PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

संघर्षको फरक कथा : को सबल को निर्बल!



स्वेच्छा राउत

संघर्षको फरक कथा : को सबल को निर्बल!

काठमाडौं : अगरबत्ती लिएर किराना पसल पुगेका थिए जनक मिजार। किराना पसलका साहुले १५ मिनेटसम्म अगरबत्ती ओल्टाइपल्टाइ गरेर बार्गेनिङ गरेपछि नकिन्ने निर्णय सुनाए। 'बोहनी' भएको थिएन त्यसैले जनकले आग्रह गरे –' समय लिनु भयो अब एउटा मात्र भए पनि अगरबत्ती राखिदिनु।' साहुजी आक्रमक रुपमा प्रस्तुत भए। उनीमात्र होइन उनकी पत्नी पनि आक्रमणमा उत्रिइन्। उनीहरुले जनकको सामानमात्र हुर्‍याएनन् हातपात नै गरे। दृष्टिविहीन मिजारको ह्वाइटकेन (सेतो छडी) पनि भाँचिदिए।

त्यसदिन पुलिसको साहरा लिए जनकले। पसलेलाई माफी माग्न लगाए अनि ह्वाइटकेनको रकम पनि जरिवानास्वरुप लिए। बजारमा गाली सुन्नु दैनिकी नै बनेको छ। तीतो अनुभव सुनाउँदै जनक भन्छन्,' मान्छेले दुखाउँछन्। ठोक्किनु, लड्नुले बरु त्यति पीडा हुँदैन।'

जनक मिजार र उनले रोजगार दिएका १६ जना हरेक दिन २/२ जना गरेर ४ जनाको टोली बनाउछन् र हिड्छन् मार्केटिङमा। हातमा तीन ब्राण्डका अगरबत्ती बोक्नु, काठमाडौंका पसल पसलमा ती अगरवत्ती किनिदिन आग्रह गर्नु र आफूलाई घाटा नहुने मार्जिन राखेर बेच्नु उनीहरुको दैनिकी हो। 

मिजार महेन्द्ररत्न क्याम्पसमा एमएड दोस्रो वर्षमा अध्ययनरत छन्। बिएडसम्म स्कलरसीपमा पढेका उनले ब्याचलर सक्किएपछि पढाउने काम नखोजेका होइनन्। भन्छन्, 'हामी आँखा नदेख्नेलाई देखेपछि कसले पत्याउने? बौद्धिकता आँखामा झल्किँदैन भन्ने कुरा बुझ्दैनन्।'
 

संघर्षको अर्को रुप

२०७० मा उनले थाहा पाए साथी उमेश थापाले धुप बनाएर बेच्छन्। राम्रै मुनाफा हुने थाहा पाएपछि उनले पनि धुप बनाउने तालिम लिए। तर व्यवसाय सुरु गर्न जम्मा गरेको पैसा त मेसिन किन्न पनि नपुग्ने रहेछ। आफूसँग भएको सोह्र हजार रुपैयाँको अगरबत्ती किनेर ल्याए। र, खुद्रा व्यापार गर्न थाले। २ वर्ष बढी भयो। सुरुमा दुईजना मिलेर पसल पसलमा धुप लग्थे, बेच्थे र फाइदा आएको पैसा भाग लगाउथे। अहिले मिजारको नेतृत्वमा १६ जनाले रोजगार पाएका छन् जसमध्ये ८ जना आँखा देख्छन् र ८ जनाले देख्दैनन्। 

जनक ढुक्क छन्, 'मैले गरेको व्यवसायले आँखा नदेख्नेले मात्र होइन दृष्टि भएका मेरा स्टाफहरुले पनि कमाएका छन्।'  

हप्तामा ४० हजारसम्मको सामान बिक्री गर्छन् उनी। अहिले घर चलाउन र काम गर्नेलाई ज्याला दिन कुनै समस्या छैन। लगानी गर्न सकिने पैसा भएपछि भने आफैं उत्पादन गरेर मार्केटिङ गर्ने उनको 'मास्टर प्लान' छ।

जनकको व्यवसायमा सहयोग गर्ने उनको साथी छन् सुशील थापा। उनी फुर्सदको समयमा धुप बेच्न हिड्छन्। आफू भने फुटपाथमा लुगा बेच्छन्।
सुशिललाई लाग्छ - पहिले मार्केट पर्याप्त थियो। अहिले मार्केटिङमा हिड्ने पनि धेरै भए, व्यापार पहिलेभन्दा केही घटेको छ।

