PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वर्षा बाधक बन्दा पारसको टिम बाहिरियो, फाइनलमा ज्ञानेन्द्रको एक्स फ्याक्टर र शरदको तेज भिड्ने



गोविन्दराज नेपाल

वर्षा बाधक बन्दा पारसको टिम बाहिरियो, फाइनलमा ज्ञानेन्द्रको एक्स फ्याक्टर र शरदको तेज भिड्ने

काठमाडौं : लिग चरणमा दुई खेल वर्षाले बाधक बनेपछि पारस खड्काको टिम विशाल वारिसर्य वाइवाइ एभरेस्ट प्रिमियर लिग इपीएल टी २० क्रिकेटको फाइनल पुग्न असफल भएको छ।
 
शनिबार लिगको अन्तिम खेलमा वारियर्स ज्ञानेन्द्र मल्लको कलर्स एक्स फ्याक्टरसँग भिडेको थियो। दुवै टिमलाई फाइनल पुग्न निश्चित जितको आवश्यकता थियो। तर खेल सुरु भएको केही समयपछि नै पानी पर्न सुरु भयो। वर्षाका कारण खेल रोकियो। वर्षा रोकिए पनि मैदानमा पानी जमेपछि खेल नहुने निर्णय भयो र दुवै टीमले १/१ अंक बाँडे।
 
अंक बाँड्नुपरेपछि ५ खेलबाट ६ अंक भएको पारसको टिम लिगमा तेस्रो भयो। ६ टिम रहेको प्रतियोगिताको शीर्ष दुईमा रहने टीम मात्र फाइनल पुग्ने प्रावधान थियो। यता अंब बाँडेपछि ५ खेलबाट ७ अंक जोडेको एक्स फ्याक्टर दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्यो। एक्स फ्याक्टरले अब फाइनलमा शरद भेषावकरको पञ्चकन्या तेजसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि लिगको ५ वटै खेल जितेको शरदको टिम तेज १० अंक जोड्दै लिगको शीर्ष स्थानमा रहन सफल भयो।
 
सगरमाथा लेजेण्ड्सले भने इपिएलमा कुनै खेल जित्न सकेन। विनोद भण्डारीको कप्तानीमा रहेको लेजेण्ड्स अन्तिम खेलमा शक्ति गौचनको जगदम्बा राइनोजसँग ८ विकेटले पराजित भयो। शानदार जित निकाल्ने क्रममा १२८ रनको लक्ष्य राइनोजले १३ बल अगावै मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। राइनोजको जितमा ओपनर सुबेन्द्र पाण्डेले नटआउट ७८ रन बनाए भने कप्तान शक्ति गौचनले नटआउट ३५ रन बनाए। शक्ति र सुबेन्द्रले तेस्रो विकेटका लागि नटआउट हरँदै १११ रनको साझेदारी गरेका हुन्।
 
इपिएलमा यो दोस्रो शतकीय साझेदारी हो भने तेस्रो विकेटका लागि पनि दोस्रो शतकीय साझेदारी नै हो। यसअघि वारियर्सका पारस खड्का र सुरज कुर्मीले लेजेण्ड्स विरुद्ध नै तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए।
 
फाइनल खेल सोमबार कीर्तिपुरस्थि त्रिवि मैदानमा हुनेछ। फाइनल खेल हुनुअघि यम बुद्धको लाइभ प्रस्तुति रहने आयोजकले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell