PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मलका 'माल'को सडकमै व्यापार, दशैंको रौनकमा ढपक्कै राजधानी

मलका 'माल'को सडकमै व्यापार, दशैंको रौनकमा ढपक्कै राजधानी

स्वेच्छा राउत/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं लगनकी सुनिता मगर घरमा फेरफार गर्नका लागि चाहिने लुगाहरु हनुमानढोकाको खुला बजारमा किन्छिन्। सधैंजसो बिहान ५ बजे देखि ९ बजेसम्म सामानहरुको बजार लाग्ने हनुमानढोकाको गल्लीमा ग्राहकहरुको भिड हुन्छ। दशैंका कारण गल्लीमा पसल पनि बढेको छ र ग्राहक पनि।
 
सुनिता भन्छिन्, 'नजिकै मलहरुमा बेच्ने सामान नै हो। स्टक यता ल्याएर बेच्दैमा सामान नराम्रो हुन्छ जस्तो लाग्दैन।'  पसल र बाटोमा बेच्न राखिएका एउटै सामानको मुल्यमामा भने सुनिता मगरले खासै फरक महसुस गरेकी छैनन्। तर जेन्ट्स तथा लेडिज लुगा व्यापारी यमनेन्द्र शाह निकै सहुलियतमा सामान बेच्ने गरेको दाबी गर्छन्। भन्छन्, 'फाइदा घाटाको भन्दा पनि हाम्रो स्टक बचेको सामान सक्काउने मेसो बढी हुन्छ। पसलमा बेच्ने गरेको जति दाम भए त किन मान्छे बाटोमा किन्न आउँथे र?'
 
शाहसँगै जुत्ता बेच्न बसेका शिवप्रसाद कोइरालाले पनि निकै कम फाइदा राखेर जुत्ताहरुको दाम तोकिदिएका छन्। उनी केही आक्रोशित हुन्छन्, 'सस्तो खोज्दै हामीकहाँ आउनेले पनि बार्गेनिङ सुरु गर्छन्। हामीले त थोरै फाइदाको मार्जिन राखेका हुन्छौं कसरी उनीहरुले चाहेको दाममा दिनसक्नु?'

लुगा, जुत्तासँगै तन्ना, खेलाउना, भाडा आदि बिक्री हुने यो ठाउँमा बिहान ९ बजेपछि भने सामान बेच्न पाइँदैन। ९ देखि ९:३० सम्ममा सबै सामान उठाए पनि फुटपाथमा राखिने सामान, कार्यालय टाइमको सवारी चाप र मान्छेको भिडका कारण दिनहुँ ट्राफिक जामको समस्या सिर्जना हुन्छ।

व्यापारी धनलक्ष्मी महर्जन भन्छिन्, 'जाम हुन्छ भनेर के गर्नु? दशैंको मौका छ। पसल राखे दुई पैसा बढी आम्दानी हुन्छ। किन नराख्नु?' उनी ९ बजेसम्म आफ्नै पसलको सटर अगाडि रोडमा स्टकका सामान राख्छिन् र १० बजेबाट पसल खोलेर व्यापार गर्छिन्।

देशी तथा विदेशी पर्यटक धेरै आउने यहाँका फुटपाथमा राखिने बिहानको बजारलाई बसन्तपुरको क्लबले नियन्त्रण गर्छ। क्लबकै नियम अनुसार बिहान ९ बजेपछि सामान बेच्न अनुमति छैन। दिनभर सवारी र पर्यटकको चाप रहने हनुमानढोकाको बाटोमा साँझ परेपछि पुन: फुटपाथ बजार सुरु हुन्छ।

महानगरपालिकाका  कर्मचारी चन्द्र श्रेष्ठका अनुसार बाटोको बजार भने बसन्तपुरको क्लबले हेर्ने गरेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell