अहिलेको युवापुस्तामा विदेशिने मोह एकदमै बढेको छ। पढ्न होस् या कमाउन, प्लस टु सक्दा नसक्दै विदेश जाने सोचले उनीहरुको दिमाग रन्थनिन थाल्छ। अमेरिका, अस्ट्रेलिया वा कुनै युरोपियन देश। यी त रोज्जाका गन्तव्य भइहाले। फिल्म 'सफर'मा पनि यस्तै कथा हेर्न पाइन्छ-पढ्ने, कमाउने र विदेशी जीवन बाँच्ने। यस्तै सपना देख्ने धेरैको जीवनकथाको प्रतिनिधित्व गर्छ फिल्मले।
अमेरिका गएर पढेका गरेका तीन युवाको मित्रता र जीवनचर्या वरिपरि घुम्छ फिल्म। सुमन, गौरव र रोहित। बच्चैदेखि मिल्ने साथीहरु अमेरिकामा पनि सँगै हुन्छन्। सुमन आफ्नो पढाइ सकेपछि नेपाल फर्कने निधो गर्छन्। उनी फर्कनु एक साताअघि सुरु हुन्छ ड्यालसदेखि सान फ्रान्सिस्कोसम्मको सफर, जुन समयलाई नै यी तीन साथीले जिन्दगीको रमाइलो क्षण बनाउन चाहन्छन्।
फिल्मका सबै दृश्यलाई अमेरिकामै खिचिएको छ। यसले पनि त्यहाँको परिवेश बुझाउन सघाउँछ। यहाँ सफरका केही सबल र कमजोर पक्षलाई देखाउन खोजिएको छ।
४ सबल पक्ष
१. फिल्मको कथा यथार्थपरक लाग्छ। नेपाली युवाले विदेशी जीवनलाई सपना बनाउनु। पढाइको विषय र रुचिलाई कसरी अगाडि बढाउने बारे सोच्नु। प्रेममा पर्नु र त्यहाँ पनि सपना, भविष्य जेडिएका कुरा बाधक बन्नु। नेपाली सामाजिक संरचनाले मित्रतालाई जस्तो रुप दिन सहयोग पुर्याउँछ, त्यसलाई पनि फिल्ममा चित्रण गरिएको छ।अमेरिकामा प्राय: सार्वजनिक स्थलमा गोली चल्ने घटना र त्यसले सामाजिक जीवनमा निम्त्याएको त्रास, क्षतिलाई पनि फिल्ममा स्थान दिइएको छ।
२. निर्देशकीय हिसाबमा आशिष श्रेष्ठको डेब्यु जस्तो लाग्दैन। उनले पात्र अनुसारको कथा र कथाअनुसार परिवेशलाई निर्देशन गरेका छन्। आफू फिल्मी ब्याकग्राउन्डको नहुनाले सामना गर्नुपरेको चुनौती र अप्ठेरा अघि उनी बलियो बनेर प्रस्तुत भएका छन्।
३. थोरै पात्र, धेरै कथा प्रस्तुति। फिल्मभर चार पात्र मुख्य रुपमा देखिन्छन्। तर सबैले आआफ्नो कथा बोकेका छन्। कसैको पारिवारिक सद्भाव र स्नेह नहुनु। बुबाले छोराको रुचि र योग्यताको कदर नगर्नु वा छोराले बुबाको सोचको कदर नगर्नु। अर्को पात्र जीवनलाई दर्शनसँग जोडेर नेपाल फर्कने सोचमा हुन्छ भने एउटी मुख्य पात्र पैसा, पावर, नाम, इमान सबै कमाउन मरिमेट्छिन्। तीनैमध्यको एक भने प्रेममा परेपछि बल्ल पढाइ, करिअर, जीवनबारे सोच्न थाल्छन्। यीबाहेक फिल्ममा अन्य पात्र निकै कम देखिन्छन्, जसले कथा बोक्दैनन् तर भएको कथालाई बुन्ने काम पक्कै गर्छन्।
४. अभिनयमा सबै कलाकारको प्रस्तुति उत्कृष्ट नलागे पनि सन्तुष्ट हुन सकिन्छ। डायलग डेलिभरी, संवादबीचको ह्युमर र साथीसाथी बीचको संवाद र भाषा प्रयोगले पात्र जीवन्त रुपमा आएका छन्।
४ कमजोर पक्ष
१. पात्र थोरै भएको सफरमा कथाहरु भने छरिएका छन्। हरेक पात्रले आफ्नो कथा त सुनाउँछन् तर फिल्ममा त्यही कथा देखाउन भने चुक्छन्। सीमित दुरीको सफरबीच हुने घटनाक्रम रमाइलो लागे पनि अमेरिकाका विभिन्न सहर र परिवेश आकर्षक दृश्यहरुले पात्र स्वयंलाई भने छायामा पार्छ। २. फिल्ममा एक पात्र छन्, रोहित। उनले प्रयोग गर्ने दार्शनिक संवाद धेरै हुनाले स्क्रिप्ट लेखकको सोच र आइडिया जबरजस्ती लाद्न खोजिएको भान हुन्छ। तिनै आदर्शवादलाई व्यवहारमा उतारेको कुनै दृश्य वा घटनाक्रममार्फत प्रस्तुत गरिएको भए सायद दर्शक झुक्किने थिएनन् कि?
सफरमा रहेको नोस्टाल्जिक कथा वर्तमानमा रहेर भनिन्छ तर देखाइँदैन।
३. एक पात्रको मृत्युपछि सिर्जना हुने अवस्थाले फिल्मको अन्त्य गर्छ। तर उतावचढाव, पश्चाताप आदिलाई फिल्ममा हतारहतार प्रस्तुत गरिन्छ। सिर्जित अवस्था र परिवर्तनलाई दृश्यमार्फत बताउने चेष्टा गरिन्न। फिल्मका अन्य प्लटहरुलाई अनावश्यक देखाएर तन्काइए पनि ह्यामरसियाको प्रस्तुति न्यारेटरले बोल्छ।
४. आजभोलि प्राय: फिल्मका गीतले पनि दर्शक तान्ने काम गरिरहेको छ। तर सफरमा चार वटा गीत भए पनि ती गीत मुखमा झुन्डिने खालका छैनन्।