थुप्रै दृष्टिविहीनहरुले काम खोजेर वा आफै व्यापार व्यवसाय गरेर अघि बढ्न खोजे पनि समाजले दृष्टिविहीनलाई अझै अशक्तका रुपमा हेर्ने उनको अनुमान छ। भन्छन्, 'सामान बेच्दा होस् वा धुप पुर्‍याउन जाँदा ५/१० पैसा दिएर धपाउन खोज्छन्। तर हामी लिँदैनौं। बरु सामान नकिनुन् तर हाम्रो कुरा सुनिदिउन् भन्ने चाहिँ हुन्छ।'

एकपटक उनले ग्राहकलाई पाँच सय फिर्ता दिनुपर्नेमा हजारको नोट दिएछन्। तर ती ग्राहकले उनलाई पैसा फिर्ता दिएनन्। उनले निकै दु:खी हुँदै सुनाए, 'कोही दया गरेर पैसा दिन खोज्छन् तर हामी लिँदैनौं किनकि हाम्रो आशा त हामीलाई पनि होस् ग्राहकलाई पनि होस् भन्ने हो।'

सीपमा उत्तिकै सवल

काठमाडौं महाराजगञ्जस्थित विमेन्स ड्रिम्स नामक संस्थामा हरेक दिन महिलाहरु जम्मा हुन्छन् र विभिन्न हस्तकलाका सामाग्री बनाउँछन्। ती महिलाहरुको भिडमा देखिन्छन् दुई दृष्टिविहीन अपेक्षा गुरुङ र भावना गुरुङ। दुवै बिहान उठ्छन्, खाना बनाउँछन्, आ-आफ्नो छोरा छोरीलाई स्कूल पठाउँछन् र घर धन्दा सकेर संस्थामा आउँछन्।

त्यहाँ उनीहरु कागजको पेन्सिल र कागजकै ब्याग तयार गर्नु उनीहरुको काम हो। विमेन्स ड्रिम्सकी व्यवस्थापक सुधा बस्नेत भन्छिन्, 'भावना र अपेक्षाले गर्छु भन्ने इच्छाशक्ति देखाएका भएर नै हामीले तालिम दिएर काममा राखेका हौं।'

सुधा बस्नेतलाई लाग्छ साधारण मान्छेमा भन्दा उनीहरुमा कामप्रतिको लगाव बढी छ। जिम्मेवारीपूर्वक काम गर्छन्।

काठमाडौंकी भावना पशुपति क्याम्पसबाट यसै वर्ष बिए तेस्रो वर्षको परीक्षा दिइन्। उनले अरु काम नखोजेको पनि होइन तर क्षमता भए पनि आँखा नहुनाले उनी अरु काम गर्ने सपनाबाट बन्चित छिन्।

उनी कागजको ब्याग र पेन्सिल बनाउन मात्र होइन झोल साबुन पनि बनाउन सक्छिन्। भावना भन्छिन्, 'खर्च गरेर मार्केटिङ गर्न पाए झोल साबुनले राम्रो बजार लिन्छ। चाहना छ, सीप छ, बजार पनि छ तर के गर्नु सुरु गर्न पैसा पुग्दो छैन।'

भावना आफूले काम गरेर कमाएको पैसा छोरीलाई पढाउन खर्च गर्छिन्। अनि बाँकी भएको सहकारी संस्थामा जम्मा गर्ने गरेको बताउछिन्।
व्यापार व्यवसायदेखि शैक्षिक क्षेत्रमा समेत दृष्टिविहीनहरुका लागि अवसर कम चुनौती ज्यादा भएको उनको गुनासो छ। निराश हुँदै भन्छिन्, 'काम त पाइँदैन पाइँदैन। आफूले चाहेको विषय समेत पढ्न नपाउँदको पीडा मलाई थाहा छ। मेजर इङ्ग्लिसको कोर्स अडियोमा नभएर बाध्यताले मेजर नेपाली पढेँ।'

गोंगबु बस्ने अपेक्षा गुरुङलाई पहिला बेरोजगार हुँदा आफू कोठामा थन्किएको अनुभव हुन्थ्यो। तर अहिले उनी काम गर्छिन्। दैनिकी फेरिएको उनको अनुभव छ। आफ्नो खर्चले घर चलाउन पाउनुको खुशी यसरी बाढ्छिन्, 'आफू अफिस आएर, काम गरेर घर चलाउन सक्ने भए भन्ने कुरा सम्झेरै खुशी हुन्छु। लाग्छ कम्तिमा म बेरोजगार त बसेको छैन।'

अपेक्षा काम गर्न थालेदेखि वरपर छरछिमेकले 'त्यो त अफिस जान्छे' भनेर कुरा गर्छन्। अपेक्षालाई यस्ता कुराले प्रोत्सहान गरे पनि कसैले आफ्नो तारिफ गर्दा भने लाज लाग्छ। सकेसम्म काम गरुँ तर कामको श्रेय अरुलाई नै दिन पाए हुन्थ्यो भन्ने लाग्छ उनलाई।

भावना, अपेक्षा, सुधा बस्नेत लगायतको टोलीले बनाएको कागजको ब्याग अस्ट्रिया र अस्ट्रेलियामा निर्यात हुन्छ। साथै महिनामा ६० हजार कागज पेन्सिल विदेशमा खपत हुने सुधा बस्नेतको दाबी छ।

संयोग के रह्यो भने, अपेक्षा र भावना दुवैका पति दृष्टिविहीन छन्। र दुवै सांगीतिक क्षेत्रमा सक्रिय। अपेक्षाका पति मित्रलाल अधिकारीले त म्युजिक एल्बम ‘अभिलाशा’ पनि निकाले तर फ्लप भएपछि दरबारमार्गस्थित दोहोरीमा गाउन थाले। भावनाका पति चाही पञ्चेबाजा दोहोरी कोटेश्वरमा बाँसुरी बजाउँछन्।

भावना र अपेक्षाका पति मात्र होइनन् काठमाडौंका विभिन्न ठाउँहरुमा समूह गीत गाएर बसेकाहरु धेरै देखिन्छन्। गीत गाउनु, बाजा बजाउनु र बाटोमा बसेर प्रस्तुती दिनु उनीहरुको दैनिकी बनेको छ। तर आजभोलि गीत गाउने समुह धेरै भएर कमाइ हुन छोडेको बताउँछन् दृष्टिबिहिन गायक विवश बिष्ट।
 
उनले त बाटोमा ‘मनमा माया साच्न मन छैन’ र ‘तस्विर हेर्द हेर्दै’ नामका दुई एल्बम सार्वजनिक पनि गरे। अनुभव सुनाउँछन्, 'जुन ताली जुन क्रेज देख्नेले गाउदा आउँछ त्यो हाम्रो लागि जति ठुलो स्टेजमा उक्लिए पनि आउँदैन।'

त्यसैले उनले बाटोमा गाउन थाले। उनको टोलीमा सात जना छन्। दिनभर सबैजना पालैपालो गाउँछन् र बेलुकी पैसा भाग लगाउँछन्। टिचिङ लाइसेन्स लिएर पनि काम नपाएका अर्का सडक गायक मिलन  नराम्रो मान्दै सुनाउँछन्, 'कहिले पानी पर्छ, कहिले घाम चर्किन्छ यसै पैसा कम हुन्छ। त्यसमाथि पैसा लुट्नेको बिगबिगी २०/२० रुपैयाँ बाढेर फर्केको अनुभव नि छ।'

दिनभर बाद्यवादन बजाएर गाउन गाह्रो भएपछि स्ट्रीङगर लिएर हिड्ने ट्रेन्ड बढ्यो। अहिले कोही एक्लै पनि स्टीङ्गर बोक्ने र गाउँदै माग्न बस्ने। यो चलनले गर्दा कमाइ कम हुन थालेको बताउँछन् यी गायक।

चुनौती धेरै छन् तर ती चुनौती स्वीकारेर अघि बढ्न चाहने यी दृष्टिविहीनलाई हतोत्साहित गर्छ हाम्रो सामाजिक संरचनाले। पहिलोपोस्टसँग कुरा गरेका सबै रोजगार नेत्रविहीन पात्रहरुको प्राय गुनासो एउटै- समाजले हामीलाई हेर्ने दृष्टिकोण फेरिएन। सार्वजनिक सवारी साधनले हामीलाई कहिले पनि रोक्दैन। लुट्ने ठग्नेहारुको पनि हामी नै तारो।  क्षमता पहिचान हुँदैन त्यसैले पढाई अनुसार रोजगार छैन।  सामाजिक विभेद र दुर्व्यवहार त कतिकति।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell