PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

टर्कीमा 'बेस्ट डक्टर अफ स्टेट' घोषित विनोद अनि फर्किए नेपाल?



स्वेच्छा राउत

काठमाडौं : सिरहाका विनोदकुमार साह निकै सानो थिए, जब उनकी आमा दुई दिदी दुई वर्ष पनि नपुगी भगवानको घर पुगेको सुनाउँथिन्।
 
विनोदलाई कथा सुनेजस्तो लाग्थ्यो। ठूलो हुँदै गएपछि मात्रै उनले बुझे- आफ्ना दुई दिदी भगवानको घर पुगेको कथाको 'रचनागर्भ'। एउटी दिदी हैजाको कारण र अर्की ज्वरो बिग्रिएर उनले गुमाएका रहेछन्। उनले आमाबाट पछि यही सुने।
 
भगवानको घरमा पुगेका दिदीहरु फर्किएर आए आफ्नै घर भगवानको घरभन्दा सुन्दर बन्ने थियो- विनोद यही सोच्थे। उनी बुझ्ने भइसकेकाले मन बुझाउँथे- अब कहिल्यै पनि आउनेछैनन्।
 
आफ्ना दिदीहरु मात्र नभएर गाउँ, टोल, बजार अनि समाचारमा उनले थुप्रै बालबालिका विभिन्न रोगका कारण मृत्यु भएको खबर सुन्थे। हुर्कंदै गएका विनोदको बाल्य मनले अठोट लियो- ठूलो हुन्छु र डाक्टर बन्छु। डाक्टर बनेर सबै बिरामीलाई ठिक बनाउँछु।
 
काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएससी सकाएपछि उनले शिक्षा मन्त्रालयबाट छात्रवृत्ति पाए। त्यो पनि मेडिकल पढ्नकै लागि।
 
उनको सपनाको पहिलो खुड्किलो बन्यो- टर्कीको अंकरा युनिभर्सिटी अफ मेडिसिन।
 
६ वर्षसम्म अंकरामै बसेर उनले एमबिबिएस कोर्स पूरा गरे। पढुन्जेल उनमा एउटै सोच अँकुराइरहेको थियो- डाक्टर बनेर नेपाल फर्कने र बिरामीहरुको सेवा गर्ने।
 
तर, उनले सोचेजस्तो भएन। 'एमबिबिएस कोर्सले मात्र नपुग्ने लाग्यो। औषधि नहुने र समयमा उपचार नपाउने जस्ता समस्या कम गर्न पढाइ मात्र पर्याप्त नहुने रहेछ,' पहिलोपोस्टसँगको कुराकानीमा विनोदले भने, 'त्यसैले टर्कीमै हाजितेप युनिभर्सिटीमा एमडीका लागि एप्लाई गरे।'
 
पढाइ सँगसँगै त्यहीँको हस्पिटलमा उनले काम सुरु गरे। अंकरा युनिभर्सिटी अफ मेडिसिन न्युनटल डिपार्टमेन्टबाट दुईवर्षे फेलोशिपपछि उनी बालरोग तथा नवजात शिशु विशेषज्ञ बने।
 
विनोदकुमार साहको अगाडि डाक्टर थपियो। उनी डा. विनोदकुमार साह भए।
 
मेहनतपूर्वक पढेका र त्यहीँबाट एमडी गरेका उनले छुट्टै पहिचान बनाइसकेका थिए। अंकरा न्यु बर्न डिपार्टमेन्टमा काम गर्दै गरेका उनलाई सन् २०११ मा अस्पतालको तर्फबाट 'बेस्ट डक्टर'को उपाधि हात पर्‍यो। सन् २०१४ मा त 'बेस्ट डक्टर अफ स्टेट' नै घोषित भए।
 
उनी भन्छन्, 'पुरस्कारले ऊर्जा थप्यो र झन् मेहनत गरेर काम गर्न मन लाग्यो।'
 
टर्कीमा हरेक वर्ष ५० जना डाक्टरबाट एक जना उत्कृष्ट चुनिने र पुरस्कृत गर्ने चलन छ। टर्कीको स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने सो अवार्ड राष्ट्रपतिको हातबाट दिइन्छ। त्यही पुरस्कार उनले २०१५ का लागि पाए। त्यो पनि उत्कृष्ट साबित भएर।
 
'लाग्यो, अब त नेपालका लागि पनि केही गरेर उत्कृष्ट साबित हुन सक्छु,' पुरस्कार लिँदाको क्षण सम्झँदै विनोदले भने।
 
नेपालमै केही राम्रो काम गर्छु भनेर विनोदले अठोट गरे पनि पढाइ र अन्य कामले उनलाई तत्काल नेपाल आउन दिएन।
 
                                                               ***
एउटा सपना बोकेर टर्की पुगेका विनोद ठूलो जिम्मेवारी र कर्तव्यबोधका साथ गतहप्ता मात्रै नेपाल फर्किएका छन्। उतै छँदा बनेको योजना उनमा छँदैछ- बढ्दो शिशु मृत्युदर घटाउन सक्दो योगदान पुर्‍याउने।
 
'नेपालमा गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे बुझ्दा म त छक्क परेँ,' उहाँको अवस्थाबारे उनी सुरुमा त आत्तिएछन्।
 
टर्कीमा रहँदा नै यहाँको बालरोग र स्वास्थ्य स्थितिबारे विनोदले अध्ययन गरेका थिए। विकसित राष्ट्रहरुमा भन्दा आफ्नो देशमा नवजात शिशुको मृत्युदर १० गुणा बढी भएको तथ्यले उनलाई दुखाएको थियो। त्यसैले उनी बालरोग नियन्त्रण र शिशु मृत्युदर कम गर्न केही न केही गर्छु भन्ने अठोट र योजना बोकेर नेपाल आएका छन्।
 
'हस्पिटलहरु बढे, डाक्टर बढे, गाउँहरुमा पनि मेडिकल खुल्न थाल्यो,' उनले सरसर्ती यहाँको परिदृश्यबारे भने, 'मान्छेहरु सामान्य समस्याको पनि अस्पतालमै उपचार खोज्न थाले। सुत्केरी र शिशुमा किन रोग बढेको देखिन थाल्यो।'
 
उनले देखेको नेपाली समाजमा अझै पनि महिलाहरुले नौ महिना पुगुन्जेल घरधन्दा र भारी बोक्ने काम गर्छन्। अझै सात महिनामै कतिपय सुत्केरी बन्न पुग्छन्। सुत्केरी गराउन हस्पिटलको महत्व नदेख्ने समाज हाम्रै देशमा छ।
 
कुनै अध्ययन नगरी यसको कारण पत्ता लगाउन गाह्रो छ। 'अध्ययन गरेर यो समस्यालाई निर्मुल पार्ने प्रक्रिया झन् गाह्रो,' तर उनले हार मानेका छैनन्, 'त्यसैले आफ्नो स्तरबाट के सक्छु त्यति गर्ने मेरो प्रयास हुनेछ।'
 
विनोदलाई लाग्छ, सरकारी तहमा समस्या छ जसले दुर्गम ठाउँहरुमा अझै सहज उपचार सेवा पुग्न सकेको सकेको छैन। आर्थिक रुपमा विपन्नहरु धेरै छन्, जसले सुत्केरी हुँदा ज्वानोको झोल र दुई टुक्रा मासुलाई नै पर्याप्त पौष्टिक आहार मानेर बस्छन्।
 
'जब ओखती-उपचारमा सहज पहुँच भएकाहरु पनि गर्भावस्थामा बिरामी पर्छन्, भर्खर जन्मिएको शिशुलाई जन्डिस हुन्छ, निमोनियाको बहानामा दुई महिने बालक मर्छ,' चेतना अभावकै कारण यस्ता समस्या निम्तिएको विनोद बताउँछन्।
 
सरकार वा पैसाले मात्र समस्या समाधान हुन सक्दैन। सबभन्दो ठूलो कुरा चेतना विस्तार नै हो। उनलाई यही लाग्छ।
 
'कुनै बच्चालाई उसको गुरुले 'क'बाट कमल सिकाएको छ भने उसले 'क'बाट कमल नै हो भन्छ,' उनी उदाहरण दिन्छन्, 'दोस्रो व्यक्तिले 'क'बाट कलम हुन्छ भने पनि ऊ त्यो मान्न तयार हुँदैन। किनकि सिक्ने सिकाउने विषयमा उसलाई आफ्नो गुरुको जति विश्वास अरुको हुँदैन।'
 
स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम डाक्टर स्वयंले सञ्चालन वा प्रवाह गरे बढी उपलब्धिमूलक हुने ठान्छन् उनी। आम जनताले व्यवहारमा उतार्ने खालको यस्तो कार्यक्रम के होला? उनी यसैमा घोत्लिइरहेका छन् अहिले।
 
