PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

फिल्म उद्योगमा सञ्चिता लुइटेलको प्रेरणादायी कमब्याक



स्वेच्छा राउत

फिल्म ‘राधा’को राधा खोज्दै थिए निर्देशक योगेश घिमिरे। दुई सन्तान हुर्काउनमा व्यस्त नायिका सञ्चिता लुइटेल चलचित्र क्षेत्रबाट केहि समय देखि बाहिर थिइन्। ६ वर्षदेखि पर्दामा नदेखिएकी उनलाई जब घिमिरेले देखे, अफर गरे - 'राधा बन्नुस्।'

‘दाइ म यस्ती मोटी छु कसरी फिल्म गरुँ?,’ अफरलगत्तै सञ्चिताले भनिन्। हिरोइन बन्न 'जेरो साइज' फेसन चलिरहँदा उनी अलि बढी नै सचेत देखिइन्।

‘गाउँमा हुर्केकी, घिउ भात खाएकी पात्र पनि स्लिम चाहिन्छ त?,' घिमिरेले पात्रको चरित्र खुलाउँदै भने। कमब्याक कथाको सुरुवात यहीबाट हुन्छ।

६ वर्षको अन्तरालपछि फिल्मी करिअरमा फर्किँदा सञ्चिताको तौल थियो ८६ किलोग्राम। फिल्मको गीत खिच्नेक्रममा उनको तस्बिर सार्वजनिक भयो। स्वभाविक रुपमा उनी मोटी देखिएकी थिइन्। जिरो फिगरको फेसनमा मोटो शरीरमाथि मिडियाको सधैं कड्के नजर परिहाल्यो। यस्तै भयो संचिता लुइटेललाई पनि। धेरैले यसमा खिसिट्युरी पनि गरे। उनको शरीरमाथिको टिप्पणीलाई उनलाई दुखायो।

'पात्र अनुसार मोटो पातलो बन्ने कलाकारको काम नै हो। चाहेजस्तो चरित्र निभाउनका लागि सुहाउँदो देखिनु पनि पर्छ,' उनले त्यतिखेरको अनुभवसँगै आफ्नो आत्मविश्वास सेयर गरिन्। उनलाई लाग्यो काम गर्न कला चाहिन्छ। ज्यान त कथाले मागेअनुसार बनाउने हो।
 
‘सधैँ एउटै देखिँदा त दर्शकलाई पनि मज्जा आउँदैन,' उनले भनिन्।

उनले मिडियामा पटक पटक दुई सन्तान भएर फिल्ममा फर्किने विषयलाई हलुका रुपमा उठाएको गुनासो गरिन्। मोटो शरीरमाथिका गसिपले पनि हैरान पार्‍यो उनलाई। पारिवारिक दायित्व र जिम्मेबारीले उनलाई खारेको छ अहिले।

‘विवाह गर्नु, आमा बन्नु, आमा बन्दा करियर डाइटिङ नभनी पोषणयुक्त खाना खानु, बच्चालाई आफ्नो स्तनपान गराउँनु, सबै सामाजिक अनि प्राकृतिक प्रकृया हुन्। यो सब भइरहँदा शरीरको बनावटमा परिवर्तन आउनु पनि साधारण हो। म यो सबैबाट टाढा बस्छु भन्दा परिवार समाज मात्र होईन आफैंलाई पनि स्वीकार्न गाह्रो हुन्छ,‘ उनले भनिन्।

रुप र सारको विषयमा सञ्चिताको कमब्याक अनुभवले उनलाई निख्खर बनाएको छ। ‘दर्शक वा मिडिया जजमेन्टल बन्नु राम्रो हो। तर फिल्म नहेरी वा काम नदेखी आवरणको मूल्यांकन गर्नुलाई सजिलै स्विकार्न सकिँदैन,‘ कन्फिडेन्ट देखिएकी उनले सुनाइन्।
 
उनलाई थाहा छ कलाकारले सकारात्मक वा नकारात्मक दुवै प्रतिक्रिया र आलोचना स्विकार्नै पर्छ। तर, अभिनय नै नहेरी कसैको शरीरलाई गफको विषय बनाउनुलाई निन्दा नै गर्छिन् उनी।

तर सञ्चिता अहिले मोटी छैनन्। आफूलाई फिट राख्न उनी कसरत गर्छिन्। ८६ किलोग्राम तौलबाट फिल्ममा कमब्याक थालेकी उनी फिल्म रिलिज हुनलाग्दा ५३ किलोमा झरिसकेकी छिन्।

दुई सन्तान हुर्किएर स्कूल जाने भएपछि मात्र कमब्याक गरेकोमा उनलाई पछुतो छैन। तर समाजको सोचले उनलाई घरीघरी झोक चलाउँछ। कसैकसैले त ‘छोराछोरी हुर्काएर पनि हिरोइन?’ भनेको सुनेकी छिन्।

भन्छिन्, 'सरकारले त सुत्केरी भएको ६० दिनपछि काममा फर्कन योग्य ठानेर काममा फर्काउँछ। म त कलाकार। त्यसमाथि ४ वर्षपछि फर्किँदा मेरो के दोष?'

छोरी भएर अभिनय गर्नु र आमा बनिसकेर अभिनयमा लाग्नुमा निकै फरक अनुभूति गरेकी छिन् उनले। ‘अहिले अभिनयसँगै मेरो काँधमा परिवार अनि छोराछोरीको जिम्मेवारी पनि छ,' उनले भनिन्।

रङ्गिन पर्दाको दुनियामा कम ब्याक हुँदा उनको प्राथमिता कुनमा बढी त?

भन्छिन्, ‘मेरो प्राथमिकतामा छोराछोरी अगाडि छन्, त्यसपछि अभिनय।‘

उनी छोराछोरीसँगै टेलिभिजन हेर्दा छोराछोरीले ‘उ मम्मी’ भनेको सुन्छिन्। फुरङ्ग पार्छ उनीहरुको भनाइ र प्रतिक्रियाले।

१२ वर्षमा खोला फर्किन्छ भन्छन्। तर सञ्चिता त्यसको आधा अर्थात् ६ वर्षमा फिल्मी करिअरमा फर्किन्। सुरुवातमा उनलाई फर्कन भइरहेको ढिलाईले अड्चन आउने आशंका समेत थियो। 

‘यतिपछि फर्किँदा अड्चन आउलान् भन्ने लागेको थियो,‘ सञ्चिता नलुकाइ भन्छिन्। तर आफ्ना आशंकाहरु दुर भइसकेका बताउँछिन् उनी। उनी भन्छिन् - प्रविधि फेरियो अरु सबै उस्तै। प्रस्तुतीमा पनि फरकपन आएको उनको ठम्याइ छ। भन्छिन्, ‘पहिले हिरोइन भन्ने बित्तिकै राम्री चिटिक्क परेकी, मेकअप गरेकी केटी बुझिन्थ्यो। अहिले हिरोइन शब्द होइन कथाको चरित्र सुहाउँदो केटी खोजिन थालिएको छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell