काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलको विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ। प्रतियोगिता सुरु हुनु अघि पुरस्कारको घोषणा नगरेपनि फाइनल खेल अघि विजेताको पुरस्कार घोषणा भएको हो।
आयोजक जोहरा स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख आमिर अख्तरले विजेताले ५ लाख पाउने पहिलोपोस्टसँग बताए। यस्तै प्लेअर अफ दि सिरिजले एक थान मोटरबाइक पाउनेछन्।
इपीएलको उपाधिका लागि सोमबार हुने फाइनलमा शरद भेषवाकरको पञ्चकन्या तेज र ज्ञानेन्द्र मल्लको कलर्स एक्स फ्याक्टर बीच प्रतिस्पर्धा हुनेछ। यी दुईको विजेताले ५ लाख पाउनेछ।
६ फ्रान्चाइज टीम सहभागि रहेको प्रतियोगिताको शीष दुईमा रहँदै तेज र एक्स फ्याक्टर फाइनलमा पुगेको हो। राउण्ड रोवि लिगमा खेलाइएको प्रतियोगितामा तेजले सबै ५ खेल जित्दै १० अंक जोडेको थियो भने एक्स फ्याक्टरले ३ खेल जित र १ बराबरी गर्दै ७ अंक जोडेको थियो।