'यहाँ जनचेतनाको अभावकै कारण आमा बिरामी पर्छे। भर्खर जन्मिएका बच्चाहरु पनि त्यसैको सिकार बन्छन्,' उनले समस्याको जरो कोट्याए, 'यहाँ चेतना त बाँडिन्छ तर कसले कति व्यवहारमा उतारेको छ भनेर लेखाजोखा हुँदैन। समस्याको अध्ययन हुन्छ तर हल गर्ने उपायको खोजी हुँदैन।'
 
नेपाली समाजमा चलनै छ- बच्चा जन्मिएको २४ घन्टा नबित्दै ठाउँठाउँबाट मान्छे हेर्न आउँछन्। गाला चिमोट्दै 'आहा कति राम्रो बच्चा' भनेर औपचारिकता निभाउन थाल्छन्। विनोद भन्छन्, 'बच्चासँग किटाणु र रोगहरुसँग लड्न सक्ने क्षमता कम हुन्छ भन्नेतिर कसैको ध्यानै जाँदैन। जहिले जस्तो अवस्थामा पनि तेल लगाइन्छ, गाजल लगाउन सिन्काको प्रयोग गरिन्छ। साना कुरामा पनि ख्याल राखिँदैन।'
 
यस्तै सामान्य कुराले नै बच्चा बिरामी हुनुको कारण भएको बताउँछन् उनी। सक्नेले अस्पताल लान्छन्, नसक्नेले घरमै ठिक बनाउने कोसिस गर्छन्। 'आमाको दूध नआए उसैमा समस्या खोजिन्छ, सुत्केरीले झेल्नुपरेको शारिरिक, मानसिक तनाव र दबाबतिर कसैको ध्यान जाँदैन,' उनी समस्या दर्शाउँछन्।
 
यी सबै समस्या बुझिसकेका डा. विनोद चेतना भएकाहरुले पनि बेवास्ता गरेको देख्दा भने छक्क पर्छन्। 'चेतना छ, स्वास्थ्य सेवा छैन भन्छन्। खै कता छ चेतना?' उनी प्रश्न गर्छन्, 'रोग लागेपछि यो भएन त्यो भएन भन्नुभन्दा रोग लाग्नै नदिन सकिन्न र?'
 
नेपाल फर्किएर आउनेबित्तिकै आमा र नवजात शिशुको स्वास्थ्य समस्याबारे थप अध्ययन थालेका विनोदले अभियान नै सुरु गरिसकेका छन्। हस्पिटलमा मात्र नभई घर फर्किएपछि पनि सुत्केरी आमा र बच्चाका लागि ध्यान दिनुपर्ने कुराको जानकारी गराउन उनी खटिइरहेका छन्।
 
गाइनोकोलोजिस्टदेखि नर्ससम्मको टिम बनाएर उनले उपचार र चेतना फैलाउने अभियानको नाम हो- निओ नेटल केयर युनिट, जुन राजधानीकै ग्राण्डी इन्टरनेशनल हस्पिटलमा चलिरहेको छ।
 
हस्पिटलमा आएका सम्पन्नदेखि जेनेरल वार्डका महिला र उनको परिवारमा गर्भवती अवस्थामा राख्नुपर्ने ख्याल, प्री डेलिभरी रोक्न सकिने उपाय, नर्मल डेलिभरीमा राख्नुपर्ने निओ नेटल कियर, स्तनपान गराउने तरिका, आमा र बच्चाको खाना आदिबारे उनी जानकारी गराउँछन्।
 
'घर पुगेकालाई पनि हामी फोनबाट फलोअप गर्छौं,' उनी भन्छन्, 'सकेसम्म सानो बच्चा बोकेर कोही पनि अस्पताल धाउन नपरोस् भन्ने लाग्छ।'
 
सस्तो उपचार खोज्नाले गर्भवती आमासँगै नवजात शिशुले ज्यान गुमाउनुपरेको खबर उनलाई सबैभन्दा बिझ्ने समाचार हो।
 
'आफैंले टाढा राख्न सकिने रोगहरुको कारण कसैले पनि ज्यान गुमाउन नपरोस्,' डा. विनोद सुझाउँछन्, 'नवजात शिशुले त संसार देख्न र बुझ्न बाँकी हुन्छ, हाम्रो कमजोरीका कारण किन उसलाई संसार हेर्नबाट रोक्ने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell