइको चिन्ता, प्रेम, समस्या सबै समावेश गर्ने प्रयास देख्नुहुन्छ।'
 
फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोखरेल, नुर्जा श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका रहेको छ। समावेश भएका चार गीतमा स्वरुपराज आचार्य, धर्मेन्द्र सेवान, सुगम पोख्रेल, सुमन गुरुङको स्वर छ। फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पनि पाइसकेको छ।
 
विदेशी भूमिमा नेपाली फिल्मको पूरै छायांकन गर्न त्यति सजिलो नभएको निर्देशक श्रेष्ठले बताए। उनले अरुको देशको भूगोलमा रहेर फिल्म तयार गर्दा भोगेका अप्ठेरा र केही रोमाञ्चक अनुभव पहिलोपोस्टसँग यसरी सुनाए-

  • मौसम
छोटो समयमा धेरै सुट गर्नुपर्ने। तर बदलिँदो मौसमका कारण फिल्म युनिटलाई निकै अफ्ठ्यारो भयो। कति सिनहरु त मौसमकै कारण स्किप गर्नुपरेको थियो। प्रकृतिको कुरा हो, हामीले फेर्छौं भनेर फेर्न मिलेन त्यसैले एडजस्ट गर्‍यौं। 
 
  • पर्मिटको लफडा
नेपालमा छायांकन गर्न स्पटहरुमा खासै समस्या पर्दैन। तर नेपाली फिल्मको सुटिङ भए पनि अमेरिकाको हकमा त्यसतो भएन। फिल्म सुटको पर्मिट लिनका लागि सफर युनिटले दौडधुप नै कठिन 'सफर' बन्यो। कुन सहरको कुन लोकेसनमा सुट गर्ने? त्यसका लागि कति कलाकार हुन्छन्? कति समयका लागि र 'क्रु'का कति जना? यी सबैको डिटेल बुझाउनुपर्‍यो। टुक्राटुक्रा शटहरुको पनि पूरै जानकारी दिनका लागि क्रु र समयको पूर्वअनुमान लाउन निकै गाह्रो परेको थियो।
 
मैले र निर्माता केशव खड्काले त पर्मिट लिनकै लागि लोकेशन खोज्दै निकै ठाउँ सफर गर्‍यौं। फिल्म सुटिङ सुरु हुनुअघिको त्यो सफर साँच्चिकै कठिन र रोमाञ्चक पनि थियो।
 
  • लामो सफर
जिन्दगीको यात्रा बखान गर्न खोजिएको फिल्म सफरकै यात्रा पनि बखान गर्न योग्य छ। सन् २०१२ देखि योजनामा अटेको फिल्मको कथा भने २०१४ मा मात्र लेखिएको हो। फिल्म नै बनाउने काम सुरु भएको पनि दुई वर्ष बितिसक्यो।

फिल्म लाइनका कोही थिएनौं। यसैले पनि चुनौती धेरै थिए। गाह्रो हुनु स्वाभाविक थियो। फिल्मको दृश्यमा पात्रहरु झन्डै दुई हजार किलोमिटरको यात्रा गर्छन्। ड्यालसदेखि सानफ्रान्सिस्कोसम्म गाडीको यात्रा फिल्म युनिटका लागि सहज रहेन। 
 
  • नेपाली कलाकार विदेशी क्रु
विदेशी क्रुको समय व्यवस्थापन र सेल्फ सेन्टर्ड बानीका कारण पनि सफर युनिटले केही अप्ठेरो भोगेको छ। समयमै स्पट नपुग्दा कति सिनहरु काट्नुपर्‍यो। उनीहरुको शैली र तरिका नै भिन्न थियो। कहिलेकाही हामी उनीहरुलाई बुझ्न नसक्ने, कहिले उनीहरु हामीलाई। तर पनि क्रुसँगको सहयात्रा निकै रमणीय र सम्मानयोग्य बन्यो।
 
  • दुई महिनामा मात्र स्क्रिप्ट पास
अमेरिकामा कुनै विदेशी फिल्म सुट गर्नुअघि त्यहाँको लाइब्रेरी अफ कङ्ग्रेसले फिल्मको स्क्रिप्टलाई पास गर्नुपर्छ। सफर युनिटले पनि पूर्ण तयारीका साथ स्क्रिप्ट बुझाएको थियो। तर निकै समय कुर्दा पनि लाइब्रेरीबाट हामीलाई जानकारी आएन। त्यसै पनि कथा लेखन, कलाकार चयन, लोकेसन खोजका कारण फिल्म सुरु गर्ने भनिएको निर्धारित समयभन्दा निकै ढिला काम सुरु भएको थियो। झन्डै दुई महिनापछि मात्रै लाइब्रेरी अफ कङ्ग्रेसले सर्टिफिकेट प्रदान गरेपछि सफरको 'सफर' सुरु भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell